बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रथम पृथ्वीनारायण गोल्ड कपको उपाधि नेपाल पुलिस क्लबलाई

आइतबार, ०३ फागुन २०८२, ०० : २४
आइतबार, ०३ फागुन २०८२

सारांश

  • पहिलो पृथ्वीनारायण गोल्ड कप फुटबल प्रतियोगिता नेपाल पुलिस क्लबले जित्यो ।
  • फाइनल खेलमा चित्लाङ एफसीलाई हराउँदै पुलिस क्लबले उपाधि जितेको हो ।
  • प्रतियोगितामा करिब रु ८२ लाख खर्च भयो भने खेल क्षेत्रको विकास गर्ने लक्ष्य छ ।

गोरखा । प्रथम पृथ्वीनारायण गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस फुटबल क्लबले जितेको छ ।

जिल्ला खेलकुद विकास समिति गोरखाको आयोजनामा माघ २४ गतेदेखि सुरु भएको प्रतियोगिताअन्तर्गत शनिबार भएको फाइनल खेलमा चित्लाङ एफसीलाई १—० ले हराउँदै पुलिस क्लबले उपाधि जितेको हो ।

विजेता पुलिस क्लबले रु आठ लाख नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता चित्लाङ एफसीले नगद रु चार लाख पुरस्कार प्राप्त गरेको आयोजकले जनाएको छ ।

गोरखा नगरपालिका–१० छेवेटारस्थित खेलमैदानमा भएको प्रतियोगितामा ‘ए’ डिभिजनका सातवटा क्लब र आयोजक टोली गरी आठ टोलीबीच प्रतिस्पर्धा भएको थियो ।

सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब, नेपाल पुलिस क्लब, सातदोबाटो युवा क्लब, श्री भगवती क्लब, सङ्कटा एफसी, प्लानिङ ब्वाइज युनाइटेड, चित्लाङ एफसीलगायतले प्रतियोगितामा सहभागिता जनाएको आयोजकको भनाइ छ ।

यहाँ हालसम्मको ठुलो राशि मानिएको प्रतियोगिता व्यवस्थापनमा करिब रु ८२ लाख खर्च भएको आयोजक खेलकुद विकास समितिका अध्यक्ष प्रेमबहादुर तामाङले जानकारी दिए । प्रतियोगितामार्फत जिल्लाको खेल क्षेत्रको विकाससँगै पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य रहेको र यसलाई आगामी दिनमा पनि निरन्तरता दिइने उनले बताए ।

गोल्डकपलाई मध्यनजर गरेर गोरखा नगरपालिका वडा नं १० ले छेवेटारमा खाना महोत्सवसमेत आयोजना गरेको थियो । गोल्डकप अवधिभर स्थानीय खानाका परिकारसहित विभिन्न सांस्कृतिक कार्यक्रम गरिएको वडाअध्यक्ष कुँवरले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप