शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
कांग्रेसकाे प्रतिज्ञा

गगनको ‘टिम नेपाल’ अवधारणा, जसले हराउने छ कुशासन, गरिबी र बेरोजगारी

राजनीतिक र विकासको शैली बदल्ने प्रतिज्ञा
बुधबार, ०६ फागुन २०८२, २० : ३३
बुधबार, ०६ फागुन २०८२

सारांश

  • नेपाली कांग्रेसले मधेस प्रदेशबाट 'टिम नेपाल' अवधारणा ल्याएको छ, जसले देशको राजनीतिक र विकास शैली बदल्ने प्रतिज्ञा गरेको छ।
  • कांग्रेस सभापति गगन थापाले मधेसलाई अन्नको भण्डार र ज्ञानको पाठशालाको रूपमा पुनःस्थापित गर्ने संकल्प लिए, मधेससँगको सम्बन्धलाई बेटा र माटोको रूपमा व्याख्या गरे।
  • कांग्रेसले मधेसका किसानका समस्या समाधान गर्ने र वैदेशिक रोजगारीमा रहेका युवाहरूका लागि विशेष योजना ल्याउने घोषणा गरेको छ।

काठमाडौँ । नेपाली कांग्रेसले मधेस प्रदेशबाट ‘टिम नेपाल’को अवधारणा ल्याएको छ । बुधबार कांग्रेसले प्रतिज्ञापत्र ल्याउँदै देशको राजनीतिक र विकासको शैली बदल्ने ‘प्रतिज्ञा’ गरेको छ । 

सभापति गगन थापाले कांग्रेस एक्लैले देश बदल्न नसक्ने स्वीकार गर्दै  ‘टिम नेपाल’ को अवधारणा ल्याए। थापाकाअनुसार यो टिमले अर्को पार्टीलाई होइन, बरु नेपालको कुशासन, गरिबी र बेरोजगारीलाई हराउनेछ ।

उनले ३२ जना उम्मेदवारहरूलाई घर–घर गएर ‘बदलिएको कांग्रेस’ को सन्देश प्रवाह गर्न निर्देशन समेत दिए ।

मधेसलाई ‘अन्नको भण्डार र ज्ञानको पाठशाला’ को रूपमा पुनःस्थापित गर्ने संकल्पसहित थापाले अब कांग्रेसले केवल घोषणापत्र मात्रै नछाप्ने, बरु प्रत्येक शब्दको अक्षरशः पालना गर्ने प्रतिबद्धता जनाए।

उनले मधेससँगको सम्बन्धलाई राजनीतिक लाभ–हानीभन्दा माथि उठेर ‘बेटा र माटो’ को सम्बन्धका रूपमा व्याख्या गरे ।

थापाले मधेसी पहिचान र सम्मानको मुद्दालाई गम्भीरताका साथ उठाए । ‘म यहाँ मधेसको नेता हुन होइन, बेटा हुन आएको हुँ,’ भन्दै उनले थपे, ‘मेरो नसामा मधेसी आमाको रगत नहोला, तर मेरो छातीमा दुर्गानन्द झाको शाहस र आँखामा महेन्द्र नारायण निधिको सपना छ ।’ उनले अब सिंहदरबार छिर्दा मधेसीले आफ्नो धोती–कुर्ता लुकाउनु नपर्ने र गर्वका साथ ‘हम मधेसी छी’ भन्न सक्ने वातावरण कांग्रेसले निर्माण गर्ने उद्घोष गरे ।

राजा जनकले सीताको विवाहका लागि लिएको प्रतिज्ञा र भगवान रामले धनुष उठाएर गरेको विजयलाई स्मरण गर्दै थापाले कांग्रेसको आगामी यात्रा ‘प्रतिज्ञा’ मा आधारित हुने बताए। ‘

यो शक्तिको विजय मात्र होइन, यो प्रतिज्ञाको विजय हो,’ थापाले भने, ‘आज म जे बोल्दै छु, यो प्रतिज्ञा हो । सरकारमा हुँदा होस् वा सडकमा, कांग्रेस आफ्नो प्रतिज्ञाबाट एक इन्च पनि पछि हट्नेछैन । हामीले २७ वटा क्षेत्रमा ७ वर्ष लगाएर अध्ययन गरी यो प्रतिज्ञा तयार पारेका छौँ ।’

थापाले मधेसको खस्कँदो शैक्षिक स्तरप्रति चिन्ता व्यक्त गर्दै गणित र विज्ञानको पढाइ सुधार्ने विशेष योजना अघि सारे । स्वास्थ्य क्षेत्रमा उहाँले ‘एक रुपैयाँ तिर्नु नपर्ने’ स्वास्थ्य बीमा प्रणालीको ग्यारेन्टी गरे। कतारमा पसिना बगाएर कमाएको पैसा आमाको उपचारमा सकिने दिनको अन्त्य गर्ने उनको सङ्कल्प छ ।

‘कुनै बेला पहाडका मान्छे गणित सिक्न मधेस आउँथे, आज यहाँकै विद्यालय कमजोर छन्,’ उनले भने ।

मधेसका उखु र आलु किसानको समस्यालाई नजिकबाट नियालेको बताउँदै थापाले यस दशकलाई ‘किसानको दशक’ बनाउने घोषणा गरे । वैदेशिक रोजगारीमा रहेका युवाहरूका लागि सरकारले दूतावासमार्फत विशेष हेरचाह गर्ने र उनीहरू फर्कँदा कुनै न कुनै व्यवसायको मालिक बन्ने वातावरण निर्माण गर्ने योजना उनले सुनाए।

‘४ खर्बको कृषि उपज आयात गर्ने देशलाई हामी आफ्नै उत्पादनले आत्मनिर्भर बनाउनेछौँ’ उनले भने ।

यस्तै नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको विद्यमान राजनीतिक र सामाजिक परिस्थितिलाई सम्बोधन गर्न नेपाली कांग्रेस ‘नयाँ अवतार’ मा मधेस आएको उद्घोष गरे।

मधेसको ऐतिहासिक र उर्वर भूमिबाट देशवासीलाई सम्बोधन गर्दै शर्माले आगामी निर्वाचन केवल सत्ता प्राप्तिको माध्यम मात्र नभई सङ्कटमा परेको देशलाई सम्हाल्ने र नागरिकको घाउमा मलम लगाउने महायज्ञ भएको बताए।

मधेसी भाषामा समेत सम्बोधन गर्दै शर्माले रूपान्तरणको सुरुवात आफैँबाट हुनुपर्नेमा जोड दिए। ‘यहाँ यदि संसार बदल चाहै छि, देश बदल चाहै छि त सबसे पहिले अहाँ बदलु,’ (यदि तपाईं संसार र देश बदल्न चाहनुहुन्छ भने पहिले आफैँ बदलिनुस्) भन्दै उनले कांग्रेस कार्यकर्ताहरूलाई नयाँ सोचका साथ जनताको बिचमा जान निर्देशन दिए ।

उनले आगामी फागुन २१ गतेसम्म पुग्दा सिङ्गो देश ‘रुख’ र ‘गाछी’ (रुखको मधेसी शब्द) को मनोविज्ञानमा गोलबन्द हुने दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप