बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जुम्लामा मैले चुनाव हार्नुपर्ने कारण छैन : ज्ञानेन्द्र शाही

आइतबार, २५ माघ २०८२, १४ : ०४
आइतबार, २५ माघ २०८२

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ज्ञानबहादुर शाही जुम्लामा पुनः उम्मेदवार बनेका छन्।
  • शाहीले चुनाव अभियान राम्रो चलिरहेको र जुम्ली जनताको राम्रो सद्भाव रहेको बताए।
  • उनले अघिल्लो निर्वाचनमा जिते पनि विकासमा ध्यान नदिएको भन्ने गुनासोलाई अस्वीकार गरे।

सुर्खेत । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) पुनः उम्मेदवार बनेका छन् । ०७९ को निर्वाचनमा माओवादी जस्तो बलियो दललाई आश्चर्यजनक रूपमा पराजित गरेका शाही यो पटक पनि जुम्ली जनताले आफूलाई अनुमोदन गर्ने दाबी गर्छन् ।

अहिले चुनाव प्रचारका क्रममा जुम्लाका गाउँ–गाउँ पुगेका शाहीसँग चुनावकै सन्दर्भमा केन्द्रित रहेर रातोपाटीले छोटो कुराकानी गरेको छ ।

  • तपाईं फेरि उम्मेदवार बन्नुभएछ, चुनावी अभियान कस्तो चलिराख्या छ ?

गाउँ–गाउँमा राम्रैसँग चुनाव अभियान चलिराख्या छ । हामीले तिला गाउँपालिकाका सबै ठाउँमा एक चरण चुनावी अभियान पूरा गरेका छौँ । तातोपानी र तिलामा सकियो, अन्य ठाउँमा पनि जाँदैछौँ ।

  • तपाईंप्रति कस्तो छ जुम्ली जनताको प्रतिक्रिया ?

मप्रति अब कुनै नेगेटिभ छैन । उहाँहरूले राम्रो सद्भाव देखाइराख्नुभएको छ । माया गरिराख्नुभएको छ । अब कांग्रेस, एमाले, माओवादी जोसुकै भए पनि हामी एक भोटचाहिँ हलोमै हाल्छौँ भनिराख्नुभएको छ । म कांग्रेसको वडा अध्यक्ष, म माओवादीको वडा सभापति, म नगरपालिका उपप्रमुख हो, तर हामी एक भोट हलोमा हाल्ने हो भन्नुभएको छ ।

  • अनि जुम्लामा त अहिलेसम्म सांसद नदोहोर्‍याउने जिल्ला भनेर भनिन्छ नि ?

अब राम्रो कुरा त दोहोरिनुपर्छ नि ! पहिलो चरणको अभियानका क्रममा हामीप्रति त्यस्तो वितृष्णा भेटेनौँ । अब म उम्मेदवारले भन्ने कुरा त होइन, तर मप्रति कोही पनि नेगेटिभ छैन । मेरो कुरा तपाईं नपत्याउन सक्नुहुन्छ । यहाँका अरु मान्छेलाई सोध्न सक्नुहुन्छ । बरु अघिल्लो पटक भोट नहालेको मान्छे पनि मलाई भोट हाल्ने भनेर बसिराख्या छन् ।

  • उसो भए सांसद नदोहोर्‍याउने जिल्ला भन्ने भाष्य तोड्नुहुन्छ ?

अब त्यो त नतिजाले देखाउला, तर अहिले दोहोरिन सक्छ । मैले हार्नुपर्ने कारण के छ र ? अब अंकगणितको हिसाबमा मत तलमाथि होला, तर हार्नुपर्नै कारण कुनै पनि छैन ।

  • जित्ने आधारचाहिँ के छ त ?

जनताको माया नै हो नि सबैभन्दा ठुलो कुरा ।

  • अघिल्लो निर्वाचनमा जित्नुभयो, तर संसदमा राजा ल्याउने कुरामात्रै गरेको, विकासलाई ध्यान नदिएको भनेर कतिपय मतदाता असन्तुष्ट छन् भनिन्छ नि ?

त्यस्तो छैन । केही गणतन्त्रवादी, अझ मार्क्सवादी हुन्छन् नि, उनीहरूलाई त्यस्तो लाग्छ होला । जनतामा त्यस्तो केही छैन ।

हामीले जनताका मुद्दा पनि उठाएका छौँ नि ! राजा हाम्रो आस्था हो । कसैको मार्क्स आस्था हो भने हाम्रो राजा आस्था हो । त्यसैले जनताका मुद्दा आजसम्म जुम्लामा यसरी उठाउने व्यक्ति नै म पहिलो हो । यो कुरालाई जनताले हेरेका छन् ।

विशेषगरी जुम्लामा हामीले जसरी सामाजिक सञ्जालको नेटवर्क विस्तार गर्‍यौँ, यसले गर्दा जनताले प्रत्यक्ष हेर्न पाए मेरो कुरा । फेरि जुम्लाको नागरिक तपाईं–हामीले सोचेजस्तो त छैन । नेपालको सबभन्दा चेतनशील नागरिक बस्छन् यहाँ । तपाईंहरूलाई यति टाढा छ भन्ने लाग्दो हो, तर जुम्लाभित्र छिरेपछि थाहा हुन्छ– जुम्ला कति राम्रो छ भनेर ।

म स्पष्टका साथ भन्छु जुम्लाको कुनै पनि नागरिक नेगेटिभ छैन । बरु पोहोर कांग्रेस, एमाले, माओवादीका साथीहरू खुलेर आउनुभएको थिएन, यो वर्ष खुलेर उहाँहरू मेरो चुनावी क्याम्पेन गरिराख्नुभएको छ । एमालेका मान्छेले बोलेका त हामीले भिडियो समेत सार्वजनिक गरिसक्यौँ ।

  • तपाईंको मुख्य प्रतिस्पर्धीचाहिँ को–को हुन् त ?

अब जनता नै सबैभन्दा ठुलो कुरा हो, जनता जनार्दन हो । यो पटक भोट कम खस्छ, किनभने विद्यार्थीहरू बाहिर छन्, फेरि हिमाली जिल्लामा प्रतिकूल वातावरण छ । त्यो भएकाले अलिकति समस्या हुन्छ कि भन्नेमात्रै हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप