बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
कूटनीति

नेपाल आउँदैछन् दलाई लामाका अर्का शिष्य

शुक्रबार, ०८ फागुन २०८२, १६ : ५४
शुक्रबार, ०८ फागुन २०८२

काठमाडौँ । तिब्बती मूलका बौद्ध धर्मगुरु जोनाङ ग्याल्त्साब रिन्पोछे नेपाल आएको चर्चा सेलाउन नपाउँदै अर्का तिब्बती बौद्ध धर्मगुरु क्याब्जे लिङ रिन्पोछे (सातौं) नेपाल आउने भएका छन् । 

दलाई लामाको आध्यात्मिक उत्तराधिकारीको रूपमा चिनिएका क्याब्जे फागुन १५ गते हुने एक बौद्ध धार्मिक प्रवचन कार्यक्रममा सहभागी हुन नेपाल आउन लागेका हुन् । क्याब्जेको असली नाम तेन्जिन लुङ्तोक थिन्ले छोपेक हो । 

तिब्बती धर्मगुरु जोनाङ ग्याल्त्साब रिन्पोछे नेपाल आउँदा अन्तर्राष्ट्रिय रुपमै चर्चा भएको थियो । नेपालमा विभिन्न कम्युनिस्ट पार्टीका नेताहरुले पनि त्यसको आलोचना गरेका थिए । 

अर्का धर्मगुरु क्याब्जे पनि त्यस्तै धार्मिक कार्यक्रममा आउन लागेको कुरा बाहिरिएपछि त्यसलाई चासोको रुपमा हेरिएको छ । फागुन १६ गतेदेखि २० गतेसम्म उनी कपनको एक गुम्बामा हुने कार्यक्रममा सहभागी हुने स्रोतले जनाएको छ । त्यस्तै कार्यक्रम अर्को गुम्बामा पनि तय भएको बताइएको छ ।
 
यसअघि पनि पटक-पटक नेपाल आएका उनी तिब्बती बौद्ध धर्मको गेलुग परम्पराका सम्मानित गुरू हुन् । दलाई लामाले उनलाई दुई वर्षको उमेरमा नै आफ्ना पूर्व गुरुको पुनर्जन्मका रूपमा ‘पहिचान’ गरेका थिए । छैठौं क्याब्जे लिङ रिन्पोछे जो दलाई लामासँगै तिब्बत छाडेर भारतमा शरण लिएका थिए । छैठौं क्याब्जेलाई दलाई लामालाई आफ्नो अध्यात्मिक गुरु मान्थे । उनको निधन भएपछि सातौं क्याब्जे लिङ रिन्पोछेलाई आफ्नो गुरुको पूर्ण जन्मको रुपमा लिएको मानिन्छ ।

Kyabje
 
उनलाई दलाई लामापछिको उच्च तहको गुरुका रूपमा बौद्ध जगतमा सम्मान गरिन्छ । छैटौँ लिङ रिन्पोछे दलाई लामाका मुख्य गुरू थिए । त्यसैले अहिलेका सातौँ क्याब्जे रिन्पोछेलाई दलाई लामाले विशेष संरक्षण र मार्गदर्शन दिँदै आएका छन् ।
 
भनिन्छ, क्याब्जेको प्रारम्भिक शिक्षा दलाई लामाको रेखदेखमा भएको हो । उनी दक्षिण भारतको मुन्गोडस्थित प्रसिद्ध ड्रेपुङ लोसेलिङ गुम्बामा प्रवेश गरी २५ वर्षभन्दा लामो समय बौद्ध दर्शनको अध्ययन गरेका छन् । सन् २०१६ मा उनले ‘गेसे ल्हारम्पा’ को उपाधि हासिल गरेका छन् । यो बौद्ध शिक्षाको विद्यावारिधि भनिन्छ ।

सातौँ क्याब्जे रिन्पोछेले एसिया, युरोप, अमेरिका, अस्ट्रेलिया लगायत देशहरु भ्रमण गरिसकेका उनी नेपाल आउन लाग्दा चर्चा सुरू भएको छ ।
 
जेनजी आन्दोलनपछि प्रधानमन्त्री सुशीला कार्कीलाई दलाई लामाले बधाई दिएपछि नेपालमा चर्चाको विषय बनेको थियो । यस विषयलाई चीनले चासोका साथ लिएको थियो । माघ १० गते तिब्बती मूलका बौद्ध धर्मगुरु जोनाङ ग्याल्त्साब रिन्पोछे नेपाल आउँदा चीनले पनि त्यसमा चासो लिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप