बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

दीपकुमार उपाध्यायसहित १९ जनालाई साधारण सदस्यसमेत नरहने गरी निष्कासनको सिफारिस

बुधबार, ०६ फागुन २०८२, ११ : ३४
बुधबार, ०६ फागुन २०८२

सारांश

  • नेपाली कांग्रेस कपिलवस्तुले पार्टीको निर्णयविरुद्ध गएका दीपकुमार उपाध्यायलाई ५ वर्षका लागि साधारण सदस्यबाट निष्कासनको सिफारिस गरेको छ।
  • उपाध्यायका छोरा आशिष शर्माले स्वतन्त्र उम्मेदवारी दिएपछि कांग्रेसले कारबाही गरेको हो, उनी कपिलवस्तु-१ मा उम्मेदवार छन्।
  • कारबाही सिफारिसमा उपाध्यायसहित १९ जना परेका छन्, जसमा क्षेत्रीय सभापति र अन्य नेताहरू पनि छन्।

काठमाडौँ । पार्टीको आधिकारिक निर्णयविरुद्ध छोरा आशिष शर्मालाई स्वतन्त्र उम्मेदवार बनाएको भन्दै नेपाली कांग्रेस कपिलवस्तुले पार्टीका पूर्वकेन्द्रीय सदस्य दीपकुमार उपाध्यायलाई ५ वर्ष साधारण सदस्यसमेत नरहने गरी कारबाहीको सिफारिस गरेको छ । 

उपाध्यायका छोरा आशिषले कपिलवस्तु–१ मा स्वतन्त्र उम्मेदवारी दिएका छन् । उपाध्याय पूर्वमन्त्री, पूर्वसांसद र भारतका लागि नेपालका पूर्वराजदूत पनि हुन् ।

कांग्रेस कपिलवस्तु जिल्ला कार्यसमितिको मंगलबार बसेको बैठकले उपाध्याय, बागी उम्मेदवार आशिष, पार्टीका कपिलवस्तु प्रतिनिधिसभा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति अब्दुल मन्नान खाँसहित १९ जनालाई ५ वर्ष साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न लुम्बिनी प्रदेश कार्यसमिति र केन्द्रीय अनुशासन समितिमा सिफारिस गरिएको जिल्ला सभापति अब्दुल कलामले जानकारी दिए ।

 ‘जिल्ला अनुशासन समितिको निर्णय बमोजिम पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने आशिष शर्मा, पार्टीका पूर्वकेन्द्रीय सदस्य दीपकुमार उपाध्याय, प्रतिनिधिसभा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति अब्लुल मन्नान खाँसहित १९ जनालाई कारबाही सिफारिस गरेका छौँ,’ कलामले रातोपाटीसँग भने, ‘उहाँहरूलाई ५ वर्ष साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न पार्टीको लुम्बिनी प्रदेश समिति र केन्द्रीय अनुशासन समितिमा सिफारिस गरेका छौँ ।’

कांग्रेसले यो क्षेत्रमा अतहर कमल मुसलमानलाई उम्मेदवार बनाएको छ । कांग्रेस कपिलवस्तु जिल्ला अनुशासन समितिको फागुन ३ गतेको बैठकले पार्टीको विधानको धारा ३४ को उपधारा ४ (क) र (ख) बमोजिम पार्टीको साधारण सदस्य समेत नरहने गरी पाँच वर्षका लागि निष्कासन गर्न जिल्ला कार्यसमितिमा सिफारिस गरेको थियो । त्यही सिफारिस अनुरूप निर्णय गरी कारबाहीका लागि सिफारिस गरिएको सभापति कलामले जानकारी दिए ।

कारबाही सिफारिस गर्नेमा महासमिति सदस्यहरू राजेशबहादुर सिंह, कमल टण्डन र विष्णु प्रसाद न्यौपाने, पार्टी जिल्ला सदस्य हरिराज घिमिरे, दुर्गा केसी, कमलराज आचार्य, डोलकराम घिमिरेसहित छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप