बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

प्राधिकरणको कर्मचारीलाई निर्देशन: सामाजिक सञ्जाल प्रयोगमा संस्थागत मर्यादा पालना गर्नू

आइतबार, २५ माघ २०८२, ०४ : ५४
आइतबार, २५ माघ २०८२

सारांश

  • नेपाल विद्युत् प्राधिकरणले कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा मर्यादाको ख्याल राख्न भन्यो।
  • कर्मचारीले आचरण सम्बन्धी नियमको पालना गर्नुपर्ने प्राधिकरणको भनाइ छ।
  • नियम उल्लंघन गर्ने कर्मचारीलाई कारबाही हुने प्राधिकरणले जनाएको छ।

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आफ्ना कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादा र गरिमाको ख्याल गर्न सचेत गराएको छ ।

प्राधिकरणमा कार्यरत कर्मचारीले प्राधिकरण कर्मचारी सेवा, सर्त, नियमावलीमा भएको आचरणसम्बन्धी व्यवस्थाको पालना सबै कर्मचारीको दायित्व भएको स्मरण गराएको छ ।

पछिल्लो समय सामाजिक सञ्जालमा तथ्य प्रमाणित नभएका काल्पनिक, समाज र कार्यालयको प्रतिष्ठामा आँच पुग्ने गरी सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा नकारात्मक प्रभाव बढाउने खालका पोस्ट र प्रतिक्रिया एवम् कार्यालयका पत्रहरू समेत राख्ने प्रवृत्ति बढेकामा प्राधिकरणले आपत्ति जनाएको छ ।

प्राधिकरणका कार्यरत कर्मचारीमा त्यस प्रकारको प्रवृत्ति निरुत्साहित गरी सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित, व्यवस्थित र रचनात्मक बनाउन सबै पक्षको सकारात्मक भूमिका आवश्यक रहेका प्राधिकरणका सह निर्देशक नारायणप्रसाद आचार्यले जानकारी दिए ।

प्राधिकरण कर्मचारी सेवा, सर्त नियमावली २०७५ मा व्यवस्था भए बमोजिमको आचरणको उल्लघंन हुने गरी सामाजिक सञ्जालमा कार्यालयको पत्र तथा अन्य अनावश्यक पोस्टहरू नराख्न सूचित गरिएको छ ।

अनावश्यक पोस्ट राखेमा वा प्रतिक्रिया दिएमा त्यस्ता कर्मचारीको विवरण संकलन गरी विनियममा भएको व्यवस्था बमोजिम विभागीय कारबाही समेत हुने सूचनामा स्पष्ट पारिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप