शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
समाचार

जाँचबुझ आयोगको म्याद फेरि थप्ने तयारी

सोमबार, २६ माघ २०८२, १५ : २४
सोमबार, २६ माघ २०८२

काठमाडौँ । सुशीला कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनका घटना छानबिनका लागि गठन गरेको जाँचबुझ आयोगको म्याद फेरि थप्ने तयारी गरेको छ । 

सोमबार अपराह्न ४ बजे बस्न लागेको मन्त्रिपरिषद् बैठकबाट आयोगको म्याद तेस्रो पटक थप्ने तयारी छ । 

सरकारले गत असोज ५ गते जेनजी आन्दोलनमा भएको बल प्रयोग लगायतका घटनाको छानबिन गर्न विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो ।

तीन महिनाको समय दिएर गठित आयोगले निर्धारण गरिएको समयमा काम नसकेपछि पुस ३ गते बसेको मन्त्रिपरिषद् बैठकले एक महिनाका लागि आयोगको म्याद थपेको थियो । त्यो समयमा पनि काम नसकेपछि माघ ८ गते बसेको मन्त्रिपरिषद् बैठकले आयोगको म्याद पुनः २० दिन थप्ने निर्णय गर्‍यो । 

त्यो समय बुधबार (माघ २८ गते) सकिँदैछ । यो समयमा पनि काम नसकिएपछि पुन थप्न लागिएको हो । म्याद थप्ने निश्चित भए पनि कति समय थप्ने भन्ने निश्चित भइसकेको छैन । 

पूर्वन्यायाधीश कार्की नेतृत्वको आयोगमा नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन् । 

गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा ७६ जनाले ज्यान गुमाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप