मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

भारतीय बजारमा लिट्मस इन्डस्ट्रिजको फड्को

मङ्गलबार, ०५ फागुन २०८२, १२ : १२
मङ्गलबार, ०५ फागुन २०८२

काठमाडौँ । नेपालको तार तथा केबल उत्पादनमा अग्रणी उद्योग लिट्मस इन्डस्ट्रिज लिमिटेडले भारतको केन्द्रीय विद्युत् प्रसारण निकाय 'पावर ग्रिड कर्पोरेशन अफ इन्डिया' (पीजीसीआईएल) बाट ठूलो सफलता हात पारेको छ। 

पीजीसीआईएलले सीमापार विद्युत् प्रसारण परियोजनाका लागि उच्च क्षमताको कन्डक्टर आपूर्ति गर्न लिट्मसलाई स्वीकृत प्रदान गरेको हो। यो स्वीकृतिसँगै लिट्मस अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा छनोट हुने र सीमापार ऊर्जा पूर्वाधारमा जोडिने पहिलो र एकमात्र नेपाली उत्पादक बनेको छ।

सम्झौताअनुसार लिट्मस इन्डस्ट्रिजले २ हजार ७ सय ९९ किलोमिटर लामो ४०० केभी 'एसीएसआर मूस कन्डक्टर' उत्पादन गरी आपूर्ति गर्नेछ। यी कन्डक्टरहरू ९०० मेगावाटको अरुण-३ जलविद्युत् आयोजनासँग जोडिएको नेपालको डिडिङ्ग–ढल्केबर र भारतको बथनाहा सीमापार प्रसारण लाइनमा प्रयोग गरिनेछ। 

नेपालमै पहिलो पटक यति उच्च क्षमताको कन्डक्टर उत्पादन हुनुले देशको औद्योगिक र प्राविधिक क्षमतामा नयाँ इँटा थपेको छ। परियोजनाको जिम्मा दिनुअघि भारतीय टोलीले लिट्मसको कारखानाको उत्पादन क्षमता, गुणस्तर नियन्त्रण र परीक्षण प्रणालीको गहन अध्ययन गरेको थियो। 

यसअघि पनि नेपाल विद्युत् प्राधिकरणको हेटौंडा–ढल्केबर–इनरुवा आयोजनाका लागि ३ हजार ६ सय किलोमिटर कन्डक्टर सफलतापूर्वक आपूर्ति गरिसकेको लिट्मसले अब अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो विश्वसनीयता प्रमाणित गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप