सम्झौताका भारी बोकेर ‘जेनजी विरोधी’ निर्वाचनको दिन कुर्न सकिँदैनः अजय सोडारी
सारांश
- संयुक्त जेनजी आन्दोलनका अगुवाहरूले सरकारसँगको सम्झौता कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएका छन्।
- आन्दोलनका अगुवाहरूले जेनजीका माग सम्बोधन नभए निर्वाचन स्वीकार्य नहुने चेतावनी दिए, तर आफूहरू निर्वाचन विरोधी नभएको बताए।
- उनीहरूले बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर देशलाई अस्थिर बनाउने षड्यन्त्र भइरहेको आरोप लगाए।
काठमाडौं । संयुक्त जेनजी आन्दोलनका अगुवाहरूले आफूहरू निर्वाचन विरोधी नभए पनि माग सम्बोधन नगरी गरिने निर्वाचन स्वीकार्य नहुने चेतावनी दिएका छन्। शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी सरकारसँग भएको ६ बुँदे सम्झौता कार्यान्वयनमा ढिलाइ गरिएकोप्रति अगुवाहरुले असन्तुष्टि पोखेका छन् ।
संयुक्त जेनजी आन्दोलनका सह–संयोजक अजय सोडारीले आफू ११ दिनसम्म अनशन बसेपछि सरकारसँग ६ बुँदे सम्झौता भए पनि त्यसको कार्यान्वयन नभएको बताए। “म र सरकारबीच भएको ६ बुँदे सम्झौता सिरानीमा राखेर बेचैन मुद्रामा छु। यो सम्झौताको भारी बोकेर जेनजी विरोधी निर्वाचनको दिन गन्ती गर्नुपर्ने हो?” सोडारीले प्रश्न गरे।
सरकारले १० दिनभित्र माग पूरा गर्ने प्रतिबद्धता जनाएको भए पनि त्यसको कार्यान्वयन नगरेको आरोप लगाउँदै उनले भने, “हाम्रा ७६ जना साथीहरूले देशका लागि बलिदान गरे। ज्यान दाउमा राखेका कैयौँ घाइते तथा अपाङ्ग भए। म अस्पतालको बेडबाट कोठाको बेडसम्म आएको छु।” उनले थपे, “फेरि पनि जेलको कालकोठरीसम्म जान तयार छौँ, तर मागप्रति प्रतिबद्ध छौँ।”
आन्दोलनका कमाण्डर सुनिल सिंहले आफूहरू निर्वाचनको विरोधी नभए पनि जेनजीका माग सम्बोधन नगरी गरिने चुनाव स्वीकार्य नहुने बताए। “हामी चुनाव विरोधी होइनौँ। तर जेनजीका हत्यारालाई कारबाही, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, भ्रष्टाचारीलाई कारबाहीलगायतका मुद्दा सम्बोधन नगरी हुने निर्वाचन स्वीकार्य हुँदैन,” सिंहले भने।
उनले निर्वाचन बिथोल्न अरूले अराजक गतिविधि गरेको र त्यसको दोष आफूहरूलाई थोपर्ने प्रयास भइरहेको दाबी गरे। “परिवर्तन विरोधीले झण्डा जलाउने, तोडफोड गर्ने अनि हामीलाई जेल कोच्ने काम सह्य हुँदैन,” उनले भने।
बालेन शाहप्रति संकेत गर्दै सिंहले एक जना र्यापरलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर देशलाई अस्थिर बनाउने षड्यन्त्र भइरहेको आरोप लगाए र त्यसको कडा प्रतिवाद गरिने बताए।
नेपाल स्वतन्त्र नागरिक सञ्जालका संयोजक दिनेश सुवेदीले यथास्थितिमा हुने निर्वाचनले देशलाई थप भड्कालोमा लैजाने दाबी गरे।
यसैगरी अभियन्ता डा. जगत विकले वर्तमान ढाँचामा हुने निर्वाचन जेनजी आन्दोलनको भावनाविपरीत हुने बताए। उनले मेयर पद त्यागेर प्रधानमन्त्रीको दौडमा लागेको बालेन शाहको कदमलाई गलत ठहर गरे।
जेनजी सल्लाहकार लेनिन विष्टले सर्वपक्षीय सहमतिमा सरकार गठन गरी जेनजीका माग पूरा गरेर मात्र निर्वाचनमा जानुपर्ने धारणा राखे। उनले जेनजी आन्दोलन ‘हाइज्याक’ गरेर बनेको सरकारमा अधिकांश व्यक्ति रास्वपाका उम्मेदवार रहेको दाबी गरे।
जेनजी प्रकाश बमले छानबिन समितिको प्रतिवेदन सार्वजनिक नगरी निर्वाचनमा जानुले जेनजी दमनकारीलाई उन्मुक्ति दिने बताए। वर्तमान निर्वाचन प्रणालीबाट जेनजीका माग सम्बोधन नहुने र देश पुनः अस्थिरतामा धकेलिने खतरा रहेको उनको भनाइ छ।
काठमाडौं–२ का स्वतन्त्र उम्मेदवार अनुप बोहराले यथास्थितिमा हुन लागेको निर्वाचनले देशलाई निकासभन्दा द्वन्द्वतर्फ धकेल्ने दाबी गरे। जनतालाई त्यसबारे सचेत गराउन आफूले उम्मेदवारी दिएको उनले बताए।
जेनजी सुजन पौडेलले यथास्थितिमा हुने निर्वाचनप्रति जनताले प्रतिवाद गर्ने संकेत देखिएको बताए। त्यसबाट उत्पन्न हुने क्षतिको जिम्मेवारी सुशीला कार्की नेतृत्वको सरकारको हुने चेतावनी उनले दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण