बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

साफ महिला च्याम्पियनसिप : नेपाल बङ्गलादेशसँग भिड्दै

बुधबार, २१ माघ २०८२, १२ : १४
बुधबार, २१ माघ २०८२

कास्की । पोखरामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज घरेलु टोली नेपालले दिउँसो ३ः ०० बजे बङ्गलादेशको सामना गर्दैछ । त्यसअघि अपरान्ह १२ः ०० बजे भारत र भुटान आमनेसामने हुनेछन् ।

पोखरा रङ्गशालास्थित अन्तर्राष्ट्रिय फुटबल रङ्गशालामा हुने लिगचरणको अन्तिम खेलमा नेपाल दवावमा हुनेछ । फाइनल प्रवेशको सम्भावना कायमै राख्नका लागि नेपाललाई जितको विकल्प छैन । बङ्गलादेश प्रतियोगिताको अङ्क तालिकामा ६ अङ्क सहित शीर्ष स्थानमा छ ।

बङ्गलादेशले आफ्नो दुई खेल जित्दै फाइनलको नजिक पुगेको छ । नेपाल र भारतले समान एक/एक खेल जितेर तीन अङ्क बनाएका छन् । भुटानले भने अहिलेसम्म एउटा पनि खेल जितेको छैन र अङ्क विहिन छ ।

भुटानले लिगचरणको अन्तिम खेलमा भारतको सामना गर्नेछ । भारतले भुटानलाई हराएको खण्डमा उसको फाइनल प्रवेशको सम्भावना बलियो हुनेछ । यदी भारत भुटानसँग पराजित भएको खण्डमा भने घरेलु टोली नेपाललाई बङ्गलादेशसँगको खेलमा बराबरी गरे मात्र समेत फाइनल पुग्ने पर्याप्त हुनेछ ।

नेपाल पहिलो खेलमा भारतसँग १–० गोलले पराजित हुँदा दोस्रो खेलमा भने भुटानलाई २–१ गोल अन्तरले हराएको थियो । बङ्गलादेशले भने पहिलो खेलमा भुटानलाई १२–० ले र भारतलाई २–० ले हराएको थियो ।

प्रतियोगिताको अङ्क तालिकामा शीर्ष दुईमा रहने टोलीका बीच फाइनल खेल यही माघ २४ गते सञ्चालन हुनेछ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप