बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
प्रतिनिधि सभा निर्वाचन

धनुषा–१ मा युवा उत्साहित, पुराना मतदातालाई छैन चासो

मङ्गलबार, २० माघ २०८२, १६ : ५१
मङ्गलबार, २० माघ २०८२

सारांश

  • धनुषा क्षेत्र नम्बर १ मा आसन्न निर्वाचनप्रति युवा उत्साहित भए पनि पुराना मतदातामा निराशा छ।
  • मतदाताहरू नेताहरूको कार्यशैलीका कारण निर्वाचनप्रति चासो राख्न छाडेको बताउँछन्।
  • कतिपय मतदाताहरूले उम्मेदवारहरूले चुनाव जितेपछि वास्ता नगरेको गुनासो गरेका छन्।

जनकपुरधाम । प्रतिनिधि सभाको आसन्न निर्वाचनलाई लिएर धनुषा क्षेत्र नम्बर १ मा युवा वर्ग जति उत्साहित छन्, पुराना मतदातामा उत्तिकै निराशा देखिन्छ ।

उम्मेदवारी मनोनयन दर्ता सकेर उम्मेदवारहरू टोलटोलमा पुगेर मतदातासँग भेटघाट गरिहँदासमेत कतिपय मतदातालाई चुनाव आउन लागेजस्तो अनुभूतिसमेत हुन सकेको छैन । उनीहरू नेताहरूकै कार्यशैलीका कारण राजनीतिप्रति चासो राख्न छाडेको बताउँछन् ।

विगतमा चुनाव जितेर गएकाहरूले पूर्वाधार विकास तथा जनताका आधारभूत समस्या समाधान गर्न नसकेको भन्दै धनुषा क्षेत्र नम्बर १ का आम मतदातामा निर्वाचनप्रति खासै उत्साह नदेखिएको हो । यद्यपि, युवा वर्गचाहिँ परिवर्तनको लहर ल्याउने भन्दै चुनावप्रति उत्साहित देखिएका छन् ।

धनुषाधाम नगरपालिका–१ की सीतादेवीले आफूलाई आफ्नो निर्वाचन क्षेत्रमा को–को उम्मेदवार छन् भन्ने पनि थाहा नभएको बताइन् । ‘चुनाव हुँदैछ भन्ने कुरा गाउँमा सुनिन्छ, तर कहिले हुन्छ, उम्मेदवार को हुन् भन्ने थाहा छैन,’ उनले भनिन्, ‘चुनाव भए पनि हामीलाई के हुने हो र ? चुनाव जितेर जानेहरू ठुला मान्छे बन्छन्, हामीलाई उनीहरूले चिन्ने होइनन्, न त गाउँको समस्या नै समाधान हुने हो ।’

गाउँमा मेहनत मजदुरी गरेर खाने वर्गका लागि सुविधा नभएको गुनासो गर्दै उनले चुनाव वा राजनीतिक दल भनेर पछि लाग्नु बेकार रहेको बताइन् । ‘काम गरेर खाने मान्छेलाई चुनावले के गर्ने हो र ?’ उनले भनिन्, ‘कैयौँ पटक भोट हालियो तर हुने केही होइन रहेछ ।’

WhatsApp Image 2026-02-03 at 12.51.45

सतोखर मन्दिर नजिक वर्षौंदेखि चिया पसल सञ्चालन गर्दै आएकी गिरिजा देवी पनि चुनावका बेलामा नेताहरूले विभिन्न प्रतिबद्धता जनाउने गरेको तर चुनावपछि भने बेवास्ता गर्ने गरेको अनुभव सुनाउँछिन् । उनले भनिन्, ‘पोखरीको घाट र मन्दिरलाई व्यवस्थित बनाउने बाचा गरेका थिए, तर अहिलेसम्म केही भएन । यो व्यवस्थित भए यहाँ पर्यटनको राम्रो सम्भावना छ । अहिले कुनै पनि उम्मेदवार विश्वासयोग्य लाग्दैन ।’

उनका अनुसार यो निर्वाचनका लागि अहिलेसम्म कुनै पनि उम्मेदवार भोट माग्न आएका छैनन् । ‘यहीँ चिया पसलमा गाउँलेहरू आउँछन्, गफगाफ गर्छन्, तर खुला रूपमा कसैले पनि मत मागेका छैनन्,’ उनले भनिन्, ‘चुनावको एक हप्ता बाँकी रहँदा सबै मिलेर छलफल गर्छौं, जसले विकास गर्छ, उसैलाई मत दिन्छौँ ।’

धनुषाधामकी शान्तिदेवी महराले स्वास्थ्य र सुरक्षाको समस्याबारे गुनासो पोखिन् । उनले भनिन्, ‘स्वास्थ्य चौकी जाँदा औषधि दिँदैनन्, बाहिरबाट किन्न भन्छन् । गाउँमा सुरक्षाको अनुभूति पनि छैन । खेतबारी जाँदा डर लागिरहन्छ । दलितका लागि ठुलाठुला कुरा सुनिन्छ, तर व्यवहारमा केही पाएकै छैनौँ ।’

चुनावबारे सोध्दा उनले आफूलाई कुनै जानकारी नभएको बताइन् । अहिलेसम्म कुनै पनि उम्मेदवार मत माग्न नआएको उनको भनाइ छ ।

धनुषाको सो क्षेत्रमा शान्तिदेवी मात्र होइन, सतोखर, भठियन गाउँका बुढापाका र विपन्न वर्गका स्थानीयहरूमा पनि निर्वाचनप्रति खासै चासो देखिँदैन । यद्यपि युवावर्ग भने सक्रिय देखिएका छन् ।

सबैला निवासी जीवछ यादवले चुनाव फागुन २१ गते हुँदैछ भन्ने थाहा भए पनि उम्मेदवार को–को हुन् भन्ने खासै जानकारी नभएको बताए । ‘पुरानै उम्मेदवारहरू यसपटक पनि प्रतिस्पर्धामा छन् भन्ने सुनिन्छ,’ उनले प्रश्न गरे, ‘उनीहरूले अहिलेसम्म के नै गरे र ?’

भटियनका जुवेर अन्सारी विभिन्न निर्वाचनमा मत दिँदादिँदै कपाल–दाह्री फुलिसके पनि नेताहरूले देशमा राजनीतिक स्थायित्व र विकासमा सन्तोषजनक काम गर्न नसकेको बताए । उनले प्रश्न गरे, ‘बाटो छ, नाला छैन । वर्षामा भेल आँगनमै पस्छ । यो कस्तो विकास हो ? खेतीका लागि सिँचाइको व्यवस्था छैन । कसरी खेती गर्ने ?

अन्सारीले चुनावको बेला ठुलाठुला कुरा गरेर मतदातालाई रिझाउने बाहेक नेताहरूबाट अरु केही अपेक्षा गर्न नसकिने बताए । ‘देश परिवर्तनतर्फ गइसकेको छ । अब हामीले पनि युवापुस्ता र नयाँ पुस्तालाई सहयोग गर्नुपर्छ,’ उनले भने ।

मिथिलेश्वरका गोविन्द मण्डलले आफूहरू अब नेताहरू वा दलहरूको पछाडि नलाग्ने बताए । ‘हामी धेरै पटक नेताहरूबाट ठगियौँ । सुशासन र शान्तिको अनुभूति खोइ ? सरकारी कार्यालयमा जाँदा पनि घुसबिना काम हुँदैन । यिनीहरूले जनतालाई राहत हुने कुनै पनि काम गरेनन्,’ उनले भने ।

पार्टीभन्दा माथि उठेर सचेत नागरिकको भूमिका निर्वाह गर्ने निर्णयमा आफूहरू पुगेको जनाउँदै मण्डलले जनताको मर्म बुझ्ने व्यक्ति हेरेर मत दिने प्रस्ट पारे ।

कतिपय किसान सरकारी अनुदान पाउन नसकेको गुनासो गर्छन् । सरकारले किसानलाई अनुदान दिने गरेको सुनिए पनि वास्तविक किसानसम्म यस्तो सुविधा नपुगेको गुनासो गर्दै उनीहरू पहुँचवालाले मात्र अनुदान लिने गरेको बताउँछन् ।

धनुषा–१ मा नेपाली कांग्रेसका राम पल्टन साह उम्मेदवार छन् । उनीबाहेक अधिकांश दलका उम्मेदवार पुरानै अनुहार हुन् । नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका मातृका यादव २०७४ र २०७९ को निर्वाचनमा पनि उम्मेदवार थिए । २०७४ मा निर्वाचित भएका उनी वनमन्त्रीसमेत भएका थिए । जनता समाजवादी पार्टी नेपालका दीपक कार्की पनि दुवै निर्वाचनमा सहभागी भएका थिए, जसमा २०७९ मा उनी विजयी भएका थिए ।

WhatsApp Image 2026-02-03 at 12.51.46 (1)

एमालेका रामचन्द्र मण्डल पहिलो र दोस्रो संविधान सभा निर्वाचनमा तत्कालीन माओवादी केन्द्रबाट उम्मेदवार बने पनि पराजित भएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह २०७४ मा प्रदेश सभा सदस्यमा एमालेबाट उम्मेदवार भएर निर्वाचित भएका थिए । प्रतिनिधि सभामा उनी पहिलोपटक प्रतिस्पर्धामा छन् ।

कांग्रेसको गढ मानिने यस क्षेत्रमा कांग्रेस नेता आनन्दप्रसाद ढुङ्गानाले २०४८ देखि २०७९ सम्म विभिन्न चार निर्वाचनमा भाग लिएका थिए । तीमध्ये २०४८, २०५१ र २०५६ मा उनी विजयी भएका थिए भने २०७९ मा पराजित भएका थिए । यसपटक भने उनी समानुपातिक उम्मेदवार छन् ।

धनुषा क्षेत्र नम्बर १ अन्तर्गत सात स्थानीय तहका कुल ४५ वडा पर्दछन् । यसमा गणेशमान चारनाथ नगरपालिका, धनुषाधाम नगरपालिका, हंसपुर नगरपालिकाका केही वडा, मिथिला बिहारी, क्षिरेश्वरनाथ नगरपालिका तथा मिथिला नगरपालिकाका वडा समावेश छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नवीन प्रियदर्शी
नवीन प्रियदर्शी
लेखकबाट थप