बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
टी–२० विश्वकप

श्रीलंकाले सजिलै हरायो ओमानलाई, लगातार दोस्रो जित

बिहीबार, २९ माघ २०८२, १४ : ४५
बिहीबार, २९ माघ २०८२

सारांश

  • टी-२० विश्वकपमा श्रीलंकाले ओमानलाई १०५ रनले पराजित गरेको छ, यो श्रीलंकाको लगातार दोस्रो जित हो।
  • ओमानले विशाल लक्ष्य पछ्याउँदै ९ विकेट गुमाएर १२० रन मात्र बनाउन सक्यो, जसमा मोहम्मद नदिमले सर्वाधिक ५३ रन बनाए।
  • श्रीलंकाका कुशल मेन्डिस र पवन रथनायकेले महत्वपूर्ण साझेदारी गरे, भने दासुन शनाकाले विस्फोटक ब्याटिङ गरे।

क्यान्डी । टी–२० विश्वकप अन्तर्गत समूह बीको खेलमा बिहीबार आयोजक श्रीलंकाले ओमानलाई १०५ रनको विशाल अन्तरले हराएको छ । प्रतियोगितामा श्रीलंकाको लगातार दोस्रो जित हो । टोलीले यसअघि, आयरल्याण्डलाई २० रनले हराएको थियो ।

यता, ओमानले भने लगातार दोस्रो हार बेहोरेको छ । टोली पहिलो खेलमा जिम्बाब्वेसँग ८ विकेटले स्तब्ध बनेको थियो । पालेकेले रंगशालामा २ सय २६ रनको विशाल लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाएर १२० रन मात्र बनाउन सक्यो ।

टोलीका लागि मोहम्मद नदिमले सर्वाधिक ५३ रनको योगदान दिए । उनले ३ चौका र १ छक्का हिर्काए र वसिम अलिले २० बलमा २७ रन बनाए । उनले ३ छक्का प्रहार गरे । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

ओमानलाई सस्तोमा समेट्न महिस थिकशानाले ४ ओभरमा ११ रन खर्चेर २ विकेट लिए । दुस्मन्था चमिराले पनि २ ओभर बलिङ गर्दै २ विकेट हात पारे । दुनिथ वेलालागे, दुसान हेमन्त र कमान्डिु मेन्डिसको नाममा १–१ विकेट रह्यो ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय २५ रन बनाएको थियो । टोलीको सुरुवात भने राम्रो हुन सकेन । ओपनरद्वय पाथुम निशंका र कामिल मिसारा क्रमशः १३ र ८ रन बनाउँदै पभेलियन फर्किएका थिए ।

त्यसपछि कुशल मेन्डिस र पवन रथनायकेले ५२ बलमा ९४ रनको साझेदारी गर्दै श्रीलंकाको इनिङ्स उकासेका थिए । रथनायकेले तीव्र गतिमा रन बनाउँदै मात्र २८ बलमा ६० रन बनाए । उनले ८ चौका र १ छकका प्रहार गरे ।

मेन्डिसले ४५ बलमा ६१ रनको योगदान दिए । उनले ७ चौका हिर्काए । त्यसैगरी, कप्तान दासुन शनाकाले विस्फोटक ब्याटिङ गर्दै १९ बलमा अर्धशतक बनाएर आउट भए । उनले २ चौका र ५ छक्का हिर्काए ।
खेलको अन्त्यतिर कामिन्डु मेन्डिसले पनि मात्र ७ बलमा १९ रन जोडे । उनले १ चौका र २ छक्का प्रहार गरे ।

ओमानका लागि जितेन रामानदारनीले ४ ओभरमा ४१ रन खर्चेर २ विकेट लिए । त्यस्तै, जय ओडेड्रा र सुफयान महमुदले १–१ विकेट हात पारे ।

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप