मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
काउन्टडाउन टू वर्ल्डकप

चण्डीगढदेखि मुम्बईसम्म : वानखेडेमा खेल्ने करनको अधुरो सपना पूरा हुँदै

शुक्रबार, २३ माघ २०८२, २० : ३०
शुक्रबार, २३ माघ २०८२

सारांश

  • करन केसीको क्रिकेट यात्रा टेनिस बल क्रिकेटबाट सुरु भयो, जसले उनलाई राष्ट्रिय टोलीमा पुर्यायो।
  • उनले भारत र नेपालमा क्रिकेट खेले, र अब टी-२० विश्वकपमा वानखेडे रंगशालामा खेल्ने सपना पूरा गर्दैछन्।
  • करनले आफ्नो करियरमा विभिन्न आरोहअवरोह पार गरे, र अहिले नेपाली क्रिकेटमा राम्रो स्थान बनाएका छन्।
00:00 / NaN:NaN
Audio By AI

राष्ट्रिय टोलीका सिनियर खेलाडी बनिसकेका करनको खेल जीवनको ‘टर्निङ प्वाइन्ट’ भने टेनिस बल क्रिकेटमा ब्रेट लीको शैलीमा बलिङ गरेर प्रभाव जमाएपछि सुरु भएको थियो।

व्यावसायिक क्रिकेटको सुरुवाती चरणमा करन केसी प्रायः मुम्बई गइरहन्थे। उनी हरेक गर्मीयाममा उमेश पटवालको एकेडेमीमा प्रशिक्षण गर्थे। तर, उनको बकेट लिस्ट (इच्छा सूची) को एउटा कोठामा ‘टिक’ लाग्न बाँकी नै थियो, वानखेडे रंगशालामा खेल्ने।

आइतबार, जब करन नेपालको तर्फबाट टी-२० विश्वकप २०२६ को उद्घाटन खेलमा इंग्ल्याण्डविरुद्ध वानखेडेको मैदानमा उत्रनेछन्, उनको त्यो लामो सपना अन्ततः पूरा हुनेछ। नेपालले समूह चरणका आफ्ना सबै खेलहरू यही रंगशालामा खेल्ने तालिका रहेकाले यस प्रतिष्ठित मैदानमा केही यादगार पलहरू बनाउने मौका पनि उनीसँग छ।

‘म कान्दिवली (उनी बस्ने ठाउँ) बाट अटो र लोकल ट्रेन चढेर मुम्बई धेरै घुमेँ,’ करनले ईएसपीएन क्रिकइन्फोलाई भने, ‘तर वानखेडेभित्र कहिल्यै छिर्न पाइनँ। मेरो सुरुवाती भ्रमणहरूमध्ये एकमा मलाई मैदान हेर्ने ठुलो रहर थियो। त्यसैले हामी चर्चगेटसम्म लोकल ट्रेनमा गयौँ। बाहिर उभिएर मैदानको यति नजिक पुग्दा मात्र पनि अद्भुत महसुस हुन्थ्यो। अब हामी त्यहीँ खेल्दैछौ भन्ने कल्पना गर्दा निकै उत्साहित छु।’

‘उमेश सर सधैँ भन्नुहुन्थ्यो, एक दिन तिमी त्यहाँ खेल्नेछौ। जब खेल तालिका आयो, मैले उहाँलाई भनेँ, अन्ततः यो हुँदैछ। उहाँ धेरै खुसी हुनुभयो।’

366656

मुम्बईसँग मात्र होइन, करनको भारतसँगको सम्बन्ध चण्डीगढसँग पनि छ, जहाँ उनी हुर्किए। उनका बुवा त्यहीँ काम गर्थे। त्यहीँ उनले आफ्ना दाइहरूसँग ‘ब्याकयार्ड क्रिकेट’ खेल्दै आफ्नो आधार तयार पारे।

उनले भने, ‘हामी वान-अन-वान, ट्राई-सिरिजजस्ता खेल खेल्थ्यौँ। म सधैँ अस्ट्रेलिया रोज्थेँ, दाइले भारत रोज्थे। बलिङ गर्दा नियम के थियो भने हरेक ओभरमा एक्सन (शैली) बदल्नुपर्ने। म ब्रेट लीको ठुलो फ्यान भएकाले पहिलो ओभर सधैँ उनकै शैलीमा बलिङ गर्थेँ। त्यसपछि ग्लेन म्याकग्रा र अरूको। ब्याटिङ गर्दा रिकी पोन्टिङ जस्तै ओपनिङ गर्थेँ। आउट भएँ भने एडम गिलक्रिस्ट जस्तै देब्रे हाते ब्याटिङ गर्थेँ। यसरी नै मैले क्रिकेटको आधारभूत कुराहरू सिकेँ।’

करनले १४ वर्षको उमेरसम्म औपचारिक प्रशिक्षण लिएका थिएनन्। उनको टर्निङ पोइन्ट स्कुलको ट्रायल बन्यो, जहाँ उनले ब्रेट लीको शैलीमा बलिङ गरेर सबैलाई प्रभावित पारे। १० कक्षामा पुग्दा उनले स्कुल टोलीलाई प्रतियोगिताको फाइनलसम्म पुर्‍याइसकेका थिए। त्यतिबेला उनी चण्डीगढका लागि जुनियर राष्ट्रिय जुडो च्याम्पियनसिपमा पनि प्रतिस्पर्धा गर्दै थिए।

तर, जुनियर कलेजमा पुगेपछि क्रिकेटले उनलाई पूर्ण रूपमा तान्यो। ‘टेनिस बल क्रिकेट,’ उनले थपे, ‘म दिनरात खेल्थेँ। बिहान म्याच खेलेर केही घण्टा कलेज जान्थेँ, फर्केर फेरि साँझ खेल्न जान्थेँ। कहिलेकाहीँ त अर्को दिन बिहान मात्र घर फर्कन्थेँ। आमाबुवाले त छोरो कतै नराम्रो सङ्गतमा पो फस्यो कि भनेर चिन्ता गर्न थालिसक्नुभएको थियो।’

१२ कक्षासम्म आइपुग्दा चण्डीगढको कडा प्रतिस्पर्धा हुने टेनिस बल सर्किटमा करन एउटा परिचित नाम बनिसकेका थिए। त्यहाँ रातो बलले खेल्ने प्रतिस्पर्धी खेलाडीहरू पनि आउँथे। ‘ती प्रतियोगिताहरू ठुला हुन्थे,’ उनी भन्छन्, ‘मैले मनप्रीत गोनी र मनन वोहरासँग पनि खेलेँ। नवदीप सैनी पनि आएर खेल्थे।’

करनले त्यहाँ आफ्नो खर्च धान्ने जति मात्र कमाउँथे, तर त्यसको मज्जा नै बेग्लै थियो। चण्डीगढ युनिभर्सिटीबाट बीए सकेपछि बुवाले उनलाई अब गम्भीर हुनुपर्ने बताए।

362166

‘मलाई राहदानी (पासपोर्ट) बनाउन २०१४ को सुरुमा नेपाल पठाइयो,’ करन भन्छन्, "भिसा आएपछि मलेसिया जाने योजना थियो, जहाँ मेरा दुवै दाइहरू बस्थे। म स्नातक थिएँ, प्रयास गरे सायद जागिर पाउँथेँ होला।’

करन बागलुङस्थित आफ्नो गाउँको नजिकको क्षेत्रीय केन्द्र पोखरामा आफन्तकोमा अस्थायी रूपमा बसे। ‘त्यतिबेला म राम्रोसँग नेपाली बोल्न जान्दिनथेँ,’ उनी भन्छन्, ‘बुझ्न त सक्थेँ तर म हिन्दी र पञ्जाबीमा बढी सहज थिएँ।’

एक दिन पोखरामा दिदीको पसलमा सघाउँदै गर्दा उनले मानिसहरू टिभी वरिपरि जम्मा भएको देखे। बंगलादेशमा भइरहेको टी-२० विश्वकपमा नेपालले हङकङसँग खेलिरहेको थियो। ‘त्यसपछि मात्र मलाई महसुस भयो कि नेपालको साँच्चिकै राष्ट्रिय टिम रहेछ। अनि मैले सोचेँ, ‘ठिक छ, अब मैले पनि प्रयास गर्नुपर्छ’।’

त्यही बाटोले उनलाई पूर्व यू-१९ क्रिकेटर तथा त्यस क्षेत्रका ठुला नाम दीपेश खत्रीसम्म पुर्‍यायो। कलेजको प्रतियोगितामा अर्कैको नामबाट खेल्दा करनको खेल देखेपछि खत्रीले उनलाई अन्नपूर्ण माछापुच्छ्रे क्लबमा भित्र्याए।

362165

‘म त्यो कलेजको थिइनँ, तर मेरो खेल देखेपछि उनीहरू प्रभावित भए र मलाई टिममा राखे,’ उनी हाँस्दै भन्छन्, ‘उनीहरूले सबै कुरा मिलाउँछौं, कसैले थाहा पाउँदैन भने।’ करन ठुलो नाम नबनुन्जेल कसैले थाहा पाएनन् पनि।

लगत्तै करनलाई काठमाडौँमा राष्ट्रिय क्याम्पका लागि बोलाइयो। उनी रातारात यात्रा गरेर आए, कहाँ ओर्लिने भन्ने पनि थाहा थिएन। त्यही समयमा एभरेस्ट प्रिमियर लिग (ईपीएल) को छनोट चलिरहेको थियो, जहाँ उनी नेट बलरका रूपमा छानिए।

तत्कालीन मुख्य प्रशिक्षक पुबुदु दासानायके ट्रायल हेर्दै थिए। करनको खेल देखेर प्रभावित भएका दासानायकेले पञ्चकन्या तेज टोलीका लागि उनको नाम सिफारिस गरे।

त्यतिबेलासम्म करन नेपाल फर्किएको झन्डै एक वर्ष भइसकेको थियो। भिसाको कुनै अत्तोपत्तो थिएन, भारतबाट आमाबुवा रिसाउँदै फोन गर्थे। उनीहरूलाई करनले नेपालको क्रिकेट संरचनामा कति फड्को मारिसके भन्ने थाहा थिएन।

सन् २०१५ मा करनले नेपालका लागि डेब्यु गरे। २०१६ को ईपीएलमा उनले ६ खेलमा ९ विकेट लिए र उनको टोलीले उपाधि जित्यो। ‘मैले प्रति म्याच १५०० रुपैयाँ र विजेता भएवापतको चेक गरी जम्मा २५ हजार रुपैयाँ पाएँ,’ उनी सम्झन्छन्, ‘त्यतिबेला बुवा नेपालमै हुनुहुन्थ्यो। मैले उहाँलाई २० हजार दिएँ र ५ हजार आफूसँग राखेँ। उहाँ खुसी हुनुभयो। पत्रिकामा मेरो नाम देखेपछि मात्र उहाँ मेरो क्रिकेट खेलप्रति बिस्तारै सकारात्मक हुनुभयो।’

381043

एक दशकभन्दा बढी समयपछि पनि उनको यात्रा जारी छ। आज उनी राष्ट्रिय टोलीका सिनियर सदस्य हुन्। २०२३ को विश्वकप छनोट यात्रामा उनले महत्त्वपूर्ण भूमिका खेले, सोही वर्ष एसिया कपमा रोहित शर्मालाई आफ्नो आउटस्विङले अप्ठ्यारोमा पारे (जसको भिडियो उनको ‘फेभरेट’ सूचीमा छ) । 

सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा भएको टी-२० विश्वकप खेले र नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गोर्खाजको कप्तानी गरे। उनी टी-२० आईमा नेपालका दोस्रो सर्वाधिक विकेट लिने बलर पनि हुन्।

‘अहिले नेपाली क्रिकेटरको जीवन राम्रो छ,’ करन भन्छन्, ‘हामीले मासिक तलब र म्याच फी पाउँछौं। एनपीएलमा मेरो सम्झौता २० लाख रुपैयाँसम्म पुग्छ। मैले पोखरामा घर बनाउन सकेको छु। तीन वर्षअघि आमाबुवा पनि भारतबाट नेपाल फर्किसक्नुभएको छ। उहाँहरू धेरै खुसी हुनुहुन्छ।’

हालसालै इन्गेजमेन्ट गरेका र अर्को विश्वकप खेल्न गइरहेका करन अहिले निकै राम्रो मनस्थितिमा छन्।

‘मेरा दाइहरू दुवै सेटल भइसकेका छन्,’ उनी भन्छन्, ‘एउटा जापानमा र अर्को अमेरिकामा छन्। तर उनीहरू अझै पनि फोन गरेर सोध्छन्, तैँले अब कप्तानी गरिस्, ओपनिङ किन गर्दैनस्?’

एक घण्टा लामो कुराकानीमा करनले रमाइला किस्सा साटे। उनीमा एक किसिमको स्वतन्त्र र सरल ऊर्जा छ, जसले खेलप्रतिको उनको गहिरो प्रेम झल्काउँछ। 

273210

आफूलाई अस्ट्रेलियाको समर्थक बताउने उनी अहिले प्याट कमिन्सको खुलेर प्रशंसा गर्छन्। ‘म उनको किताब ‘टेस्टेड’ पढ्दै छु,’ करन भन्छन्, ‘एउटा लाइन मेरो मनमा गडेको छ– क्रिकेट जीवनको एउटा हिस्सा हो, जीवन नै होइन।’ 

‘खेल सकिएपछि बाहिरको जीवनको आनन्द लिनुपर्छ। कहिलेकाहीँ हामी क्रिकेटलाई यति गम्भीर रूपमा लिन्छौँ कि हार्दा कसरी सम्हालिने भन्ने थाहा हुँदैन। मलाई अस्ट्रेलियाली क्रिकेट सधैँ मन पर्छ। उनीहरू पछि परेको बेला पनि हार मान्दैनन्, हार उनीहरूको डीएनएमा छैन। उनीहरू सधैँ पुनरागमनको बाटो खोज्छन्। म पनि त्यही मानसिकता राख्छु र मेरा वरपरका मानिसहरूमा पनि त्यही होस् भन्ने चाहन्छु।’

वानखेडेको त्यो बकेट लिस्ट याद छ, जुन करनले चाँडै पूरा गर्दैछन् ? उनी अहिले नै अर्को लक्ष्य हेरिरहेका छन्। अन्नपूर्ण बेस क्याम्प गइसकेका उनको नजर अब सगरमाथा बेस क्याम्पमा छ।

‘सातदेखि १० दिन लाग्छ। धेरै कठिन छ,’ उनी भन्छन्, ‘पछिल्ला केही वर्ष समय मिलेन। सायद विश्वकपपछि जानेछु।’

अहिलेका लागि भने वानखेडेमा अभ्यास र बलिङ गर्ने, अनि सायद ‘त्यो एमएस धोनीको जस्तै छक्का’ हान्ने कुराले नै उनी सन्तुष्ट हुनेछन्।

ईएसपीएन क्रिकइन्फो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शशांक किशोर
शशांक किशोर
लेखकबाट थप