१० बजे १० समाचार : तामाकोशीमा बीभत्स दुर्घटनादेखि ६० लाख लुट्ने हवल्दारसम्म
सारांश
- नेकपाले आगामी निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्दै दलहरूलाई वर्गीकरण गर्यो, नयाँ दललाई ‘सिद्धान्तहीन’ आरोप लगायो।
- पर्यटनको समस्याबारे, राजनीतिक दलहरूले चुनावी अभियानमा दैनिक एयरपोर्टबाट बाहिरिने नेपालीको सङ्ख्याको विषय उठाए।
- रामेछापको तामाकोशीमा भएको बस दुर्घटनामा १२ जनाको मृत्यु भयो भने तनहुँ र काठमाडौँमा भएका दुर्घटनामा पनि मानिस घाइते र एक जनाको मृत्यु भयो।
आज २०८२ माघ २७ गते मंगलबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
- नेकपाको घोषणापत्र
नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले आगामी निर्वाचनको सन्दर्भमा आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दै मुलुकका राजनीतिक दलहरूलाई चार मुख्य वर्गमा विभाजन गरेको छ । पार्टीले आफूलाई एकमात्र ‘क्रान्तिकारी शक्ति’ दाबी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका नयाँ शक्तिहरूलाई ‘सिद्धान्तहीन पपुलिष्ट’ र ‘भदौ २४ को विध्वंशकारी तत्व’ सँग सम्बन्धित रहेको गम्भीर आरोप लगाएको छ ।
- पर्यटनको समस्या
प्रतिनिधि सभा निर्वाचन नजिकिँदैछ । राजनीतिक दलहरू गाउँगाउँ र टोलटोलमा चुनावी अभियानमा छन् । प्रतिस्पर्धीहरूबिच आफूलाई उत्कृष्ट देखाउने कसरतमा उनीहरूले विभिन्न खालका धारणा राख्दै आएका छन् । यस क्रममा सम्भवतः कुनै पनि उम्मेदवारले भन्न नछुटाउने एउटा विषय हो– दैनिक एयरपोर्टबाट बाहिरिने २२/२५ सय नेपालीको सङ्ख्या । यो सङ्ख्यासँग नेपालीको सेन्टिमेन्ट यतिसम्म जोडिएको छ कि केही दिनअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरू ‘रहरले विदेश गएको’ भन्दा सामाजिक सञ्जालमा ठुलो जत्था उनीमाथि खनियो ।
- चुनावी चर्चा
प्रतिनिधि सभाको आसन्न निर्वाचनलाई लिएर पर्वतमा दलहरू आ–आफ्नै रणनीति अनुसार जनताको विश्वास जित्न प्रयासरत छन् । पर्वतमा २०५६ को संसदीय निर्वाचन र संविधान सभाको दुवै निर्वाचन गरी लगातार तीन निर्वाचनमा निर्वाचित भएर कांग्रेसले ‘ह्याट्रिक गरिसकेको छ ।
तल भेरी नदी । माथि समथर खेतीयोग्य मैदानी फाँट । सिँचाइ अभावले प्रायः जमिन बाँझै । सितले चिसो हुने गहुँबाली सिँचाइ अभावमा पहेँलपुर छ । धान खेती हुँदैन । उत्पादित गहुँ र मकैले महिना दिन पनि पुग्दैन । गाउँमा रोजगारी र आयआर्जनका अन्य कुनै माध्यम छैनन्, अनि छाक टार्ने जोहोका लागि घरमा भोटे ताल्चा लगाउँदै भारत लाग्छन्, स्थानीय ।
प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी चहलपहल बढ्दै गएको छ । देशको अन्य भूभागमा जस्तै रौतहट क्षेत्र नम्बर– १ मा पनि चुनावी सरगर्मी बढिरहेको छ ।
‘यो डाँडामा पहिला एमालेबाहेक अरूको कुरै हुँदैनथ्यो, भुइँ छोड्दैनथे, तर अहिले एमालेको भोट छैन । सबै जना भोट फेर्ने मुडमा छन् । बाहिर मुखले जे भने पनि भित्री मन बदलिएको छ,’ पोखरा उपमहानगरपालिका–२१, पोखरेलथोकका कुलदत्त पोखरेलले गाउँको बेलिविस्तार लगाए ।
- अर्धवार्षिक मूल्यांकन प्रतिवेदन
सरकारले चालु आर्थिक वर्ष (२०८२/८३) को पहिलो अर्धवार्षिक समीक्षा प्रतिवेदन आइतबार सार्वजनिक गर्यो । झण्डै १४.०४ प्रतिशत कम बजेट खर्च हुने संशोधित अनुमानसहित उक्त प्रतिवेदनले सबै प्रकारका खर्च तथा आम्दानीको अनुमानलाई समेत संशोधन गरेको छ ।
- नयाँ कांग्रेस
नेपाली कांग्रेसले २०७९ सालको निर्वाचनमा काठमाडौँ उपत्यकाका १५ मध्ये केवल ८ ठाउँमा मात्र उम्मेदवार उठाएको थियो । त्यस चुनावमा देशैभर तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सँग कांग्रेसले तालमेल गरेको थियो । र ती ८ मध्ये ७ जना निर्वाचित भएका थिए ।
- वैकल्पिक शक्ति
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भावी प्रधानमन्त्रीको रुपमा बालेन शाहलाई अगाडि सारेर आक्रामक चुनावी प्रचारप्रसार गरिरहेको छ । २०७९ सालको निर्वाचनमा पार्टी निर्माणकै क्रममा रहेका बेला ११ लाख ३० हजार समानुपातिक मत सहित २१ सिट ल्याएको रास्वपाले फागुन २१ को चुनावमा १५१ सिट जित्ने लक्ष्यका साथ चुनावी प्रचारप्रसारमा जुटेको छ । आफूलाई वैकल्पिक राजनीतिक दल दाबी गर्ने रास्वपाको उदय कुनै वैचारिक, सैद्धान्तिक धरातलमा नभई लोकप्रियतावादमा भएको राजनीतिकवृत्तमा आरोप छ ।
- दुर्घटना
रामेछापको तामाकोशीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी–२ दुलेगौँडामा आज भएको त्रिपक्षीय सवारी दुर्घटनामा व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरैसहित चार जना घाइते भएका छन्।
काठमाडौँको मुलपानी पुलमा ट्यांकरको ठक्करबाट स्कुटर पछाडि सवार महिलाको मृत्यु भएको छ ।
- अपराध
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी हवल्दार कर्ण बहादुर सुनारलाई प्रहरीले पक्राउ गरेको छ । कीर्तिपुरमा एकजना पुरुषको ६० लाख लुटमा संलग्न आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
दार्चुलामा प्रहरी हवल्दारको हत्या भएको छ । सामुदायिक प्रहरी सेवा केन्द्रमा कार्यरत प्रहरी हवल्दार योगेन्द्र घर्तीको हत्या भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका डीआईजी ओम रानाले रातोपाटीलाई बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकामा कार्यरत करार इन्जिनियर सुबास बिष्टविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक पदमा रहँदा पदको दुरुपयोग गरी अकुत सम्पत्ति जोडेको निष्कर्ष निकाल्दै आयोगले मंगलबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।
कलैया उपमहानगरपालिका–२० का २४ वर्षीय मोहम्मद सेफविरुद्ध जिल्ला अदालत काठमाडौँमा करिब २० करोड रुपैयाँको सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ ।
- एचपिभी खोप
काठमाडौँ महानगरपालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप बालिका तथा किशोरीहरूलाई लगाउन सुरू गरिएको छ ।
- भ्रष्टाचार
ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल (टिआई)ले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क, २०२५ अनुसार नेपालले यस वर्ष पनि ३४ अङ्क प्राप्त गरेको छ । गत वर्ष जस्तै अङ्क कायम रहँदा भ्रष्टाचार नियन्त्रणको अवस्थामा उल्लेखनीय सुधार देखिन नसकेको सङ्केत सूचकाङ्कले दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण