सत्य एक कि अनेक ?
नेपालीमा एउटा उखानै छ, ‘देख्नेका आँखा फुटे, सुन्नेका सही’ । यस भनाइको तात्पर्य हो सुनेको भन्दा देखेको कुरा सत्य हो । कसैको मौखिक भनाइ र सुनेका कुरालाई प्रमाणका आधारमा लिनुपर्दा समय, सन्दर्भ, स्थान आदि उल्लेख गरेर लिपिबद्ध गरिन्छ । विद्यार्थीको सिकाइ परीक्षण गर्न लिखित वा मौखिक परीक्षा लिइन्छ । कुनैबेलाका केही घटना नबिर्सनका लागि समय, सन्दर्भ र स्थानसहित लेखेर राखिन्छ । कानुनमा यस्तोलाई अकाट्य सत्य मानिन्छ ।
हामी केही कुरा आफैँले देखेको वा सुनेको भनेर सत्य हो भन्छौँ । यस्तो विषयले कहिलेकाहीँ वैमनस्यता बढाउँछ । सत्य हो र होइन भनेर जिद्दी गर्छौँ । आत्मज्ञानीहरू भन्ने गर्छन् जन्म र मृत्यु पनि सत्य होइन । जन्म र मृत्यु शरीरको हुन्छ, जीवको होइन । जन्म भनेको आत्माले नयाँ लुगा फेरेको र मृत्यु भनेको पुरानो लुगा फालेको हो भनिन्छ ।
आत्मज्ञानीहरूकै भनाइ हो, ‘ब्रह्म सत्य जगत् मिथ्या’ अर्थात् यो जगतमा पहिले जे थियो, अहिले जे छ र पछिसम्म जे रहन्छ त्यही सत्य हो । त्यसैले भनिन्छ ब्रह्म अर्थात् आत्मा स्वरूप ‘म’ सत्य हो ‘शरीर अर्थात् जगत्’ सत्य होइन ।
यी त भए हामी सर्वसाधारणले बुझ्न कठिन कुरा । सत्य यही मात्र हो र होइन भन्नुभन्दा सबैले बुझ्ने केही उदाहरणबाट हेरौँ । जुन कुरा हामीले दैनन्दिन व्यवहारमा भोगिरहेका छौँ ।
- फरक–फरक वा धेरै वटा सत्य
वास्तवमा हामी आफैँले देखेका कुरा सधैँ सत्य हुन्छ त ? बिहान सूर्य उदाउँदा रातो रोटीजस्तो देखिएको थियो । नाङ्गो आँखाले हेर्न सकिन्थ्यो । तातो महसुस भएको थिएन । त्यसको केही समयपछि अर्थात् दिउँसो १२ बजे सूर्यलाई हेर्न सकिँदैन । त्यतिबेला रातो हुँदैन । तातो महसुस हुन्छ । बिहानको सत्य कहाँ गयो । रातो, ताप नभएको, आँखाले हेर्न सकिने सूर्य बिहान सत्य थियो, दिउँसो छैन । यसमा कुन अवस्था सत्य र कुन असत्य भन्ने ?
यसैगरी सबै देशमा जनवरी/फेब्रुअरी अर्थात् पुस–माघमा चिसो हुन्छ भन्ने छैन । उत्तरी गोलार्ध (नेपाल) मा बेसरी जाडो भएको बेला दक्षिणी गोलार्ध (अष्टे«लिया) मा उखुम गर्मी हुन्छ । ऋतु पनि विपरीत प्रकृतिका हुने नै भए । नेपालमा जनवरी÷फेब्रुअरी महिनामा चिसो हुने सत्य अष्ट्रेलियामा असत्य भयो । यसैगरी दिशा पनि सबैका लागि एउटै हुँदैन । मानौँ: हाम्रो र छिमेकीको घर जोडिएको छ । तेस्रो व्यक्तिका लागि हामी दुबैका घर एउटै दिशामा पर्छन् । तर त्यही घर जोडिएको छिमेकी र हाम्रा लागि हामी दुवैको घर विपरीत दिशामा छन् ।
यस्तै पानीको सन्दर्भलाई लिऊँ । हरप्राणीका लागि पानी नभई नहुने कुरा हो । पानी नभए जीवको प्राण रहँदैन । तर पानीबाट बनेको हिउँमा धेरैबेर बस्दा काट्ठिएर मरिन्छ । गहिरो पानीमा बस्दा डुबेर मरिन्छ । त्यही पानी खान नपाए शरीर मर्छ । यी सबै सन्दर्भ सत्य हुन् । तर यहाँ पानीको मात्रा र रूपले सत्यमा तात्त्विक फरक पर्न गयो ।
त्यस्तै अर्को उदाहरण लिऊँ । एउटा मान्छेको नाम नागरिकताको प्रमाणपत्रमा अनिता थियो । उसलाई साथीहरूले अने’ भन्ने गरे, आमाबाबुले अनु’ छोराछोरीले अन्ना’ । धेरै नातेदार र छिमेकीहरूलाई यी सबै नाम थाहा थियो । खास उसको कुन चाहिँ नाम सत्य हो ? उसका लागि सबै नाम वा सम्बोधन सत्य हुन् ।
यसैगरि हामी हाम्रा नातामा हुने सम्बोधनलाई हेरौँ । एउटै मान्छे धेरै वटा हुन्छ । जस्तै बा, हजुरबा, नाति, मामा आदि । वास्तवमा ऊ जे हो, त्यही हो अर्थात् सत्य ऊ मात्र हो । अरू सबै बाहिरी आवरण हुन् ।
प्रमाणका आधारमा मानिएको सत्य
यसैगरी देखेको र सुनेको भन्दा भिन्न लक्षणका आधारमा सत्य पहिचान हुन्छ । एकछिन अगाडि बोलिरहेको, हिँडिरहेको मान्छेलाई मृतक भनी घोषणा गरिन्छ । शरीर हेर्दा केही फरक छैन । जिउँदो हुँदा पनि मान्छे नबोल्न, नहिँड्न सक्छ । नबोल्दैमा र नहिँड्दैमा मृतक भनिँदैन ।
मृतक र जीवित छुट्याउन उसको शरीर तातो छ कि छैन ? सास फेरेको छ कि छैन जस्ता कुराको आधार लिइन्छ । त्यसैगरी प्रविधि मार्फत थप परीक्षण गरेर विज्ञले मृतक घोषणा गर्छन् । शरीर त्यहीँ हुन्छ तर शरीर भित्र रहेको ‘ऊ’ हुनुको अस्तित्व सकियो । यो कुरा देखेको, सुनेको वा अनुमान गरेको होइन । प्रमाण र लक्षणको आधार लिइएको हो ।
परोक्ष सत्य
अर्को गहन विषय छ प्रेम, घृणा, चिन्ता, खुसी, क्रोध आदि कुराहरूलाई कसरी बुझ्ने ? न देखिन्छ, न सुनिन्छ, न ठोस प्रमाण देखाउन सकिन्छ । तर यिनै भावले प्राणीमा हाँसो, रोदन, खुसी, बेखुसी प्यार, घृणा आदि प्रकट हुन्छ । आमाबाबुले वा कसैले प्रेम गरेको कुरा कसरी थाहा पाउने ? त्यसैगरी मैले अरूलाई कसरी प्रेम गरेँ ? आमाबाबुले सुताउने, उठाउने, खुवाउने, चुठाउने काम गरे तर प्रेम कहिले, कसरी दिए ?
यहाँ प्रेम देखेको, सुनेको वा प्रमाणका आधारमा भनेको पनि होइन । भित्र कतै उब्जिएको अमूर्त भावलाई बाहिर प्रकट भएको भौतिक व्यवहारलाई आधार लिइयो । यो अभौतिक अर्थात् परोक्ष कुराको प्रमाण भौतिक रूपमा हेर्न खोजियो । तर प्रेम गर्नेको मनमा के छ त्यो भने हेर्न सकिँदैन । हृदयमा प्रेम नभए पनि बाहिर देखाएको मात्र हो कि ? यसमा सत्यका लागि लिइएको आधार ठिक कि बेठिक ?
सङ्गत गुनाको सत्य
हामीले ३ र २ कति हुन्छ भनेर सोध्दा कसैले पाँच भन्ला, कसैले बत्तिस । यी दुवै उत्तर सत्य हुन् । यसैगरी तीन र दुईका बिचमा जोड, घटाउ, गुणन वा भाग चिन्न राखिएमा उत्तरहरू धेरै फरक पर्छन् । अङ्गका बिचमा राखिएका सङ्केतहरू परिस्थिति वा सङ्गत हुन सक्छन् । यसैगरी अङ्गमा शून्य भनेको केही होइन पनि भनिन्छ । तर यी दुई अङ्कका बिचमा, अगाडि वा पछाडि शून्य राखिदिए त्यसको योगफल कति कति ? त्यसैले सत्यलाई संगतले बदलिदिने रहेछ ।
वास्तविकता विना मानिआएको सत्य
केही कुराहरू नदेखे पनि देखेको भ्रममा छौँ हामी । सूर्यको प्रकाश देखेका छौँ । त्यही प्रकाशलाई सूर्य भन्छौँ । भनिन्छ, सूर्य प्रकाशको पुञ्ज हो । आगोको मसाल घुमाउँदा गोलो रिङजस्तो बन्छ । वास्तवमा मसालको त्यो आगो गोलो हुँदैन । केन्द्रबाट फैलिएको प्रकाशले गर्दा त्यसैगरी गोलो सूर्य पिन गोलो देखिएको पनि त हुनसक्छ ।
यस्तै हो आकाश र समुद्रको रङ्क पनि । हामी रहेको आकाश नीलो छैन् । न त समुद्रको पानी निलो छ । तर हामी समुद्र, आकाश नीलो छ भन्छौँ । आकाशमा हामी र सम्पूर्ण जगत् छ । यही आकाशमा सुत्छौँ, बस्छौँ, उभिन्छौँ । तर आकाश भन्ने बित्तिकै माथितिर हेर्दछौँ । के यो सत्य हो ?
अनुभूतिले दर्साएको सत्य
माथिका सबै उदाहरणहरू भए बाहिरी जगतका । यसमा आफ्नै शरीरलाई हेरौँ । हामीले शरीर देखेका छौँ । शरीर भित्र रहेको मन, भावना, चेतना देखेका छैनौँ । नदेखे पनि छैन भन्न सक्दैनौँ । मन चल्छ, भाव आउँछ, चेतनाले गर्दा थाहा पाइरहेका हुन्छौँ । यो कुरा हामी सबैले अनुभव गर्दै आएका छौँ । हामीले लिइरहेको श्वास आफै आउँछ, जान्छ । तर हामीलाई आफैँले चलाएका छौँ भन्ने भ्रम छ ।
आफूले चलाएको भए मस्त निद्रामा श्वास कसरी चल्यो ? जाग्रत अवस्थामा श्वास चलेको थाहा पाएपनि श्वास ग्रहण गर्ने ऊर्जा देखेका छैनौँ । शरीरमा ऊर्जा लिने शक्ति नभए हावाको पोखरीमा बसेका छौँ तापनि श्वास लिन सकिँदैन । कहिलेकाहीँ कसैलाई अक्सिजनको कृत्रिम आपूर्ति पनि गरिएको हुन्छ । तर पनि व्यक्ति श्वास लिन सक्दैन । त्यसैले आफू हुनुको अस्तित्वमा रूपमा रहेको ऊर्जाको अनुभूतिले भएकोले म छु भन्ने सत्य मानेका छौँ ।
अन्त्यमा, सत्य भन्ने कुरा देखेको, सुनेको, बुझेको, आफूले मानेको मात्र होइन रहेछ । न त सबैको लागि सधैँ एउटै सत्य हुँदो रहेछ । व्यक्ति–व्यक्ति, समाज, देश र विश्वमा यही कारणले झगडाहरू भइरहेका हुन्छन् । जन्मेको, निर्माण गरिएको अर्थात् बनाइएको कुरा परिवर्तन भइरहन्छ ।
वास्तवमा सत्य निरपेक्षित नभएर सापेक्षित विषय रहेछ । वास्तवमा सृष्टि भएका प्रकृतिका विषयहरू निरपेक्ष रूपमा सत्य रहेनछन् । सत्यलाई समय, सन्दर्भ, स्थान, समाज, सोच, परिस्थिति, ज्ञान र अज्ञान आदि कारणले फरक पार्ने रहेछ ।
अरू जहाँ, जतिसुकै, जे, जे भएपनि सृष्टि गर्ने सर्जकको क्षमता अर्थात् ऊर्जा मात्र सत्य रहेछ ।
(लेखक जीवन विज्ञान प्रतिष्ठानकी प्रशिक्षक हुन्)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण