सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तम्घास–बुर्तिबाङ १३२ केभी प्रसारण लाइन सञ्चालनमा

कार्यकारी निर्देशक शाक्यले गरे स्थलगत अनुगमन
बुधबार, ०६ फागुन २०८२, ११ : २०
बुधबार, ०६ फागुन २०८२

सारांश

  • नेपाल विद्युत प्राधिकरणले तम्घास-बुर्तिबाङ १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा ल्याएको छ, जसले गुल्मी र बागलुङलाई राष्ट्रिय प्रसारण प्रणालीमा जोड्छ।
  • प्रसारण लाइन सञ्चालनमा आएपछि, प्राधिकरणका कार्यकारी निर्देशकले स्थलगत अनुगमन गरी उद्योग व्यवसायको विकास र युवा पलायन कम गर्न मद्दत पुग्ने बताए।
  • यो आयोजनाले कपिलवस्तु, गुल्मी, अर्घाखाँची र बागलुङका बासिन्दालाई सहज विद्युत सेवा पुर्याउने अपेक्षा गरिएको छ, जसमा करिब चार अर्ब ७६ करोड लगानी रहेको छ।

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले तम्घास–बुर्तिबाङ १३२ केभी डबल सर्किट प्रसारण लाइन औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । गुल्मी र बागलुङलाई राष्ट्रिय प्रसारण प्रणालीसँग जोड्ने महत्त्वपूर्ण पूर्वाधारका रूपमा उक्त प्रसारण लाइन सञ्चालनमा ल्याएको हो ।

दुई दिनसम्म गरिएको प्राविधिक परीक्षण सफलतापूर्वक सम्पन्न गरी मंगलबारदेखि लाइनमार्फत नियमित विद्युत् प्रवाह सुरु गरिएको प्राधिकरणले जनाएको छ । आयोजना नेपाल विद्युत् प्राधिकरण अन्तर्गत निर्माण गरिएको ‘बुर्तिबाङ–पौदीअमराइ–तम्घास–सन्धिखर्क–गोरुसिंगे १३२ केभी प्रसारण लाइन आयोजना’ को एउटा खण्ड हो ।

तम्घास–बुर्तिबाङ १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएसँगै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले मंगलबार आयोजनाको स्थलगत अनुगमन गरेका छन् ।

शाक्यले गुल्मीको रेसुङ्गा नगरपालिका–७ उनाएचौरस्थित तम्घास सबस्टेसन, मुसिकोट नगरपालिका अन्तर्गतको पौँदीअमराइ सबस्टेसन तथा बागलुङको ढोरपाटन नगरपालिका–२ खल्टुबोटस्थित बुर्तिबाङ सबस्टेसनको स्थलगत निरीक्षण गरेका छन् ।

निरीक्षणका क्रममा उनले यो प्रसारणलाइनले घरेलु उपभोक्ता मात्र होइन, साना तथा ठुला उद्योग व्यवसायलाई समेत उल्लेखनीय सहयोग पुर्‍याउने बताए । 

उनले भरपर्दो विद्युत आपूर्तिले उद्योग व्यवसाय विस्तारमा टेवा पुग्ने, रोजगारी सिर्जना हुने तथा युवा पलायन कम गर्न मद्दत पुग्ने विश्वास लिएको बताए । यसले भविष्यमा औद्योगिक विकास, कृषि आधुनिकीकरण र सेवा क्षेत्रको विस्तारमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको शाक्यको भनाइ थियो ।

शाक्यले विद्युत् आपूर्ति व्यवस्थालाई सुदृढ, भरपर्दो, गुणस्तरीय तथा विश्वसनीय बनाउने उद्देश्यले प्राधिकरणले उक्त आयोजनालाई महत्त्वपूर्ण रूपमा लिएको बताए । उनले भने, ‘यहाँबाट पौँदीअमराइ सवस्टेसन र बुर्तिबाङ सवस्टेशनबाट प्रसारण सुरु भएको छ । पहिला ३३ केभीमा लाइन आउँदा दैनिक १०–१५ पटक विद्युत् आपुर्तिमा समस्या हुने अवस्था थियो । अहिले १३२ केभी प्रसारण लाइनमा चार्ज भइसकेपछि विद्युत् नियमित भएको र भोल्टेज पनि राम्रो भएको जानकारी पाएको छु । यो भरपर्दो विद्युत् आपूर्तिका लागि सकारात्मक कुरा हो ।’

रेसुङ्गा नगरपालिका–७ उनाएचौरस्थित तम्घास सबस्टेसनदेखि ढोरपाटन नगरपालिका–२ खल्टुबोटस्थित बुर्तिबाङ सबस्टेसनसम्म १३२ हजार भोल्ट क्षमताको विद्युत् प्रवाह गरी परीक्षण गरिएको थियो । परीक्षण सफल भएसँगै अब नियमित रूपमा विद्युत् सेवा प्रसारण हुन थालेको छ ।

यस आयोजनाअन्तर्गत कपिलवस्तुको मोतिपुर सबस्टेसनबाट अर्घाखाँची हुँदै गुल्मीको उनाएचौर र पौँदीअमराइमार्फत बागलुङको बुर्तिबाङसम्म पाँच स्थानमा सबस्टेसन निर्माण गरिएको छ ।

विगत करिब दुई वर्षदेखि १३२ केभी लाइनमार्फत अर्घाखाँची र गुल्मीको उनाएचौर सबस्टेसनबाट विद्युत् वितरण हुँदै आएको भए पनि बुर्तिबाङ खण्ड सञ्चालनमा आएपछि सम्पूर्ण संरचना पूर्ण रूपमा कार्यान्वयनमा आएको हो ।

आयोजना प्रमुख मनोजप्रसाद चौधरीले यो आयोजना कपिलवस्तुको मोतिपुरदेखि बागलुङ जिल्लाको बुर्तिबाङसम्म पाँच ओटा सवस्टेशन रहेको भन्दै यो आयोजना पूर्ण क्षमतामा सञ्चालनमा आएपछि गुल्मी र बागलुङ जिल्लामा विद्युत् आपूर्ति थप भरपर्दो, नियमित र गुणस्तरीय बन्नेमा आशावादी रहेको बताए ।

‘यो आयोजना अन्तर्गत कपिलवस्तुको मोतिपुर सबस्टेसनबाट अर्घाखाँचीको सन्धिखर्क हुँदै गुल्मीको उनाएचौर र पौँदीअमराइमार्फत बागलुङको बुर्तिबाङसम्म पाँच स्थानमा सबस्टेसन निर्माण गरिएको छ,’ उनले भने, ‘विगत करिब दुई वर्षदेखि १३२ केभी लाइनमार्फत अर्घाखाँची र गुल्मीको उनाएचौर सबस्टेसनबाट विद्युत् वितरण हुँदै आएको थियो । अब बुर्तिबाङ खण्ड सञ्चालनमा आएसँगै सम्पूर्ण संरचना पूर्ण रूपमा कार्यान्वयनमा आएका छन् ।’

करिब चार अर्ब ७६ करोड लगानीको यो सवस्टेशन र प्रसारण लाइन निर्माणसँगै कपिलवस्तु, गुल्मी, अर्घाखाँची र बागलुङलगायतका जिल्लाका बासिन्दालाई सहज विद्युत् सेवा उपलब्धतामा सहयोग पुग्ने अपेक्षा प्राधिकरणले लिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप