सगरमाथा क्षेत्रमा चुनावी गर्मी : चार राईको प्रतिस्पर्धामा बाजी मार्ने कार्कीको दाउ
सारांश
- सोलुखुम्बुमा आगामी निर्वाचनका लागि विभिन्न दलका १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
- कांग्रेसबाट प्रकाश सिंह कार्की, एमालेबाट कल्पना राई, र रास्वपाबाट ऋषिधन थुलुङ राई चुनावी मैदानमा उत्रिएका छन्।
- २०३१ सालको टिमुरबोटे काण्डपछि कांग्रेसको गढ मानिएको सोलुखुम्बुमा यसपटक प्रतिस्पर्धा रोचक हुने अनुमान छ।
काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको जिल्ला सोलुखुम्बुमा अत्यधिक चिसो छ । तर चुनावी सरगर्मी भने ह्वात्तै बढेको छ । प्रतिनिधिसभातर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुमा यसपटक १२ जना चुनावी प्रतिस्पर्धामा छन् । स्वतन्त्र उम्मेदवारको कुनै पनि उम्मेदवारी नपरेको निर्वाचन क्षेत्रमध्ये एक हो, सोलुखुम्बु ।
यसपटक यस जिल्लामा नेपाली कांग्रेसबाट प्रकाश सिंह कार्की, नेकपा एमालेबाट कल्पना राई, नेपाली कम्युनिस्ट पार्टीबाट असीम राई तथा राष्ट्रिय स्वतन्त्र पार्टीबाट ऋषिधन थुलुङ राई चुनावी प्रतिस्पर्धामा छन् ।
श्रम संस्कृति पार्टी वियस राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेन्द्र बस्नेत, जनता समाजवादी पार्टी नेपालबाट लाक्पा शेर्पा र उज्यालो नेपाल पार्टीबाट पेम्बा छिरी शेर्पा, नेपाल मजदुर किसान पार्टीबाट कमल बहादुर मगर, मंगोल नेशनल अर्गनाइजेसनबाट मन कुमार गुरुङ, मितेरी पार्टी नेपालबाट श्रीध्वज तामाङ्ग, आम जनता पार्टीबाट गुणराज एफ भट्टराईसमेत चुनावी प्रतिस्पर्धामा छन् ।
२०३१ सालमा चर्चित ‘टिमुरबोटे काण्ड’ घटेको प्रजातन्त्रपछि सुरुवातको अवस्था हेर्दा यो जिल्लालाई कांग्रेसको गढ भनेर चिनिन्थ्यो, २०४८ देखि २०५६ सम्मको निर्वाचनमा सोही पार्टीले लगातार जित निकालेको थियो ।
त्यसपछि भने परिस्थिति भने मिश्रित देखिन्छ । २०६४ निर्वाचनमा भने माओवादी केन्द्रले जित्दा २०७० सालमा फेरि कांग्रेसले यो क्षेत्रबाट जित हासिल गरेको थियो । २०७४ मा माओवादीका हेमकुमार राई र २०७९ मा एमालेका मानवीर राईले यो क्षेत्रबाट जित हासिल गरेका थिए ।
कस्ता छन् उम्मेदवारका प्रोफाइल ?
कांग्रेसबाट उम्मेदवार बनेका प्रकाश सिंह कार्की जिल्लाको नेचासल्यान गाउँपालिकाका स्थायी बासिन्दा हुन् । उनी पर्यटन व्यवसायमा आवद्ध हुनुका साथै नेपाल फ्रेट फर्वार्ड एसोसिएसनका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ कार्यकारिणी समिति सदस्यसमेत थिए ।
पार्टीमा उनी गगन थापा निकट मानिन्छन् । जिल्लाबाट टिकटको लागि चौथो नम्बरमा सिफारिस भएका उनलाई पार्टीको विशेष अधिवेशनबाट निर्वाचित केन्द्रीय नेतृत्वले टिकट दिएको हो । यसपटक बलबहादुर केसीलाई पहिलो, आङगेलु शेर्पालाई दोस्रो र विनोद बस्नेतलाई तेस्रो नम्बरमा सिफारिस गरिएको थियो । बलबहादुर केसीले चुनाव नलड्ने घोषणा गरे पनि अन्य दुई आकांक्षीले भने अन्तिमसम्म प्रयास गरेर पनि टिकट पाएनन् ।
उनको सबैभन्दा सबल पक्ष भनेको मुख्य प्रतिस्पर्धी एउटै समुदायका हुनु हो । झण्डै ३५ प्रतिशत खसआर्य रहेको यो क्षेत्रमा मुख्य दलहरूमा उनी यो समुदायको एक्ला उम्मेदवार हुन् ।
कार्कीलाई गुटगत राजनीतिभन्दा माथि उठेर संगठनलाई एकढिक्का बनाउँदै कांग्रेसप्रति आस्था राख्नेको मत जोगाउने प्रमुख चुनौती छ । यसअघिका निर्वाचनमा अन्तर्घातकै कारण हारेको निष्कर्ष निकालेको थियो । यसका अतिरिक्त रास्वपातिर ढल्किएको माहोलका कारण स्वतन्त्र मत तान्न समेत उनलाई कठिन देखिन्छ ।
एमालेले यसपटक सोलुखुम्बुबाट महिला उम्मेदवार कल्पना राईलाई अघि सारेको छ । उनी अघिल्लो कार्यकालमा सोलुदूधकुण्ड नगरपालिकाकी उपमेयर हुन् । करिब ४० प्रतिशत राई समुदाय रहेको उक्त क्षेत्रको मतलाई कायम गर्न एमालेले सोही समुदायबाट उम्मेदवारी दिएको हो । त्यसो त अघिल्लोपटक यो क्षेत्रबाट एमालेकै मानवीर राई विजयी भएका थिए ।
सात स्थानीय तहमध्ये सबैभन्दा धेरै जनसंख्या रहेको तथा जिल्ला सदरमुकामकै हुनुले पनि जिल्लाभरकै नेटवर्किङ उनको सबैभन्दा राम्रो पक्ष हो । स्थानीय तहमा काम गर्दा भुँइ तहका जनतासम्म पहुँच हुनु पनि उनको बलियो पक्षको रूपमा देखिन्छ ।
समानुपातिकतर्फ पनि एमालेले सबैभन्दा धेरै १५ हजार ७०५ मत ल्याउँदा कांग्रेसले १० हजार ४७३ मत, माओवादीले ८ हजार ५३४ मत र रास्वापाले १ हजार १३५ मत ल्याएका थिए । जनता समाजवादी पार्टीले ९५८ मत ल्याएको थियो ।
देशका धेरैजसो क्षेत्रमा कमजोर रहेको नेपाली कम्युनिस्ट पार्टी यहाँ भने अर्को बलियो दाबेदारका रूपमा चिनिन्छ । उक्त पार्टीबाट असीम राईलाई उम्मेदवार बनेका छन्, जो थुलुङ दूधकोशी गाउँपालिका अध्यक्षबाट राजीनामा दिएर चुनावी मैदानमा होमिएका हुन् । स्थानीय तहमा डेढ वर्ष कार्यकाल बाँकी हुँदै मैदानमा आउनुले पनि उनको सम्भावनालाई देखाउँछ । जिल्लामा उनको व्यक्तिगत प्रभाव राम्रो मानिन्छ त्यसैले असीमले संगठनको मतभन्दा बाहिरको फ्लोटिङ भोट तान्न सक्ने आकलन छ ।
यद्यपि पार्टीको कमजोर आधार र एमालेका उम्मेदवारसमेत त्यही समुदायबाट भएकोले भोट बाँडिने सम्भावना उनको सबैभन्दा ठुलो चुनौतीका रूपमा छ ।
वैकल्पिक शक्तिको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट यो जिल्लामा ऋषिधन थुलुङ राई आएका छन् । उनी तिङ्ला क्षेत्रका स्थायी बासिन्दा हुन् जुन क्षेत्र टिमुरबोटे काण्ड घटेको ठाउँसमेत हो ।
उनको सबैभन्दा ठुलो शक्ति भनेको राष्ट्रिय रूपमा देखिएको प्रभाव हो । विद्यावारिधिसम्मको अध्ययन गरेका उनलाई बौद्धिक वर्गले पनि छनोट गर्ने सम्भावना छ, तर भूगोलमा खासै नभिजेको र आफ्नो समुदायको भोट बाँडिने चुनौती उनलाई पनि छ ।
त्यस्तै धरानका मेयर हर्क साम्पाङको श्रम संस्कृति पार्टीबाट बीएस राई उम्मेदवार छन् । उनी पूर्वप्रहरी नायब निरीक्षक (सई) हुन् । उनी यसअघि वडा अध्यक्षमा पराजित भएका थिए ।
विगतमा कसको प्रभाव कति ?
अघिल्लो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा यो जिल्लाबाट सबै क्षेत्रमा एमालेले जित निकालेको थियो । प्रतिनिधिसभामा मानवीर राईले जित निकाल्दा प्रदेशसभा क मा उत्तम कुमार बस्नेत र बुद्धि कुमार राजभण्डारी निर्वाचित भएका थिए ।
समानुपातिकतर्फ पनि एमालेले सबैभन्दा धेरै १५ हजार ७०५ मत ल्याउँदा कांग्रेसले १० हजार ४७३ मत, माओवादीले ८ हजार ५३४ मत र रास्वापाले १ हजार १३५ मत ल्याएका थिए । जनता समाजवादी पार्टीले ९५८ मत ल्याएको थियो ।
स्थानीय तहको निर्वाचनलाई आधार मान्दा जिल्लाका ७ स्थानीय तहमा कांग्रेसको बाहुल्य देखिन्छ । जिल्लाका स्थानीय तहमध्ये एमालेले खुम्बु पासाङल्हामु गाउँपालिका र माप्य दुधकोशी गाउँपालिका र माओवादीले थुलुङ दुधकोशी गाउँपालिका अध्यक्षमा जित हासिल गर्दा बाँकी ४ स्थानीय तह कांग्रेसले जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण