सिन्धुली– १ : एमालेको एकलौटी वर्चस्व तोड्ने कसरतमा कांग्रेस र नयाँ दल
सारांश
- सिन्धुली क्षेत्र नम्बर १ मा एमालेले विरासत कायम राख्ने प्रयास गरिरहेको छ।
- २०७९ को निर्वाचनमा कांग्रेसले एमालेको आधार इलाका तोडेको थियो, तर यसपटक नयाँ शक्ति र दलहरूको प्रतिस्पर्धा छ।
- स्थानीय तहको मत परिणाम र नयाँ मतदाताको मनोविज्ञानले आगामी निर्वाचनको नतिजा निर्धारण गर्ने देखिन्छ।
काठमाडौँ । नेकपा एमालेले ‘आधार इलाका’ बनाएको सिन्धुली क्षेत्र नम्बर १ मा यतिबेला चुनावीचहल बढ्दै जान थालेको छ ।
२०४८ सालदेखि ०७४ सम्मका संसदीय निर्वाचनमा यहाँ उसको एकलौटी वर्चस्व देखिन्छ । तर फागुन २१ गते हुन लागेको निर्वाचनले विगतभन्दा भिन्न परिणाम निकाल्न सक्छ ।
सिन्धुली–१ मा २५ वर्षदेखि एकछत्र उदाएको एमाले अहिले विरासत कायमै राख्ने दाउमा हुँदा नयाँ शक्तिको उदयले थप रोचक प्रतिस्पर्धा बन्ने निश्चितजस्तै छ ।
यो क्षेत्र महाभारत पर्वत शृङ्खलादेखि भित्री मधेसको समथर भू–भागसम्म फैलिएको छ । सिन्धुली–१ मा ९ स्थानीय तहमध्ये तीन गाउँपालिका र दुई नगरपालिका पर्छन् । गोलन्जोर गाउँपालिका, फिक्कल गाउँपालिका, तीनपाटन गाउँपालिका, दुधौली नगरपालिका र कमलामाई नगरपालिकाका ९, १३ र १४ वडाहरू यसै निर्वाचन क्षेत्रमा छन् ।
२०७९ को निर्वाचनमा भने एमालेको आधार इलाकालाई तोड्दै यहाँ नेपाली कांग्रेसले आफ्नो उपस्थिति जनाएको थियो । २०७४ सालको निर्वाचनमा एमालेका गणेशकुमार पहाडी ३२ हजार ५२९ मतका साथ यहाँबाट विजयी भएका थिए, त्यतिबेला कांग्रेसका प्रेमचन्द्र दाहालले २२ हजार ३८९ मत ल्याएका थिए ।
२०७० र २०६४ सालका दुवै संविधान सभा निर्वाचनमा यहाँ एमालेले नै बाजी मारेको थियो । २०७० मा उनै पहाडी र २०६४ मा विषमलाल अधिकारीले माओवादी र कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै एमालेले विरासत कायम राखेका थिए । त्यस्तै २०५६ सालमा गंगाप्रसाद नेपाल र २०४८ सालमा मदन ढुंगेलले एमालेबाटै सिन्धुली–१ मा जित हासिल गरेका थिए ।
२५ वर्षे आधार किल्ला फर्काउन एमालेका कटुवाललाई दबाब
२०४८ सालपछि यहाँ २०५१ सालको मध्यावधि निर्वाचन र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा मात्र एमालेले पराजय भोगेको छ ।
२०४८ मा ढुंगेल, २०५६ मा नेपाल, २०६४ मा अधिकारी र २०७० तथा २०७४ मा गणेशकुमार पहाडीले यस क्षेत्रबाट चुनाव जिते । एमालेको २५ वर्षे विरासतलाई हराउँदै २०७९ मा भने कांग्रेसले यहाँ जित निकाल्यो । तर कांग्रेसको जितमा पाँचदलीय गठबन्धनको तागत थियो, जसले २८ वर्षपछि यस क्षेत्रमा पुनरागमन गराएको थियो ।
सिन्धुली–१ को चुनावी नतिजालाई स्थानीय तहको मत परिणामले धेरै हदसम्म प्रभाव पार्न सक्छ । स्थानीय तह निर्वाचन २०७९ को तथ्यांकअनुसार यस क्षेत्रमा मिश्रित नतिजा देखिन्छ ।
२०७४ को प्रदेशसभा निर्वाचनमा श्यामकुमार घिमिरे र प्रदिप कुमार कटुवाल क्षेत्र २(२) मा आमनेसामने भएका थिए, जहाँ कटुवालले घिमिरेलाई पराजित गरेका थिए । २०७९ मा घिमिरेले सोही हारको बदला लिँदै प्रतिनिधिसभाको यात्रा तय गरेका थिए । घिमिरे कांग्रेसका हुन् भने कटुवाल एमालेका ।
यो पटक एमालले पुरानै अनुहार कटुवाललाई प्रतिनिधिसभातर्फ उम्मेदवार बनाएको छ । बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री हुँदा उनले छोटो समय स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्न पाएका थिए ।
कांग्रेसका बराललाई विरासत जोगाउन चुनौती
कांग्रेसले यस पटक यहाँ उज्वल प्रसाद बराललाई अघि सारेको छ । बराल यसअघि सोही क्षेत्रमा दुई पटक पराजित नेता हुन्, कांग्रेस सिन्धुलीका पूर्वसभापति पनि । उनलाई सिन्धुली–१ मा कांग्रेसका लागि घिमिरेले सुरु गरेको जितको यात्रालाई जोगाइराख्ने चुनौती छ ।
नेकपाका डेकेन्द्र सुवेदी
यहाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट सिन्धुली–१ मा डेकेन्द्र सुवेदी पनि चुनावी मैदानमा छन् । सुवेदी एकीकृत समाजवादीनिकट हुन् । अधिवक्तासमेत रहेका सुवेदी सिन्धुली–१ बाट पहिलो पटक चुनावी प्रतिस्पर्धामा उत्रिँदै छन् ।
रास्वपा, स्वतन्त्र र अन्य दलका उम्मेदवार
२०७९ मा मेनुका ठकुरीले ल्याएको मत र अहिले देशभर चलेको नयाँ लहरले यहाँ रास्वपाले काट्ने मतले एमाले र कांग्रेस दुवैलाई घाटा हुन सक्छ । २०७९ मा ठकुरीले यहाँबाट २ हजार ६९२ मत ल्याएकी थिइन् । अब रास्वपाको देशव्यापी लहरमा उनको मतले पनि यहाँ अर्थ राख्छ । यसबाहेक राप्रपा, नेमकिपा र अन्य दलहरूको पनि यहाँ उपस्थिति छ, जसले मुख्य दलहरूको निर्णायक मत काट्ने सम्भावना रहन्छ ।
यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट राम नारायण अधिकारी, राष्ट्रिय परिवर्तन पार्टीबाट सन्तोष कुमार सुनुवार, नेकपा मार्क्सवादीबाट सुशील हमाल, उज्यालो नेपाल पार्टीबाट मोतीलाल तामाङ र स्वतन्त्र अमृत बहादुर विश्वकर्माले उम्मेदवारी दर्ता गराएका छन् ।
स्थानीय तहको अंकगणित
सिन्धुली–१ को चुनावी नतिजालाई स्थानीय तहको मत परिणामले धेरै हदसम्म प्रभाव पार्न सक्छ । स्थानीय तह निर्वाचन २०७९ को तथ्यांकअनुसार यस क्षेत्रमा मिश्रित नतिजा देखिन्छ । गोलन्जोर गाउँपालिकामा अध्यक्ष पदमा एमालेका शंकर राज बरालले ४ हजार ७४४ मत ल्याएर जितेका थिए । फिक्कल गाउँपालिकामा अध्यक्षमा एमालेकी पार्वती सुनुवारले ४ हजार ६२ मत ल्याएर जितेकी थिइन् ।
त्यस्तै तीनपाटन गाउँपालिकामा कांग्रेसका कर्ण बहादुर लामाले ९ हजार २३९ मत ल्याएर जितेका छन् । दुधौली नगरपालिकामा भने माओवादीका दिनेश अधिकारीले १५ हजार ८३८ मत ल्याएर जितेका छन् । यता कमलामाई नगरपालिकामा भने कांग्रेसका उपेन्द्रकुमार पोखरेल १४ हजार १८७ मत ल्याएर विजयी भएका थिए ।
सिन्धुली–१ मा १ लाख १० हजार ३९१ मतदाता छन् । समग्र जिल्लामा अहिले ७ हजार ३९ मतदाता थप भएका छन् । यसरी दुईवटै निर्वाचन क्षेत्रमा गरी जिल्लामा २ लाख १५ हजार १९ मतदाता छन् ।
समानुपातिक मतका आधारमा यहाँ एमाले पहिलो पार्टी हो । २०७९ को प्रतिनिधि सभामा एमालेले २२ हजार ३४९ मत ल्याउँदा कांग्रेसले १८ हजार २४२ र माओवादीले १२ हजार ३८१ मत पाएका थिए । यसरी दलहरू एक्लाएक्लै लड्दा एमालेको संगठित मत अरूभन्दा बढी देखिन्छ ।
अंकगणितमा एमाले नै बलियो
अंकगणितमा एमाले बलियो देखिए पनि चुनावी मैदानको रसायन बेग्लै छ । स्थानीय तहको नेतृत्व, दलहरूबिचको आन्तरिक कलह र नयाँ मतदाताको मनोविज्ञान नै यस निर्वाचनको निर्णायक हुने देखिन्छ ।
सिन्धुली–१ मा २०७९ सालको निर्वाचनमा कांग्रेसका उम्मेदवार घिमिरेले प्राप्त गरेको ३० हजार ३९१ मत र एमालेका कटुवालले प्राप्त गरेको २५ हजार ५४६ मतबिचको अन्तर ४ हजार ८४५ हो । तर समानुपातिकतर्फको मत परिणाम भने फरक छ ।
यहाँ कांग्रेस र माओवादीको संयुक्त समानुपातिक मत करिब ३० हजार ६२३ थियो, जुन प्रत्यक्षतर्फ कांग्रेस उम्मेदवारले पाएको मतसँग लगभग मेल खान्छ । समानुपातिकमा एमाले एक्लै सबैभन्दा ठुलो दल भए पनि कांग्रेस र माओवादी मिलेर एमालेको विरासत भत्किएको थियो ।
विशेषगरी एमालेको गढ मानिने क्षेत्रमा रास्वपाले मत बढाएमा एमालेलाई थप घाटा लाग्नेछ । कांग्रेसको ‘लिबरल मत’ काटिएमा कांग्रेसलाई धक्का लाग्न सक्छ । जिल्लाभर थपिएका ७ हजार बढी नयाँ मतदाताको मनोविज्ञानले पनि गणितीय फेरबदल ल्याउन सक्छ ।
स्थानीय तहको निर्वाचन परिणामले पनि यस क्षेत्रको गणितीय जटिलतालाई थप पुष्टि गर्छ । यो क्षेत्रका पाँच स्थानीय तहमध्ये माओवादी केन्द्रले दुधौली नगरपालिकामा १५ हजार ८३८ जस्तो भारी मतका साथ जितेको छ भने कांग्रेसले तीनपाटन र कमलामाईका वडाहरूमा आफ्नो पकड बलियो बनाएको छ ।
एमालेले गोलन्जोर र फिक्कल गाउँपालिकामा करिब ९ हजारको हाराहारीमा मत सुरक्षित गरेको थियो । यसरी भौगोलिक रूपमा हेर्दा एमाले पहाडी भेगमा बलियो देखिए पनि जनसंख्या धेरै भएको दुधौली र तीन पाटन क्षेत्रमा कांग्रेस–माओवादीको पकड देखिन्छ ।
तर आगामी निर्वाचनका सन्दर्भमा नयाँ शक्तिको उदयले यो अंकगणितलाई थप चुनौतीपूर्ण बनाइदिएको छ । २०७९ मा समानुपातिकतर्फ ४ हजार ७७ मत ल्याएको रास्वपाले यसपटक प्रत्यक्षमा कति मत काट्छ भन्नेले ठुला दलको नतिजामा असर पार्नेछ ।
विशेषगरी एमालेको गढ मानिने क्षेत्रमा रास्वपाले मत बढाएमा एमालेलाई थप घाटा लाग्नेछ । कांग्रेसको ‘लिबरल मत’ काटिएमा कांग्रेसलाई धक्का लाग्न सक्छ । जिल्लाभर थपिएका ७ हजार बढी नयाँ मतदाताको मनोविज्ञानले पनि गणितीय फेरबदल ल्याउन सक्छ ।
आगामी निर्वाचनमा सबै दल एक्लै चुनावी मैदानमा छन् । त्यसैले एमालेले आफ्नो समानुपातिक मतलाई प्रत्यक्षमा सुरक्षित राख्न सके एमाले पुनः जितको नजिक पुग्न सक्नेछ ।
सिन्धुली–१ को अंकगणितले कुनै एक दलको एकलौटी वर्चस्वभन्दा पनि शक्तिहरूको ध्रुवीकरणले नतिजा निर्धारण गर्ने देखाउँछ । एमालेसँग करिब २२ देखि २५ हजारको संगठित र क्याडर मत आधारभूत ठुलो शक्तिका रूपमा छ । कांग्रेस र माओवादी एमालेभन्दा कमजोर देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण