कञ्चनपुर–३ का मतदाता भन्छन्– हाम्रो सामान्य आकाङ्क्षा त सुन्दैनन्, ठुला कुराको के विश्वास गर्नु ?
सारांश
- कञ्चनपुर क्षेत्रका उम्मेदवारहरूले मतदातालाई सुक्खा बन्दरगाह निर्माणलगायतका एजेन्डा सुनाइरहेका छन्।
- मतदाताहरू भने ठूला र महत्त्वाकाङ्क्षी एजेण्डाभन्दा पनि सामान्य आवश्यकता पूरा नभएको गुनासो गर्छन्।
- स्थानीय बासिन्दाहरूले रोजगारीको अभाव, हात्ती आतंक र नेताहरूको आश्वासन पूरा नभएकोमा चिन्ता व्यक्त गरे।
कञ्चनपुर । प्रतिनिधि सभाको निर्वाचन मिति नजिकिँदै गर्दा उम्मेदवारहरू आ–आफ्ना एजेन्डा बोकेर मतदाताको विश्वास जित्न जोडतोडले प्रयास गरिरहेका छन् ।
यसै सन्दर्भमा कञ्चनपुर क्षेत्र नम्बर ३ मा प्रमुख राजनीतिक दलका उम्मेदवारहरू सुक्खा बन्दरगाह निर्माण सम्पन्न गराउन भूमिका निर्वाह गर्ने एजेन्डा मतदातालाई सुनाइरहेका छन् । उनीहरू मझगाउँ विमानस्थल सञ्चालन गराउने, महाकाली नदीमा निर्माण भएको चार लेन पक्की पुलको चारै कुनामा निर्माण भएको पोखरीलाई तालका रूपमा विकास गरी पर्यटक भित्र्याउने लगायतका एजेन्डा बोकेर विभिन्न वडाका मतदातासँग भोट मागिरहेका छन् ।
मतदाताहरू भने लामो समयदेखि आफूहरूका सामान्य आकाङ्क्षा समेत सम्बोधन हुन नसकेको भन्दै ठुला र महत्त्वाकाङ्क्षी एजेण्डाले आकर्षित गर्न नसकेको बताउँछन् ।
बुधबार नेकपा एमालेका उम्मेदवार दीपक प्रकाश भट्टले दोधारा चाँदनी नगरपालिका–१० मा आयोजित कोणसभालाई सम्बोधन गर्दै आफ्ना एजेन्डा सुनाइरहेका थिए । भट्ट सहभागी भएको कार्यक्रमस्थलबाट करिब डेढ सय मिटरको दुरीमा रहेको बारीमा उखु काटिरहेका हर्कबहादुर थापा क्षेत्रीका दम्पतीलाई भने आफ्नै कामको चटारो थियो ।
दोधारा चाँदनी–१०, गुरुङ टोल निवासी क्षेत्री दम्पतीलाई आफ्नो घर छेउमा कुन पार्टीको उम्मेदवार आयो र के–कस्ता एजेन्डा सुनायो भन्ने चासो नै देखिएन ।
‘आफ्नै घर छेउमा उम्मेदवार आएर आफ्ना कुरा राख्दैछन्, तपाईंहरूले सुन्नु पर्दैन ? उनीहरूका कुरा नै नसुनी के आधारमा भोट दिनुहुन्छ ?’ हर्कबहादुरलाई हामीले प्रश्न ग-यौँ ।
जबाफमा उनले नेताहरूको कुरा सुनेर केही उपलब्धि नहुने भन्दै निराशा प्रकट गरे । ‘चुनावका समयमा आउँछन्, ठुला–ठुला कुरा गर्छन्,’ उनले भने, ‘चुनाव जितेपछि के–कसो छ भनेर कोही हाम्रा कुरा सुन्न आउँदैनन्, हामीले खोज्दा पनि उनीहरूलाई भेटिन्न ।’
यसअघिका निर्वाचनमा पनि यसरी उम्मेदवारहरूले विभिन्न आश्वासन दिने गरेका हर्कबहादुरले सुनाए । उनले भने, ‘भाषण सुनेकै भरमा हाम्रो जीवनस्तर परिवर्तन हुन्थ्यो भने त अहिलेसम्म हाम्रो अवस्था धेरै सुध्रिसक्नु पर्दथ्यो नि ! हाम्रा दुःख जस्ताको तस्तै छ ।’

यद्यपि, हर्कबहादुरले भनेजस्तो दोधारा चाँदनी नगरपालिका क्षेत्रमा विकासका कुनै काम नै नभएको भने होइन । कुनै समय नेपालकै अन्य भूभागसँग सडक यातायात नजोडिएको यो क्षेत्र अहिले महाकाली नदीमा चार लेनको पुल निर्माण भएपछि तुलनात्मक रूपमा सुविधा सम्पन्न ठाउँ बनेको छ । यहाँका कतिपय सडक कालोपत्रे भइसकेका छन् ।
हर्कबहादुरलाई सडक तथा पुल निर्माणमात्र विकास हो भन्ने लाग्दैन । उनले भने, ‘हामीजस्ता किसान र गरिखाने वर्गका लागि जीविकोपार्जनलाई सहज बनाउनेतिर राज्यले खोइ ध्यान दिएको ?’
३ छोरा र ५ छोरीका पिता उनको करिब ३ बिघा जमिन छ । स्वदेशमा रोजगारीका अवसर नहुँदा छोरा भारततिर मजदुरी गर्न जानु परेको गुनासो उनले सुनाए । ‘यति जमिन भएर पनि यहीँ गरिखान्छु भन्दा खान–लाउन पुग्दैन र कमाउनका लागि युवाहरू भारततिरै पस्नुपर्छ भने विकास भयो भनेर हामीले के आधारमा भन्ने ?’ उनले गम्भीर प्रश्न गरे ।
बर्सेनि बाढीको समस्या निम्तिने गरेको हर्कबहादुरले सुनाए । ‘हाम्रो टोलमा करिब १५ घर–परिवारका लागि बाटोको समस्या छ । बाटोका लागि जग्गा दिन्छु, बनाइदेऊ न भन्दा पनि कोही सुन्दैनन्,’ उनले भने ।

भीमदत्त नगरपालिका–९, ब्रह्मदेवका दत्ते खड्का पनि चुनावप्रति उत्साह लाग्न छाडेको बताउँछन् । नदीमा बालुवा चालेर जीविका चलाउँदै आएका उनले पनि रोजगारीको समस्याले परिवार छिन्नभिन्न हुनु परेको बताए । ‘छोरा–बुहारी मजदुरी गर्न भारततिर गएका छन्,’ उनले भने, ‘म यतै नदीमा बालुवा चालेर गुजारा चलाउँदै आएको छु । पेट पाल्न पनि साह्रै गाह्रो छ ।’
भीमदत्त नगरपालिका–५, सुखासालकी सीतादेवी लोहारले चुनावका समयमा नेताहरूले मतदातालाई आश्वासन ‘दान’ गर्ने र मतदाताले तिनै उम्मेदवारलाई आफ्नो भोट ‘दान’ गर्नेबाहेक अरु कुनै उपलब्धि नभएको बताइन् । ‘यतिका वर्षदेखि मैले भोट दिँदै आएको छु,’ उनले भनिन्, ‘यो पटक पनि गरिखाउन्, भोटचाहिँ दान नै गर्छु ।’

यद्यपि, नेताहरूको कुरा सुन्न आफू कतै नजाने उनको भनाइ छ । ‘उनीहरूको आश्वासन पूरा हुने भए पो ! अहिलेसम्म कसले पूरा गरेको छ र ?’ उनले प्रश्न गरिन् ।
सीतादेवीलाई पनि रोजगारीको समस्या विकराल हुँदै गएको अनुभूति भइरहेको छ । ‘घरको कोही न कोही कमाउनका लागि भारत वा कतार, साउदी, मलेसिया जानु परेको छ,’ उनले भनिन्, ‘अनि यी नेताहरू देश विकास गर्छु भन्छन् । उनीहरूले विकास गर्छु भनेको आजदेखि हो र ?’

भीमदत्त–१६, नयाँ बस्तीका चेतराम राना पनि नेताहरूको बोली र व्यवहारमा धेरै भिन्नता रहने बताउँछन् । सैलुन व्यवसाय गर्दै आएका उनी जनताको समस्या बुझेर काम गरिदिनेलाई ‘असल नेता’ भनिने तर त्यस्तो नेता आफूले अहिलेसम्म नपाएको बताउँछन् ।

आफ्नो टोलमा हात्ती आतङ्क बढेको, रातदिन त्रासमा बाँच्नु परेको रानाले सुनाए । ‘हामी कसरी रात कटाउँछौँ भन्ने कुरा यी कुनै नेताले महसुस गरेका छन् र ?’ उनले भने, ‘हात्ती आउने हो कि भनेर कुनै रात राम्ररी निदाउन सक्दैनौँ हामी । हाम्रोलागि त हात्ती आतङ्क रोकथाम नै सबैभन्दा ठुलो मुद्दा हो नि ! बरु अरु कुरा नभए पनि दुःख–सुख गुजारा होला, आज मरिन्छ कि भोलि भनेर त्रासमा बस्नुपर्दा कस्तो हुन्छ भन्ने हामीले नै भोगेका छौँ ।’
हरेक चुनावमा नेताहरूले हात्ती आतङ्क रोकथाम गर्ने प्रतिबद्धता जनाउने गरेको तर समस्याको समाधान हुन नसकेको उनले सुनाए । केही दिन अघिमात्र आफ्नो टोलमा हात्ती आएर तहसनहस पारेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
-
विश्वकपमा केप भर्डेको सनसनी, इतिहास रच्ने संघारमा
-
इजरायली प्रधानमन्त्रीका दाजु ५० वर्षअघि कुन मिसनमा मारिएका थिए ?
-
जिप्रका रूपन्देहीद्वारा २७ हजार ४६२ नागरिकता वितरण
-
फिल्म ‘रोल नं १’ ले डेढ करोड बढी कमाउँदा ‘कुम्भ’ ले कमायो ४ लाख !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण