सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

धौलापानीमा गाडी दुर्घटना हुँदा ७ जना घाइते, २ को अवस्था गम्भीर

बिहीबार, ०७ फागुन २०८२, २० : ५९
बिहीबार, ०७ फागुन २०८२

सारांश

  • जुम्लाको धौलापानी क्षेत्रमा ईभी गाडी दुर्घटना हुँदा चालक सहित ७ जना घाइते भएका छन्।
  • जुम्ला बजारबाट नाग्मातर्फ जाँदै गरेको गाडी ट्याक्टरमा ठोक्किएर ३०-४० मिटर तल खसेको थियो।
  • घाइतेहरुलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ।

जुम्ला । कर्णाली राजमार्ग अन्तर्गत तातोपानी गाउँपालिका–६ धौलापानी क्षेत्रमा बिहीबार दिउँसो ईभी गाडी दुर्घटना हुँदा चालक सहित ७ जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी शालीक राम खनालका अनुसार बिहीबार दिउँसो जुम्ला बजारबाट नाग्मा तर्फ जाँदै गरेको भे १ ज ८१८ नम्बरको ईभी गाडी क‍. प्र ०२–००१ त ०१९० नम्बरको ट्याक्टरमा ठोक्किँदा सडकबाट अन्दाजी ३०–४० मिटर तल बारीमा खसेको बताए । 

दुर्घटनामा चालकसहित ७ जना घाइते भएका छन् । घाइते सबैलाई उद्धार गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा उपचारका लागि पठाइएको सूचना अधिकारी खनालले जानकारी दिए । 

घाइते मध्ये तिला गाउँपालिका–१ बस्ने ३५ वर्षीय मेनुका बुढाको निधार र टाउकोमा गम्भीर चोट लागेको छ भने हिमा गाउँपालिका–२ का २२ वर्षीय धर्मेन्द्र रोकायाको मुखमा गम्भीर चोट लागेको बताइएको छ । 

अन्य घाइतेको अवस्था मध्यम र सामान्य रहेको सूचना अधिकारी खनालको भनाइ छ । चालक तातोपानी गाउँपालिका–२ का १९ वर्षीय लोकेश खड्काको खुट्टा र आँखा आसपास चोट लागेको छ। 

यस्तै पातारासी गाउँपालिका–४ का ३२ वर्षीय माया नेपालीको टाउकोमा भित्री चोट लागेको छ भने तातोपानी–३ लिताकोटका ४५ वर्षीय पुनी सुनारको छातीमा चोट लागेको प्रहरीले जनाएको छ । 

साथै, २० वर्षीय टेकन्द्र रावत र २० वर्षीय पारस रावत र हिमा गाउँपालिका–२ का २२ वर्षीय धर्मेन्द्र रोकाया ( निर्वाचन ड्युटीमा खटिएका निर्वाचन प्रहरी) लाई सामान्य र मध्यम प्रकृतिको चोट लागेको छ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी हाँकु जुम्लाबाट प्रहरी टोली खटिएको थियो । दुर्घटनाको कारण बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप