चोरीको मोटरसाइकलका पार्टपुर्जा बेच्ने गिरोह पक्राउ
सारांश
- काठमाडौंको संकटा मन्दिर क्षेत्रबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ परेको छ।
- प्रहरीले मोटरसाइकलका पार्टपुर्जाहरू बेच्दै गरेको अवस्थामा तीन जनालाई बूढानीलकण्ठबाट पक्राउ गरेको हो।
- पक्राउ परेका व्यक्तिहरूले चोरीका मोटरसाइकलका पार्टपुर्जाहरू अन्य मोटरसाइकलमा जडान गर्ने गरेको पाइएको छ।
काठमाडौँ । काठमाडौँको संकटा मन्दिर क्षेत्रबाट मोटरसाइकल चोरी गरी त्यसका पार्टपुर्जाहरू टुक्रा–टुक्रा पारी बिक्री गर्ने र अन्य मोटरसाइकलमा जडान गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका २२ स्थित संकटा मन्दिरको पार्किङबाट चोरी भएको बा.प्र. ०२–०१६ प ६१४३ नम्बरको मोटरसाइकल काटेर पार्टपुर्जा बेच्दै गरेको अवस्थामा बूढानीलकण्ठबाट तीन जना समातिएका हुन्।
पक्राउ पर्नेहरूमा मोरङ घर भई हात्तिगौडा बस्ने ३१ वर्षीय लक्ष्मण विश्वकर्मा, अर्घाखाँची घर भई हात्तिगौडा बस्ने २८ वर्षीय नरबहादुर चित्रे र स्थानीय ३८ वर्षीय करण खड्गी रहेका छन्। चोरीको मोटरसाइकललाई हात्तिगौडास्थित एक स्थानमा लुकाएर त्यसका पार्टपुर्जा निकाली बिक्री वितरण गर्ने र अन्य पुराना मोटरसाइकलमा जडान गर्ने गरेको विशेष सूचनाका आधारमा प्रहरी प्रभाग बूढानीलकण्ठको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले उनीहरूको साथबाट चोरीको मोटरसाइकलका दुई थान टायर, इन्जिनको भाग, भाइजर, साइलेन्सर, ट्याङ्की र सकको भाग बरामद गरेको छ। गिरोहले पहिचान मेटाउनका लागि चेसिस नम्बर समेत काटेर टुक्रा पारेको अवस्थामा फेला परेको छ। साथै, चोरीको पार्टपुर्जा निकाली जडान गरिएका अन्य तीनवटा मोटरसाइकल र पार्टपुर्जा खोल्न प्रयोग गरिने विभिन्न उपकरणहरू समेत प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान र कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको छ। सहरका विभिन्न ठाउँबाट मोटरसाइकल चोरी गरी ग्यारेज वा एकान्त ठाउँमा लगेर स्वरूप नै परिवर्तन गर्ने यस्ता गिरोहका अन्य सदस्यहरूको खोजी समेत भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयात, निर्यात बढ्दा पनि देशको व्यापार घाटा १६ खर्ब १६ अर्ब नाघ्यो
-
एमाले पुनर्गठन सम्बन्धी सुझाव संकलन गर्न नेताहरु सुर्खेतमा
-
नर्वेको आशा हालान्डकै काँधमा
-
सडक डिभिजन जुम्लाद्वारा काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का रद्द
-
आफूलाई जेनजी अभियन्ता बताउने खड्का पक्राउ
-
३ लाख बढीले हेरे ‘लालीबजार’, आम्दानी कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण