जहाँ निर्वाचन होइन, छाक टार्ने चिन्ता छ
सारांश
- सुर्खेतको बराहतालका बासिन्दा रोजगारीको लागि भारत पलायन भइरहेका छन्, जसले गर्दा गाउँ खाली हुँदै गएको छ।
- सिँचाइ अभाव र बिजुलीको समस्याले गर्दा यहाँका किसानहरूले खेती गर्न सकेका छैनन्, जसले गर्दा खाद्यान्नको लागि वीरेन्द्रनगरमा निर्भर हुनुपरेको छ।
- चुनाव नजिकिँदै गर्दा पनि स्थानीयहरूमा चुनावप्रतिको चासो कम छ, किनकि उनीहरू लालपुर्जा र विकासका अन्य सुविधाहरूबाट वञ्चित छन्।
बराहताल (सुर्खेत) । तल भेरी नदी । माथि समथर खेतीयोग्य मैदानी फाँट । सिँचाइ अभावले प्रायः जमिन बाँझै । सितले चिसो हुने गहुँबाली सिँचाइ अभावमा पहेँलपुर छ । धान खेती हुँदैन । उत्पादित गहुँ र मकैले महिना दिन पनि पुग्दैन । गाउँमा रोजगारी र आयआर्जनका अन्य कुनै माध्यम छैनन्, अनि छाक टार्ने जोहोका लागि घरमा भोटे ताल्चा लगाउँदै भारत लाग्छन्, स्थानीय ।
यो वीरेन्द्रनगरदेखि करिब ४० किलोमिटरमा पर्ने बराहताल गाउँपालिका—४ का बनबारी, मिलन टोल लगाएका बस्तीहरूको कथा हो ।
दुई वटा बस्तीमा करिब ५० बढी घर छन् । झण्डै २२ वटा घरहरू मान्छेविहीन अवस्थामा भेटिए । भारत गएकाहरू कतिपय लामो समय घर नफर्किएपछि जीर्ण बनेका ५ वटा घर त भत्किएका छन् । अधिकांश घर काठबाट बनाइएका र खरले छाएका छन् । रेखदेख गर्ने मान्छे नफर्किएपछि पानी पर्दा चुहिने भएकाले ती घरहरू भत्किएका थिए ।
बनबारी टोलमा मात्र २० बढी घर छन्, जसमध्ये ८ वटा घरमा ताल लगाइएको छ । ती पनि जीर्ण छन् । मिलन टोलमा २९ घरधुरीमध्ये १४ वटा घरमा मान्छे छैनन् ।

गुरुङ र मगर समुदायको बाहुल्य भएका यी बस्तीमा अहिले युवापुस्ता भेटिन मुस्किल छ । युवा उमेरका व्यक्तिहरू श्रीमान्–श्रीमती नै पैसा कमाउन देश (भारत) गएका छन् भने घरका बुढाबुढीको काम केटाकेटी हुर्काउने बनेको छ ।
‘गाउँमा बसे खान पुग्दैन, पैसो कमाउन परो, घरै बसेपछि पैसो आउँदैन, त्यही भएर सबै देश गया,’ स्थानीय दुर्गाबहादुर घर्ती भन्छन्, ‘घर खाली गरेर गएकाहरूमध्ये कतिपय दसैं, तिहारमा आएका थिए, फेरि गइसके ।’
यहाँका अधिकांशको रोजगारीको गन्तव्य कालापहाड हो । पछिल्लो समय बेङ्लोरलगायत ठाउँ जाने पनि छन्, अनि कतिपय तेस्रो मुलक गएका छन् ।
मदन घर्ती (३२) तीन वर्षअघि साउदी गएका थिए । केही दिनअघि मात्रै उनी फर्किएका रहेछन् । उनी पनि कम्पनीमा काम हुन छाडेपछि मात्र नेपाल आएका हुन् ।

‘अर्काको देशमा भनेजस्तो नहुने रहेछ, तैपनि कमाएको केही रकमले सानो घर बनाएँ, छोराछोरीको पढाइ खर्च र घरखर्चमै ठिक्क भयो,’ उनले भने, ‘सबै किनेर खानुपर्छ ।’
विदेशमा रहँदा उनले कमाएको पैसाले ब्लक इटा र टिनले छाएको एकतले घर बनाएका छन् । ‘अचेल गाउँमा युवा भेटिन गाह्रो छ, सबै भारततिर गए, केही सुर्खेत (वीरेन्द्रनगर) गए ।’
फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदै छ । जसको प्रभाव यतिबेला यहाँ देखिनुपर्ने हो, तर यी नदी किनाराका बस्तीलाई भने छोएको छैन । घर्ती थप्छन्, ‘मोबाइलमा चुनावका कुराहरू आएका हुन्छन् । तर यहाँ नेट नै चल्दैन ।’ उनका अनुसार यहाँ बेलुका ७ बजेदेखि बिहान घाम नलागेसम्म मोबाइलमा नेटवर्क नै आउँदैन ।
विदेशतिर भएकाहरूलाई फोन गर्न दिउँसोको घाम कुर्नुपर्ने बाध्यता रहेको घर्ती सुनाउँछन् ।
विद्युत् न सिँचाइ, बाँदरले केटाकेटी र बुढाबुढीलाई हैरान
नजिकैको वीरेन्द्रनगर विकासको अग्रपथमा लम्किएको छ । तर वीरेन्द्रनगरसँगै जोडिएका बराहतालका यी गाउँ अझै पनि राज्यले निर्धारण गरेका आधाभूत आवश्यकताको पहुँचबाहिरै छन् ।
सञ्चार, खानेपानी, सिँचाइ र विद्युत् यहाँका प्रमुख समस्या हुन् । केही समयअघि सिँचाइका लागि लिफ्टिङमार्फत भेरी नदीको पानी ल्याउने योजना आयो, नदीबाट गाउँभन्दा केही टाढा जङ्गलमाथि डाँडामा ल्याउने र त्यहाँबाट बस्तीमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य थियो ।
तर विद्युत् नहुँदा उक्त आयोजनाले पूर्णता नपाएर नै अहिले अलपत्र बनेको छ, खानेपानीको अर्को समस्या त यहाँ छँदै छ । घरमा धारा जडान भएका छन्, तर पानी नै आउँदैन । अहिले पनि भेरीको पानी खानुपर्ने बाध्यता नहटेको घर्ती बताउँछन् ।
विनोद गुरुङ कक्षा ८ मा पढ्छन् । त्यसबाहेक बिहान—बेलुकी उनी गाग्री बोकेर भेरी नदीमा पुग्नु उनको दैनिकी हो । साँझपखतिर भेरीबाट पानी ल्याउँदै गरेको अवस्थामा भेटिएका उनले भने, ‘स्कुलबाट चाँडो आएर पानी ल्याउन जाने हतारो हुन्छ, बुढाबुढीलाई पठाउन भएन ।’

यहाँ २०७८ सालमै विद्युतीकरण गर्ने योजनाअनुरुप विद्युत्का पोलहरू विस्तार गरिएका छन् । तर अहिलेसम्म विद्युत् पुगेको छैन । ‘पहिला भोट माग्न आउन्या नेताले चाँडै विद्युत् आउँछ भन्या, न विद्युत् आयो, न नेता आए,’ स्थानीय देवीसरा गुरुङ (४०)ले भनिन्, ‘पोल ढलिसके, खै कहिले आउन्या हो ?’

गाउँमा प्रायः बुढाबुढी र केटाकेटी मात्र छन् । गाउँभन्दा माथि घना जङ्गल छ, खाली भएका घर वरिवरि झाडीले भरिएको छ, जसका कारण बाँदरहरू घरैभित्र आएर हैरान पार्छन् ।
‘मान्छे कतिबेला घरबाट जाला भनेर ऊ (बाँदर) त्यहाँ रूखबाट हेरेको हुन्छ,’ जङ्गलतर्फ देखाउँदै लक्ष्मी थापा मगर (४६)ले बताइन्, ‘घर छाड्यो कि आएर सबै सामान लैजान्छ ।’
घरछेउमा लगाएको तरकारी बालीसमेत बाँदरबाट जोगाउन हम्मेहम्मे हुने गरेको उनी बताउँछन् । ‘यहाँ निकै हैरान त बाबु ! खेती गरेर खाऊँ भन्यो सिँचाइ छैन, खडेरीमा लगाएको बालीले महिना दिन खान पुग्दैन,’ उनी भन्छिन्, ‘गहुँमा बाला लाग्ने बेला भयो, बाँदर आएर सबै खाइदिन्छ । अस्ति मकै लगाएको बारीमा खोस्रेर खाइदियो, अलिकति उम्रेका बोटमा लागेका मकै बारीमा जोगाउनै धौ–धौ हुन्छ ।’
घरमा लक्ष्मीका बुढाबुढी मात्रै छन् । कान्छो छोरा मलेसिया छन्, जेठा भारतको सिम्ला । उनीहरूको साथमा कान्छो छोराको छोरी (नातिनी) मात्रै छिन् ।
नातिनी स्कुल पठाउने र घरको रेखदेख गर्छन्, उनका बुढाबुढी ।
किनेर ल्याएको घरभित्रको खाद्यान्नसमेत जोगाउन समस्या यहाँका स्थानीयलाई हैरान छ, किनकि घरमा एक जना भए पनि बाँदर धपाउन बस्नुपर्छ ।
‘कुखुरा पालन गर्न खोज्यो, स्यालबाट जोगाउन समस्या, जे गर्दा पनि दुःखै मात्र,’ उनी भन्छिन् ।
स्थानीय गञ्जबहादुर घर्तीको पीडा उस्तै छ । ‘देश गएकाले कमाएको पैसा घरखर्च भनेर पठाउँछन्, कतिपयले उतै बजार (वीरेन्द्रनगर)बाट साहुका खातामा हाल्दिन्छन्,’ उनी भन्छन्, ‘साहुले चाहिने कुरा गाडीमा पठाइदिन्छ ।’

गञ्जबहादुर आफू भने जङ्गलमा गएर खर काट्ने र त्यही बेचेर चामल किन्ने गरेको सुनाउँछन् । ‘पानी भैदिएको भए, धान रोप्थ्यौँ, बारी बाँझै छ, बजारको चामल खानुपर्या छ,’ उनी थप्छन् ।
यहाँ सरकारी पेसाका नाममा दुई जना नेपाल आर्मीमा छन् । १० कक्षाभन्दा माथि पढ्नेहरू प्रायः वीरेन्द्रनगर नै बस्छन् ।
प्रायः आमाबुबा, बालबालिकासमेत रोजगारीका लागि सँगै जाने हुँदा विद्यालयसमेत जाने बालबालिका न्यून छन् ।
यी बस्तीहरू नुन, तेलदेखि चामललगायत खाद्यान्नमा पूर्ण रूपमा वीरेन्द्रनगरसँग निर्भर छन् । कोही बिहानै गाडी चढेर वीरेन्द्रनगर आउँछन्, अनि सामन लिएर बेलुका मात्र घर फर्किन्छन् ।
५० को दशकअघिसम्म यी बस्तीहरू खाद्यान्नका लागि चिसानीसँग निर्भर थिए । ०४८ सालमा विश्व खाद्य कार्यक्रमको सहयोगमा हुर्केदेखि दक्षिणतर्फ भेरी नदी किनारससम्म गोरेटो बाटो खन्ने काम सुरु भएको थियो ।
अहिले उक्त गोरेटो बाटो सडकमा रुपान्तरण मात्र भएको छैन, भेरी नदी किनार क्युरेनीबाट नदीको दायाँछेउबाट वनघारी, मिलन टोल साझघाटको सिरान हुँदै पश्चिमतर्फ पञ्चपुरीको जामुसँग जोडिएको छ ।
चिसापानीतर्फ निर्भर रहने यहाँका नागरिकहरू त्यसपछि वीरेन्द्रनगरतर्फ केन्द्रित भए । माओवादी द्वन्द्वको एक दशक त्यही गोरेटोमा पैदल यात्रा गरे । शान्ति प्रक्रियापछि ०६३ सालमा जिल्ला विकास समितिको १० लाख र सामुदायिक वनहरूको लगानीमा हुर्केदेखि भेरी किनार क्युरेनीसम्म ट्र्याक खोलियो । यो सडक राजधानी वीरेन्द्रनगरदेखि सुरु हुने कर्णाली राजमार्गअन्तर्गत बराहतालको हुर्केबाट दक्षिणतर्फ कुम्भीकोट हुँदै भेरी नदीको किनार जोडिन्छ ।

२०६४ सालमै कच्ची सडक पुगे पनि त्यसपछि उचित स्तरोन्नति भने हुन सकेको थिएन ।
घाम लाग्दा धुलाम्य र पानी पर्दा हिलाम्य साँघुरो सडकले स्थानीयलाई सधैँ सास्ती दियो । अहिले केन्द्र र प्रदेश सरकारको साझेदारीमा कुल ६१ करोड ५९ लाख ३० हजार रुपैयाँ लागतमा कालोपत्रको काम भइरहेको छ ।
खड्का कृष्ण/श्याम, शङ्कर जेभी काठमाडौँले आउने असार १७ सम्म हुर्केदेखि भेरी किनार क्युरेनीसम्मको १७ किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य राखेको छ । त्यस अगाडि बस्तीसम्म पुग्न अझै १० किलोमिटर दूरी छ ।
त्यहाँ पनि आगामी दिनमा कालोपत्र गर्ने योजनास्वरुप प्रयास भइरहेको बताउँछन्, बराहताल—४ का वडाध्यक्ष बिर्खबहादुर सिजापती । यहाँ अहिले एउटा सानो गाडी र एउटा बस चल्छ । बसले नै यी गाउँहरूलाई आवश्यक पर्ने सबै खाद्यान्न बोक्छ ।
भेरी नदीवारि सडक पुगे पनि नदी पारीका तरङ्गा, सिम्लेपानीलगायत बस्ती भने सडकसँग जोडिन सकेका छैनन् ।
पहिला लालपुर्जा दिन्छौँ भनेर दिएनन्
दुर्गम गाउँ भएकाले पनि गाउँमा न उम्मेदवार पुगेका छन्, न स्थानीयलाई नै चुनावबारे चासो छ ।
२०४० सालमा दैलेखको रतिखोलाबाट वनबारी टोल आएका ६६ वर्षीय गञ्जबहादुरलाई चुनावबारे थाहै छैन । यसअघि कहिले एमाले, कहिले माओवादी त कहिले कांग्रेसलाई भोट हालेका उनले भने, ‘पहिला हामीलाई लालपुर्जा दिलाउने भनेर भोट माग्न आउँथे, अहिले आएका छैनन् ।’
लालपुर्जाविहीन हुनु यहाँको अर्को समस्या हो । यसअघि लालपुर्जा वितरण गर्ने फारम भरे पनि अहिलेसम्म नपाएको उनीहरूको गुनासो छ । यहाँ करिब डेढ सयभन्दा बढी मतदाताहरू छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण