बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

दीपेन्द्र र आरिफ चम्किँदा विश्वकप वार्मअप खेलमा युएईमाथि नेपालको सानदार जित

बुधबार, २१ माघ २०८२, ०९ : २३
बुधबार, २१ माघ २०८२

सारांश

  • चेन्नईमा भएको अभ्यास खेलमा नेपालले युएईलाई ७ विकेटले पराजित गर्यो।
  • दीपेन्द्रसिंह ऐरी र आरिफ शेखको अविजित अर्धशतकको मद्दतले नेपालले सहज जित हासिल गर्यो।
  • युएईले दिएको १४६ रनको लक्ष्य नेपालले ३ विकेट गुमाएर ३ ओभर अगावै पूरा गर्यो।

चेन्नई । सन् २०२६ को टी–२० विश्वकपअघि भारतको चेन्नईमा भएको पहिलो अभ्यास खेलमा नेपालले युएईलाई ७ विकेटले हराएको छ । दीपेन्द्रसिंह ऐरी र आरिफ शेखको अविजित अर्धशतकको मद्दतले नेपालले सहज जित निकाल्यो ।

युएईले दिएको १४६ रनको सामान्य लक्ष्य नेपालले ३ ओभर बाँकी छँदै ३ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा दीपेन्द्र र आरिफबिचको १०३ रनको अविजित साझेदारी निर्णायक बन्यो ।

जवाफी ब्याटिङमा नेपालको सुरुवात भने सुखद रहेन । दोस्रो ओभरमै ओपनर कुशल भुर्तेल क्याच आउट भए भने चौथो ओभरमा आसिफ शेख रनआउट हुन पुगे । 

कप्तान रोहित पौडेल पनि १९ बलमा १६ रन बनाएर सातौं ओभरमा रनआउट भएपछि नेपाल केही दबाबमा देखिएको थियो । तर, त्यसपछि क्रिजमा जमेका दीपेन्द्र र आरिफले युएईलाई खेलमा फर्कने कुनै मौका दिएनन् ।

यी दुईले ८ औँ ओभरदेखि १७ औँ ओभरसम्म निरन्तर रन गति बढाए । १६ औं ओभरको अन्तिम बलमा दीपेन्द्रले छक्का प्रहार गरे । लगत्तै अर्को ओभरमा आरिफले मोहम्मद अरफानको बलमा छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गरे । दीपेन्द्रले पनि सोही ओभरमा आफ्नो अर्धशतक पूरा गरे भने आरिफले अन्तिम बलमा चौका प्रहार गर्दै टोलीलाई जित दिलाए ।

यसअघि टस जितेर बलिङ रोजेको नेपालले युएईलाई सुरुवातदेखि नै दबाबमा राखेको थियो । तीव्र गतिका बलर करण केसीले पहिलो ओभरमै युएईका कप्तान मोहम्मद वसिमलाई बोल्ड गरे । पावरप्लेमा युएईले सम्हालिएर ब्याटिङ गरे पनि लगत्तै आएका सन्दीप लामिछानेले आर्यनश शर्मालाई आउट गराए ।

नेपालले १२ औँ ओभरको मध्यसम्ममा युएईका महत्त्वपूर्ण विकेट लिएर खेल नियन्त्रणमा राखेको थियो । दीपेन्द्र र सन्दीपले थप एक–एक विकेट लिए भने उत्कृष्ट फिल्डिङका कारण युएईका ब्याटर रनआउट भए । 

यद्यपि, हर्षित कौशिक र सोहिब खानले छैटौँ विकेटका लागि ६८ रनको साझेदारी गर्दै टोलीको स्कोर १५० को नजिक पुर्‍याएका थिए । तर, त्यो स्कोर नेपालको जित रोक्न पर्याप्त भएन ।
 

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप