परम्परागत दलको पकड क्षेत्र कर्णालीलाई रास्वपाको 'वाचा'
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुर्खेतमा गरेको सभामा अपेक्षाभन्दा बढी मानिसको उपस्थिति रह्यो।
- रास्वपाका नेताहरूले कर्णालीमा परिवर्तनको संकेत गर्दै पुराना दलहरूलाई चुनौती दिए।
- बालेन साहले कर्णालीको विकास र समृद्धिको लागि रास्वपाको प्रतिबद्धता व्यक्त गरे।
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित घण्टाघरमा ‘हामी आयौँ,’ ‘परिवर्तन उद्घोष सभा’ गर्यो । उक्त सभामा स्वयं रास्वपाकै नेताहरुले अनुमान गरेभन्दा बढी उपस्थिति देखियो ।
सुरक्षा निकायका अनुसार सभामा १०-११ हजार मान्छे सहभागी भएका थिए । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी मोहनजंग बुढाथापाले उक्त संख्या अनुमान गरे भन्दा धेरै नै हो । यद्यपि रास्वपाका नेताहरुले भने उपस्थितिको संख्या अझै धेरै भनेका छन् ।
कार्यक्रमस्थलमै रास्वपा सुर्खेत जिल्ला सभापति रमेशकुमार सापकोटाले नसोचेको संख्यामा मान्छेको उपस्थिति भएको रातोपाटीलाई बताए । ‘यो उपस्थितिले परम्परागत राजनीतिक दलहरुको बाजा बज्ने संकेत हो, परिवर्तनको संकेत हो,’ उनले भने ।
सापकोटाले भनेजस्तै कर्णाली परम्परागत राजनीतिको थलोको रुपमा चिनिन्छ । यहाँ कुनै बेला नेमकिपा, ६० को दशकपछि तीन पुराना दल माओवादी (हाल नेकपा), कांग्रेस र एमालेको दबदबा क्षेत्र हो । माओवादी सशस्त्र युद्धको आधार इलाका नै थियो यो क्षेत्र । यसअघिसम्म यहाँ यिनै तीन राजनीति दलहरुबिच नै चुनावी प्रतिस्पर्धा हुने गरेको थियो । तर यिनै परम्परागत राजनीति दलहरुको थलोका रुपमा रहेको कर्णाली क्षेत्रमा नयाँ राजनीतिक दल रास्वपाको शक्ति प्रदर्शनले पुराना दलहरुलाई धक्का दिनसक्ने संकेतमा रुपमा विश्लेषण गरे, सभामै भेटिएका रास्वपामा आस्थावान् दैलेखका प्रेम बुढाले ।
‘तपाईंले पनि बाहिर र भित्र फिल्ड हेर्नुस् त यसरी स्वःस्फूर्त मान्छेहरू कहिल्यै आएका थिए ?,’ उनले पत्रकारलाई उल्टै प्रश्न गरे, ‘यो पुराना दलहरुले देशमाथि गरेको बेथिति, भ्रष्टाचारका विरुद्ध उठेको नागरिक आवाज हो ।’

उनले भने जस्तै घण्टाघररको भित्री ग्राउन्डमा नै हजारौँ मान्छेहरु कोचाकोच अवस्थामा थिए, पश्चिमतर्फको सडक, पूर्वतिरको प्रहरी चौकी, नगरपालिकादेखि विश्वविद्यालयको छेउसम्म मान्छेहरु यत्रतत्र थिए । सभासम्म नजर पुग्ने होटल तथा घरका छतबाट पनि कैयौँ व्यक्तिले सभालाई नजर लगाइरहेका थिए । स्थलगत पुग्दा कतिपय पुराना राजनीतिक दलमा आस्थावान, कर्मचारीदेखि बुद्धिजीवीसम्म त्यो सभामा भेटिएका थिए । वीरेन्द्रनगर—११, का ६२ वर्षीय चन्द्रबहादुर सुनार धौ-धौ सभास्थलमा छिरेका रहेछन् । उनले बालेन साह र रवि लामिछानेलाई हेर्न आएको बताए ।
‘पुराना खतम भया, नयाँकन हेर्नुपर्यो,’ उनले आफ्नै लवजमा भने, ‘केपी, शेरे, प्रचण्डले देश खत्तम पारे, नयाँले केही गर्छन् कि ?’
कांग्रेस-कम्युनिस्टको किल्लामा रास्वपाको धावा
रास्वपाको चुनावी सभा यसअघि अन्य राजनीतिक दलहरुले गर्ने कार्यक्रम भन्दा भिन्न देखियो । १२ बजेबाट कार्यक्रम सुरु हुने भनिएको थियो । रास्वपाबाट उम्मेदवार रहेका सबै क्षेत्रका उम्मेदवार सभामा आइसकेका थिए । तर रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन साह लगायत केन्द्रीय नेताहरुको उपस्थिति २ बजे मात्रै भयो । त्यसअघि बालेनका ‘म नेपाल हाँसेको हेर्न चाहन्छु’ गीत ब्याकग्राउन्डमा बजिरहेको थियो भने उपस्थित मासले त्यसैमा रमाइरहेको थियो ।
फिल्मी स्टाइलमा उनीहरको ‘इन्ट्री’ भएसँगै भिड थाम्नै हम्मेहम्मे पर्यो । प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको थियो । उनीहरुको उपस्थिति भएसँगै पुनः त्यही गीत बज्यो र उनीहरुले घण्टी हल्लाए । प्रायः नेताहरुले छोटो मन्तव्य राखे । आकर्षणको केन्द्रविन्दुमा थिए बालेन । जम्मा ३ मिनेट बोलेका उनले कर्णालीको सभ्यता, इतिहास, यहाँको सम्भावनाको विषयलाई समेटे । उनले शिव र कैलाशको पाउबाट रास्वपाको बाचापत्र पत्र सार्वजनिक गर्न पाउँदा खुसी लागेको बताए ।
देशको सबैभन्दा ठुलो रारा तालबारे तत्कालीन राजा महेन्द्रले लेखेको कविता ‘स्वर्गकी अप्सरा’ बारे चर्चा गरेर कर्णालीलाई पर्यटनको अथाह सम्भावना भएको क्षेत्रको रुपमा अर्थ्याए । साथै, सबैभन्दा गहिरो ताल शे–फोक्सुण्डो र लामो कर्णाली नदीलाई सम्झिँदै भने, ‘जुन गहिराइलाई आजसम्म कुनै सरकारले, कुनै पार्टीले, यो देशले बुझ्न सकेन, त्यो गहिराइलाई बुझ्न चाहन्छौँ । त्यो गहिराइ बुझ्ने पार्टी हो राष्ट्रिय स्वतन्त्र पार्टी ।’

यहाँको जडिबुटीलाई सुनसँग तुलना गरे भने, ‘यार्सागुम्बा विश्वभरि पुग्न सक्छ तर कर्णालीको स्याउ र मार्सी चामल त्यही चितवन र झापा पुग्न सक्दैन ।’ यहाँको उत्पादनलाई कम्तीमा पनि देशभरि पुर्याउने पार्टी रास्वपा बन्न चाहेको बताए ।
इतिहासलाई लक्षित गर्दै भने, ‘आफैँमा यो सिंजा भ्याली सिभिलाइजेसन, सिंजा उपत्यका सभ्यता भएको ठाउँ, नेपाली भाषाको उद्गमस्थल, खस भाषाको उद्गमस्थल, यहाँ आफ्नै भाषा छ, आफ्नै लिपि छ, आफ्नै चित्रकला छ, आफ्नै नाचगान छ, आफ्नै जात्रा पनि छ । यो सबै भयो भने एउटा सभ्यता मानिन्छ । त्यो सभ्यता जोगाउने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी ।’
कर्णालीको सभ्यतालाई जोगाएर राख्न चाहने पार्टी रास्वपा भएको उनले अर्थ्याए । साथै, कर्णालीको कुपोषण, आमाहरूको मृत्युदरका बारेमा पनि भन्न भ्याए । पुराना दल र नेताहरुलाई सङ्केत गरे- कर्णालीको पीडा, गरिबी र दु:खलाई बेच्ने नेता धेरै आए, त्यो गरिबीलाई बुझ्ने नेता अहिलेसम्म आएनन् । त्यो बुझ्ने नेताका रुपमा रास्वपा अघि सर्ने उनको भनाइ थियो ।
उनले अगाडि भने, ‘यहाँको पर्यटन, यहाँको सम्भावना, यहाँको कृषि, यहाँको खेतीपाती, यहाँको आयआर्जन सबै वृद्धि गर्न पाऔं, तपाईँहरूको आशीर्वाद लिन पाऔं ।’
कर्णालीकै ठेट लवजमा उनले भने, ‘अब कर्णालीका सुइना हाम्मा सुइना ।’ उनका हरेक शब्दमा कर्णालीको इतिहास र वर्तमानभित्र लुकेका कथाहरू भेटिन्थे । उनको छोटो र सबै कुरा समेटिएको मन्तव्यलाई दर्शकदीर्घामा रहेका सबैले मन पराए, ताली बजाए ।
रास्वपाले ‘रूपान्तरणका लागि नीतिगत प्रस्थानका १०० आधार’ समेटेर आफ्नो चुनावी वाचापत्र सुर्खेतबाटै सार्वजनिक गर्यो । रवि लामिछानेले कारण खुलाए, ‘पछाडि पारिएको कर्णालीलाई अब पछाडि पार्न नदिने वाचासहित आजको वाचापत्र सार्वजनिक गर्नुको एउटा प्रमुख कडी हो ।
उनले कर्णालीसँगको आफ्नो विगत स्मरण पनि सुनाए । उनी सञ्चारकर्मी छँदै कर्णालीमा आएका थिए, केही वर्षअघि । उनकै पहलमा कालीकोटको रास्कोटमा अस्पताल बनाइएको थियो ।
त्यो नाता आज बलियो बनेको बनेको स्मरण उनले गरे । उनले उक्त वाचा पूरा नगरे सजाय भोग्ने पनि बताए । ‘त्यसैले नागरिकसँग करार गरेर आएका छौँ,’ उनले भने, ‘त्यसैले म एउटा अफर कर्णालीबाट गर्न चाहन्छु, रोडबाट भए रोडबाट भोटबाट भए भोटबाट आउनुस् । हामी चाहन्छौँ भोटबाट फेर्न । रगतको एउटा थोपा चुहाउन चाहँदैनौँ ।’
कर्णालीका धेरै आमाहरूको काख रित्तिएको र धेरै दिदीबहिनीहरुको सिउँदो पुछिएको बताउँदै लामिछानेले धेरै बालबालिकाहरु टुहुरा भएको पनि स्मरण गरे । उनले भने, ‘अब कर्णालीले त्यो सहँदैन ।‘

रास्वपाका नेताहरुले अन्य दलहरुको नामै किटान गरेर गाली गर्ने, आरोप लगाउने गरेनन्, लामिछानेले भने केही सार्वजनिक रुपमा उठेका प्रश्नको जवाफ दिए । रास्वपाको बाचापत्रमा तीन ठाउँमा कर्णाली समेटिएको छ । जसले रास्वपा कर्णालीप्रति चिन्तित रहेको देखाउँछ । अन्य नेताहरुले पनि रास्वपालाई भोट दिएर सहयोग गर्न आह्वान गरे । सँगै यो पनि भने, ‘पाँच वर्षमा हामीले काम गर्न सकेनौँ भने बरु हाम्रै घण्टी बजाइदिनुहोला ।‘
जनसभाले चुनावमा कस्तो प्रभाव पार्ला ?
जसरी चुनावी सभामा बलियो उपस्थिति देखियो, यस्तो अहिलेसम्म कुनै पनि राजनीतिक दलको कार्यक्रममा देखिएको थिएन । तर उपस्थिति सबैले चुनावमा मत हाल्नेमा आशाङ्का गर्छन्, कार्यक्रम स्थलमा भेटिएका कालीकोटका विजयराज सेजुवाला ।

‘मान्छे त धेरै आए, कोही हेर्न पनि आएका छन्,’ उनले रातोपाटीसँग भने, ‘सबैले भोट हाल्दिए त हो, हाल्दैनन् ।’ यद्यपि पुराना पार्टीलाई भने सचेत गराएको उनको भनाइ छ ।
‘पुराना पार्टीहरुको मतमा ठुलो असर पक्कै गर्छ, तर कर्णालीजस्तो परम्परागत राजनीतिले जरा गाडेको क्षेत्रमा चुनावै जित्ने अवस्था कठिन होला,’ उनको आकलन छ ।
उसो त अहिले रास्वपाले कर्णालीका सबैजसो क्षेत्रमा पार्टी कमिटी गठन गरिसकेको दाबी गरेको छ । त्यसले पनि पुराना दलहरुलाई धक्का दिने बताउँछन्, रास्वपा कर्णाली प्रदेश प्रवक्ता हरि अधिकारी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण