सुर्खेतमा एमाले उम्मेदवार भन्छन्– १० हजार सदस्य परिचालित छन्, हामी जित्छौँ
सुर्खेत । नेकपा एमालेबाट सुर्खेतका दुई वटै निर्वाचन क्षेत्रमा उम्मेदवार रहेका ध्रुवकुमार शाही र कुलमणी देवकोटाले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा चुनाव यो पटक एमालेले जित्ने दाबी गरेका छन् ।
शुक्रबार वीरेन्द्रनगरमा संयुक्त पत्रकार सम्मेलन आयोजना गर्दै उनीहरुले यस्तो बताएका हुन् । शाही एमालेबाट क्षेत्र नम्बर १ को उम्मेदवार छन् भने देवकोटा क्षेत्र नम्बर २ का उम्मेदवार हुन् ।
हालसम्म भएको चुनावी गतिविधिबारे जानकारी दिन पत्रकार सम्मेलन गरेका उनीहरुले भने—यो पटक एमालेले दुबै क्षेत्र जित्छ, चुनावी अभियान सफल पार्न १० हजार संगठित सदस्य परिचालन गरिएको छ ।
क्षेत्र नम्बर १ का उम्मेदवार शाहीले आफु ०७४ मा सांसद जितेपछि थुप्रै विकासका आयोजना अघि बढाएको र त्यही नै चुनाव जित्ने आधार भएका बताए ।
‘अहिले ती आयोजना सम्पन्न हुने क्रममा छन्,’ उनले भने, ‘तर कतिपयले ती आयोजना हामीले हाल्यौँ भनेर सिलान्याश पनि गरे, त्यस्ता भ्रमका पछि जनता लाग्दैनन् ।’ उनले कांग्रेसका नेता पुर्णबहादुर खड्काप्रति इङ्गित गरेर बोलेका हुन् ।
अघिल्लो पटक ०७९ मा पार्टीभित्रको आन्तरिक समस्याका कारण चुनाव पराजित भएको बताउँदै शाहीले यो पटक हल भइसकेको बताए । ‘यो अवस्थामा एमाले बाहेक अरुले चुनाव जित्दैन,’ उनले थपे ।
शाही ०७९ मा कांग्रेसका पुर्णबहादुर खड्कासँग पराजित भएका हुन् ।
क्षेत्र नम्बर २ का उम्मेदवार कुलमणी देवकोटाले सार्वजनिक रुपमा उठेका केही प्रश्नको जवाफ दिए । मत माग्ने क्रममा उनले बारी खन्दै गरेको भिडिओ बाहिरिएपछि उनले चटक देखाएको भन्दै आलोचना भएको थियो ।
देवकोटाले आफु किसानकै छोरा भएकाले बारी खन्ने कुरालाई अन्यथा नलिनुपर्ने बताए । ‘म पहिलो चरण पश्चिम क्षेत्रका सबै पालिका पुगेर आएँ, जनताको मनोविज्ञान हामीप्रति सकरात्मक छ,’ उनले भने, ‘यो पटक एमाले जित्ने स्थितिमा छ ।’ ०७९ मा यो क्षेत्र पनि कांग्रेसले जितेको थियो ।
यसअघि गुमेका दुबै क्षेत्र अहिले फर्काउने तयारीका साथ पार्टी अघि बढेको जिल्ला निर्वाचन परिचालन कमिटीका संयोजक नवराज रावतले बताए ।
उनका अनुसार जिल्लाका नौ वटै स्थानीय तहअन्तर्गतका पालिका कमिटी, ९९ वडा कमिटी तथा दुई सयभन्दा बढी टोल कमिटीले प्रारम्भिक निर्वाचन परिचालन गतिविधि पूरा गरिसकेका छन् । ती गतिविधिमा पार्टीका १० हजारभन्दा बढी संगठित सदस्य परिचालित भएको उनले बताए ।
उनले केही दिनमा घोषणा पत्र सार्वजनिक गरिने र त्यसमा जिल्लाका सडक सञ्जालको स्तरोन्नति, विद्युत् विस्तार, सिँचाइ, खानेपानी, स्वास्थ्य र शिक्षा सुधार, कृषि उत्पादन वृद्धि, धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन, औद्योगिक ग्राम स्थापना तथा ठुला उद्योग सञ्चालनलाई प्राथमिकता दिइने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण