बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

भक्तपुर–२ मा ‘जनतासँग जन्मदेव’ अभियान सुरु, घरदैलोमार्फत मतदातासँग प्रत्यक्ष संवाद

आइतबार, ०३ फागुन २०८२, २३ : २९
आइतबार, ०३ फागुन २०८२

सारांश

  • प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जन्मदेव जैसीले 'जनतासँग जन्मदेव' अभियान सुरु गरेका छन्।
  • यो अभियान मतदातासँग प्रत्यक्ष संवाद, भेटघाट र घरदैलो कार्यक्रममा केन्द्रित छ, जसले मतदाताका समस्या र सुझाव बुझ्ने लक्ष्य राखेको छ।
  • जैसीले पुरानो दलप्रति मतदाताको निराशा र नयाँ राजनीतिक शक्तिप्रतिको आकर्षणबारे चर्चा गर्दै सम्मानजनक मत प्राप्त गर्ने विश्वास व्यक्त गरे।

भक्तपुर । प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट भक्तपुर क्षेत्र नं। २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार जन्मदेव जैसीले ‘जनतासँग जन्मदेव’ अभियान सुरु गरेका छन् । निर्वाचन परिचालन कमिटीमार्फत सञ्चालन गरिएको उक्त अभियान आइतबार सानोठिमीबाट औपचारिक रूपमा प्रारम्भ गरिएको हो ।

अभियानअन्तर्गत जैसीले घरदैलो, भेटघाट तथा प्रत्यक्ष संवादमार्फत मतदातासँग नजिकिने कार्यक्रम अघि बढाएका छन् । मतदातासँग प्रत्यक्ष संवाद स्थापना गर्दै उनीहरूका समस्या, अपेक्षा र सुझाव बुझ्ने अभियानको मुख्य उद्देश्य रहेको जनाइएको छ ।

जैसीका अनुसार स्थानीय बस्ती–बस्तीमा पुगेर जनताको जीवनस्तर, रोजगारी, विकास तथा सेवासम्बन्धी मुद्दा बुझ्ने र तिनलाई आफ्नो राजनीतिक एजेन्डासँग जोड्ने योजना बनाइएको छ। घरदैलो अभियानका क्रममा पुराना राजनीतिक दलप्रति मतदातामा निराशा बढ्दै गएको अनुभव आफूले गरेको उनले बताए ।

उनले नेपाली कांग्रेस, नेकपा एमाले लगायत स्थापित दलप्रति जनताको असन्तुष्टि बढ्दै गएको दाबी गर्दै परिवर्तनको चाहना स्पष्ट देखिएको उल्लेख गरे। ‘जनतामा नयाँ विकल्पको खोजी देखिन्छ, तर उनीहरू प्रलोभनबाट पनि सचेत हुँदै गएका छन्,’ जैसीले भने।

भक्तपुर–२ का मतदाताहरू नयाँ राजनीतिक शक्तिप्रति आकर्षित देखिए पनि सबै विकल्पप्रति सजग रहेको उनले बताए । आफूहरूले पनि नयाँ राजनीतिक धार बोकेको दाबी गर्दै सम्मानजनक मत प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

janmma dev

अभियानका क्रममा सैद्धान्तिक राजनीति कमजोर भएको जनताबाट टिप्पणी आएको उल्लेख गर्दै जैसीले चुनाव साना–साना विकास निर्माणका आश्वासनमा सीमित भएको आरोप लगाए। ‘नीति र विचार स्पष्ट भए विकास आफैँ मार्गनिर्देशित हुन्छ,’ उनले भने।

मध्यपुर थिमी नगरपालिका–नीलबाराहीमा लामो समयदेखि बसोबास गर्दै आएको उल्लेख गर्दै उनले स्थानीय समस्या र जनजीवनसँग आफू नजिकबाट परिचित रहेको दाबी गरे। दशकभन्दा बढी समयदेखि उक्त क्षेत्रमा बसोबास गर्दै आएकाले मतदातासँग आफ्नो सम्बन्ध बलियो रहेको उनले बताए ।

भक्तपुर–२ राजनीतिक रूपमा प्रतिस्पर्धात्मक क्षेत्र मानिन्छ। यस क्षेत्रमा नेकपा एमालेका महेश बस्नेत, नेपाली कांग्रेसका कविर राणा, नेपाल मजदुर किसान पार्टीका रमेश वैद्य, राष्ट्रिय स्वतन्त्र पार्टीका राजीव खत्री, नेकपाका रामप्रसाद सापकोटा ‘दीपशिखा’, राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम थापा, उज्यालो नेपाल पार्टीका जीतमान लामा लगायतका उम्मेदवार प्रतिस्पर्धामा छन्। विभिन्न दल तथा स्वतन्त्र उम्मेदवार गरी कुल ३२ जना मैदानमा रहेका छन् ।

इतिहासअनुसार यस क्षेत्रमा नेपाली कांग्रेसले २०४८, २०५६, २०७० र २०७९ मा विजय हासिल गरेको छ भने नेपाल मजदुर किसान पार्टीले २०५१ र २०६४ मा जित निकालेको थियो। नेकपा एमालेले २०७४ मा एकपटक जितेको थियो। भौगोलिक रूपमा मध्यपुर थिमी र सूर्यविनायक नगरपालिका समेटिएको यस क्षेत्रमा १९ वडा रहेका छन् भने करिब ९८ हजार ३५६ मतदाता छन् ।

नयाँ राजनीतिक विकल्पको खोजीमा रहेका मतदातामाझ ‘जनतासँग जन्मदेव’ अभियानले कस्तो प्रभाव पार्छ भन्ने विषयमा चासो बढ्दो छ । उम्मेदवार जैसीले प्रत्यक्ष संवादलाई प्राथमिकता दिँदै आफ्नो एजेन्डा स्थापित गर्ने प्रयास गरिरहेका छन् भने मतदाताहरू पनि विकल्पको परीक्षण गर्ने मनस्थितिमा देखिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप