बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जेलबाट छुटेपछि राजपाल यादवको बिलौना, ‘जुनसुकै भूमिका र पारिश्रमिकमा काम गर्न तयार छु’

बिहीबार, ०७ फागुन २०८२, १० : ०८
बिहीबार, ०७ फागुन २०८२

सारांश

  • हाँस्य कलाकार राजपाल यादव चेक बाउन्स प्रकरणमा ३० दिनको अन्तरिम जमानतमा जेलबाट छुटेका छन्।
  • उनले फिल्मकर्मीहरूसँग राम्रो भूमिकाको लागि आग्रह गर्दै दर्शकको मायाको कदर गरे।
  • २०१० मा फिल्म बनाउन लिएको ऋण तिर्न नसक्दा यादव आर्थिक संकटमा परेका थिए।

मुम्बई । चेक बाउन्स प्रकरणमा ३० दिनको अन्तरिम जमानत पाएर जेलबाट बाहिर आएका बलिउडका चर्चित हाँस्य कलाकार राजपाल यादवले चलचित्र उद्योगसँग कामको अपिल गरेका छन्। दिल्ली उच्च अदालतले राहत दिएपछि कारागारमुक्त भएका उनले आफूलाई फेरि एकपटक राम्रो भूमिका दिएर साथ दिन फिल्मकर्मीहरूलाई आग्रह गरेका हुन्। 

जेलबाट निस्किएलगत्तै सञ्चारमाध्यमसँग कुरा गर्दै उनले आफ्नो फिल्मी यात्रामा दर्शकले दिएको मायाको कदर गर्दै अब नयाँ ढङ्गले अघि बढ्न चाहेको बताए। राजपालले आफूलाई उद्योगमा राम्रो भूमिकाको खाँचो रहेको र विगतमा सहयोग गर्नेहरूले फेरि पनि हात थामिदिने विश्वास व्यक्त गरे। 

उनले कामका लागि निर्माता-निर्देशकले जति पारिश्रमिक तोके पनि आफू स्वीकार गर्न तयार रहेको भन्दै कामको भोक रहेको स्पष्ट पारे। सामाजिक सञ्जालमा आफ्नो समर्थन गर्ने र आलोचना गर्ने दुवै पक्षलाई धन्यवाद दिँदै उनले सबैको आशीर्वादकै कारण आफू यहाँसम्म आइपुगेको उल्लेख गरे।

उनको यो संकटको सुरुवात सन् २०१० बाट भएको हो, जब उनले ‘अता पता लापता’ फिल्म बनाउन ५ करोड भारु ऋण लिएका थिए। फिल्म फ्लप भएपछि उनी आर्थिक संकटमा फसे र समयमै ऋण तिर्न सकेनन्। 

ऋण लिँदा दिएका चेकहरू बाउन्स भएपछि उनी विरुद्ध उजुरी परेको थियो। सन् २०१८ मा अदालतले उनलाई दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाएको थियो। 

बिचमा धेरैपटक सम्झौताको प्रयास भए पनि भुक्तानी हुन नसकेपछि उनले फेब्रुअरी ५ मा आत्मसमर्पण गरेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप