राष्ट्रिय आर्थिक गणना सफल पार्न चेम्बर र तथ्याङ्क कार्यालयबिच सहकार्य हुने
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स र राष्ट्रिय तथ्याङ्क कार्यालयले आगामी राष्ट्रिय आर्थिक गणना २०८२ लाई प्रभावकारी बनाउन आपसी सहकार्यमा जोड दिएका छन् ।
मंगलबार चेम्बर सचिवालयमा आयोजित अन्तरक्रियामा उद्योगी, व्यवसायी र सरकारी अधिकारीहरूले देशको वास्तविक आर्थिक चित्र उतार्न निजी क्षेत्र र सरकारबिचको घनिष्ठ सम्बन्ध अपरिहार्य रहेको निष्कर्ष निकालेका हुन् ।
कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालले आर्थिक गणनाले उद्योग–व्यवसायको वर्तमान स्थिति र लगानीको प्रवृत्तिको यथार्थ तस्बिर दिने बताए। उनले तथ्यमा आधारित नीति निर्माणका लागि यो गणना कोशेढुङ्गा साबित हुने उल्लेख गर्दै निजी क्षेत्र पूर्ण सहयोग गर्न तयार रहेको स्पष्ट पारे ।
‘निजी क्षेत्रको सक्रिय सहभागिता विना यस्तो वृहत् गणना सफल हुन सक्दैन,’ अध्यक्ष अग्रवालले भने, ‘हामी आवश्यक समन्वयका लागि प्रतिबद्ध छौँ।’
राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक डा. वेदप्रसाद ढकालले गणनाको बहुआयामिक महत्वबारे जानकारी दिँदै यसले कुल गार्हस्थ उत्पादन (जीडीपी) को अनुमानलाई सुदृढ बनाउन र अनौपचारिक अर्थतन्त्रलाई औपचारिक दायरामा ल्याउन मद्दत गर्ने बताए ।
उनले सङ्कलित तथ्याङ्कको गोपनीयता पूर्ण रूपमा सुरक्षित रहने र यसलाई अदालतमा प्रमाणका रूपमा प्रयोग नगरिने स्पष्ट पार्दै व्यवसायीहरूलाई ढुक्क भएर विवरण उपलब्ध गराउन आग्रह गरे। उनका अनुसार करिब ५० प्रतिशत रहेको अनौपचारिक अर्थतन्त्रलाई मूलधारमा ल्याउन यो तथ्याङ्क आधार बन्नेछ ।
नेपालमा २०७५ सालमा पहिलोपटक आर्थिक गणना गरिएको थियो। अहिले दोस्रो पटक हुन लागेको यो गणना आगामी २०८२ वैशाख २ गतेदेखि असार ७ गतेसम्म सञ्चालन हुने तयारी छ ।
औद्योगिक, व्यापारिक तथा सेवा क्षेत्रका विस्तृत विवरण सङ्कलन गरी प्रमाणमा आधारित आर्थिक नीति बनाउने लक्ष्यका साथ कार्यालयले काम अघि बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण