बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
चुनावी चर्चा

ओलीको ‘डेट एक्सपायर्ड’ चुनावी एजेन्डा

सोमबार, २६ माघ २०८२, १८ : ३४
सोमबार, २६ माघ २०८२

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माघ २२ गते ‘दैलेखमा ग्यास उत्खनन् गर्‍यौं, अब घर–घरमा पुर्‍याउँछौं’ भनेर फेसबुक स्टाटस लेखे । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका ओलीले म्याद सकिएको ग्यास राजनीतिलाई फेरि ब्युँताएकोमा सामाजिक सञ्जालमा ट्रोल बनाइएको छ । २५ हजार ५०० ले कमेन्ट गरेका अधिकांशले उनको उछितो काटेका छन् । ओलीले विकासका लागि सपना देख्नु, त्यसलाई साकार पार्नु र सोही अनुसार कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।

२०७२ सालमा पहिलोपटक प्रधानमन्त्री हुँदा नेपालमा छिमेकी देश भारतले अघोषित नाकाबन्दीले आम नागरिकको दैनिक जीवनशैली अस्तव्यत भएको थियो । निकै कष्टकर हुँदा समेत नाकाबन्दीसामु नझुकेका आम नागरिकको पक्षमा उभिएका कारण ओली राष्ट्रवादी नेताको रुपमा निकै लोकप्रिय भएका थिए ।

भदौ २३ गते जेनजी विद्रोहका बेला प्रधानमन्त्री रहेका ओली संसद् भवन नयाँ बानेश्वरमा २३ जना नवयुवाको हत्या भएपछि भोलिपल्ट सत्ता छोडेर भाग्नुपर्ने विशिष्ट अवस्था सिर्जना भयो । आक्रोशित भिडले राज्यको केन्द्रीय प्रशासनिक भवन सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत लगायत देशभर सार्वजनिक तथा निजी सम्पत्ति ध्वस्त पारे । 

ओलीकै सिफारिसमा प्रधानमन्त्री बनेकी सुशीला कार्कीले संसद् विघटन गरी निर्वाचन घोषणा गरेकोमा असन्तुष्ट जनाउँदै आएका छन् । सुरूका दिनमा निर्वाचनमा जान आनाकानी गरेका उनी सत्ता सहयात्री दल नेपाली कांग्रेसको सहयोगमा संसद् पुनर्स्थापनाको मुद्दा लिएर सर्वोच्च अदालत पुगे । अन्ततः सबै राजनीतिक दल निर्वाचनमा जान तयार भएपछि बाध्य भएर ओलीकै नेतृत्वमा एमाले चुनावमा होमिएको छ । 

२०४८ सालदेखि लगातार झापा-५ बाट निर्वाचन लड्दै आएका ओली यसपटक काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख बालेन शाहले चुनौती दिएपछि तनावमा देखिन्छन् । देशको चार पटक प्रधानमन्त्री भएका ओलीले २०६४ को संविधानसभा सदस्य निर्वाचन बाहेक सबै चुनाव जितेका छन् । २०७४ सालमा संविधान विपरीत दुई–दुई पटक संसद विघटन गरेर अलोकप्रिय भएका उनी जेनजी नरसंहारका कारण चौतर्फी आलोचित छन् । विषम परिस्थितिमा हुन लागिरहेको यस निर्वाचन जित्नै पर्ने दबाबमा ओली छन् । चुनावी प्रचारको सिलसिलामा झापा पुगेका उनले सोमबार मतदातासँगको कुराकानीमा घरघरमा ग्यास लाइन पुर्‍याउने प्रतिबद्धता दोहोर्‍याए । 

‘अब नेपालमै ग्यास उत्खनन् हुन्छ । ग्यास बाल्नुपर्छ । विदेशबाट ल्याएको ग्यास होइन, अहिले ग्यास निकाल्न छोडेर ताला लगाएर राखेको छ त्यहाँ । पाइप लाइनबाट ल्याएर पानीट्यांकी बनाएर एकै ठाउँमा राख्न सकिन्छ । घर–घरमा पाइप पुर्‍याउन सकिन्छ । त्यसका लागि कुनै सिलिन्डर चाहिँदैन । त्यतातिर जानुपर्नेमा गुइँठै बाल्नुपर्छ भन्नु उपयुक्त हुँदैन’, झापाली मतदातालाई सम्बोधनको क्रममा भने ।

केही समयअघि महोत्तरी र धनुषामा जस्तो गुइँठा बाल्नुपर्ने अवस्था नभएको अभिव्यक्तिलाई लिएर व्यापक आलोचना भएकोप्रति पनि ओलीले जवाफ फर्काए । उनले संस्कृति बचाउने र गरिबी हटाउने नाममा मान्छेलाई अलमलमा राख्न नहुने स्पष्ट पारे ।

‘गुइँठा बाल्ने होइन, त्यसभन्दा माथि उठ्नुपर्छ । विकास गर्नुपर्छ । गुइँठा बाल्नु संस्कृति होइन । त्यो पछ्यौटेपन थियो, हटाउनुपर्छ’, उनले भने, ‘कुनै पनि कुरालाई अनुचित ढंगले बंग्याएर सेन्टिमेन्ट खडा गरेर अगाडि जान सकिँदैन । गुइँठा, दाउरा बाल्ने होइन अब बिजुली बाल्नेतिर पुग्नुपर्छ ।’

ओलीले पहिलोपटक प्रधानमन्त्री हुँदा दैनिक जीवनमा प्रयोग हुने इन्धनको अभाव भएकाले त्यतिबेला नेपालीको मनोबल कमजोर नहोस् भनेर आफैंले ग्यास उत्खनन् गर्छौँ र पाइपबाट नै भान्सामा ग्यास आउने बनाउँछ भनेको जिकिर गरे ।  

पहिलो कार्यकालमा निकै लोकप्रिय भएका ओलीले राष्ट्रवादी नारा दिएर २०७४ सालको निर्वाचनमा ५७ हजार १३९ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २८ हजार २५७ मत प्राप्त गरेका थिए । यद्यपि त्यतिबेला तत्कालीन एमाले र माओवादी केन्द्रबिच वामपन्थी तालमेल गरेको थियो । झापा–५ र झापा–३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग पनि चुनावी तालमेल गरेका थिए । त्यतिबेला वामपन्थी गठबन्धनले झण्डै दुई तिहाइ मत प्राप्त गरेको थियो । निर्वाचनपछि २०७४ फागुन ३ गते उनी प्रधानमन्त्री बने । दोस्रो कार्यकालको बेला ओलीले घर–घरमा ग्यास पाइप लाइन पुर्‍याउने बताएका थिए  । चीनको केरुङ–काठमाडौँ–पोखरा–लुम्बिनी रेल पुर्याउने जस्ता अपत्यारिलो अभिव्यक्ति दिएका थिए । त्यति मात्र नभई पाँच वर्षमा नेपालका ठुला नदीमा पानी जहाज सञ्चालन हुने जिकिर गर्दै उनले संसद्को रोस्टममा उभिएर सांसदहरू जहाजको टिकट काट्न आग्रह गरेका थिए । यी यस्तै उट्पट्याङ् र तत्काल सम्भव नदेखिएका सपना बाँडेकोमा त्यतिबेला सामाजिक सञ्जालमा ओली निकै ट्रोल बने । पहिला आफैंले बोलेका कुरालाई लिएर उनलाई अहिलेसम्म पनि विपक्षीहरूले राम्रै मसला बनाइरहेका छन् । आफैंले प्रतिबद्धता जनाएका परियोजना ओलीले चार पटक प्रधानमन्त्री हुँदा समेत कार्यान्वयनको बाटोमा नपुगेको भन्दै विपक्षीहरूले अहिलेसम्म आलोचना गरिरहेका छन् ।

असारको पहिलो हप्ता चीनको जिओलोजिकल सर्भे कम्पनीले दैलेखमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको अन्वेषण कार्यको प्रारम्भिक प्रतिवेदन ओली सरकारलाई बुझाएको प्रतिवेदनमा जलजले क्षेत्र मिथेन ग्यासको विशाल भण्डारण स्थल रहेको तथ्य खुलाइएको थियो ।

२०७८ वैशाख २८ गतेदेखि सुरु गरिएको पहिलो ड्रिलिङ कार्य सम्पन्न गरी त्यहाँबाट सङ्कलन गरिएका नमुनाको परीक्षणमा एक अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डारण रहेको पुष्टि भएको थियो । त्यही प्रारम्भिक नतिजाका आधारमा हौसिएका ओलीले ग्यास राजनीतिलाई चुनावी मुद्दा बनाएको प्रष्ट देखिन्छ ।

ओलीले आफू सरकारमा हुँदा नै गत वर्ष एक खर्ब १२ अर्ब घनमिटर मिथेन ग्यास रहेको पुष्टि भएको दाबी गरेका छन् । नमुना परीक्षण सफल भएपछि गत मंसिरमै व्यावसायिक उत्पादनको योजना सहित काम अघि बढाएको उनले जिकिर गरे । तर भदौमा नै सरकारबाट बाहिरिएपछि त्यसको काम अघि बढ्न नसकेको ओलीको भनाइ थियो । 

मंसिर अन्तिममा भएको पार्टीको ११ औँ महाधिवेशनबाट तेस्रो पटक अध्यक्षमा निर्वाचित भएका ओलीलाई एमालेले भावी प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरेको छ । यता पुराना दलको विकल्पमा खुलेको रास्वपाले भावी प्रधानमन्त्रीको रुपमा बालेन शाहलाई अगाडि बढाएको छ ।

सामाजिक सञ्जालमा युवामाझ निकै लोकप्रिय बालेन र पुराना तथा अनुभवी राजनीतिज्ञको छवि बनाएका ओलीबिचको रोचक प्रतिस्पर्धाले सिंगै देशको ध्यान अहिले झापा–५ मा केन्द्रित भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप