सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘हामी जनतासँग डराएका छैनौं, साढे १४ लाख कार्यकर्ता मैदानमा छन्, एमालेको जित सुनिश्चित छ’

शनिबार, ०९ फागुन २०८२, १६ : ३४
शनिबार, ०९ फागुन २०८२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको वातावरण सन्त्रासमय बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेको छ।

एमाले प्रचार विभाग प्रमुख मिनबहादुर शाहीले सरकारले शान्ति सुरक्षाको भरपर्दो वातावरण बनाउन नसकेको र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट एमालेको नेतृत्व र चुनाव चिन्हमाथि प्रहार भइरहेको आरोप लगाए। निर्वाचन नजिकिँदै जाँदा मुलुक थप भयभीत र सन्त्रासमय बन्दै गएको उनको भनाइ छ।

“सरकारले शान्ति सुरक्षाको वातावरणलाई विश्वासयोग्य बनाउन सकेको छैन। हजारौँ कैदीबन्दी र लुटिएका हातहतियार बाहिरै रहनुले अवाञ्छित गतिविधि बढ्ने हाम्रो पूर्वानुमान पुष्टि हुँदै गएको छ,” शाहीले भने।

रौतहटको गौरमा लगाइएको अनिश्चितकालीन कर्फ्यूले मतदातामा त्रास फैलाएको उल्लेख गर्दै उनले निर्भीक ढंगले मतदान गर्ने अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरे।

रास्वपामाथि चुनाव भाँड्न खोजेको आरोप

शाहीले रास्वपाले निर्वाचन भाँड्न खोजेको आरोप लगाए। “‘भोट फर चेन्ज’ को भाष्य कमजोर भएपछि रास्वपाले अभद्र व्यवहार र हिंसा भड्काउने काम सुरु गरेको छ,” उनले भने।

एमालेका प्रमुख नेताहरू उम्मेदवार रहेका क्षेत्रमा झण्डा जलाउने, नेतृत्वविरुद्ध घृणा फैलाउने र ‘फेक’ सर्वेक्षणमार्फत जनमत प्रभावित पार्ने प्रयास भइरहेको उनको दाबी छ।

आचारसंहिता उल्लंघन र आयोगको भूमिकामाथि प्रश्न

निर्वाचन आचारसंहिताको उल्लंघन भइरहेको भन्दै एमालेले निर्वाचन आयोगको भूमिकामाथि प्रश्न उठाएको छ। होली पर्वका अवसरमा तराई–मधेसका जिल्लामा रास्वपा सभापति र नेताहरूको तस्बिर अंकित टिसर्ट वितरण गरिएको भन्दै शाहीले आपत्ति जनाए।

“चाडपर्वलाई दल विशेषको स्वार्थमा दुरुपयोग गरिनु निन्दनीय छ। यस्ता गतिविधिमा निर्वाचन आयोग उदासीन देखिनुले सशंकित तुल्याएको छ,” उनले भने।

नेता र उम्मेदवारमाथि लक्षित आक्रमण

एमालेका उम्मेदवार र नेतामाथि भौतिक तथा मानसिक आक्रमण भइरहेको शाहीले बताए। बारामा उम्मेदवार ज्वाला कुमारी साहको प्रचार सामग्री तोडफोड गरिएको तथा दाङ–२ मा महासचिव शंकर पोखरेलको निर्वाचन क्षेत्रमा झण्डा जलाउने र अभद्र व्यवहार भएको उनले उल्लेख गरे।

यस्ता गतिविधि तत्काल बन्द गरी उम्मेदवारहरूको सुरक्षा सुनिश्चित गर्न एमालेले माग गरेको छ।

‘देश बनाउने र देश जलाउनेबीचको जनमत संग्रह’

शाहीले फागुन २१ को निर्वाचनलाई ‘देश बनाउने र देश जलाउने शक्तिहरूबीचको जनमत संग्रह’ का रूपमा लिएको बताए।

उनका अनुसार जस्तोसुकै षड्यन्त्र भए पनि एमाले सर्वाधिक लोकप्रिय र पहिलो पार्टी बन्नेछ। फागुन २१ पछि पार्टी अध्यक्ष केपी शर्मा ओली को नेतृत्वमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने दिशामा मुलुक अघि बढ्ने दाबी उनले गरे।

एमालेले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्ने तर भ्रामक प्रचारको विपक्षमा रहेको स्पष्ट पारेको छ। पत्रकार र नागरिक समाजलाई स्वच्छ र निष्पक्ष निर्वाचनका लागि भूमिका खेल्न अपिल गरिएको छ।

बहुमतको दाबी

शाहीले आगामी निर्वाचनमा एमाले सर्वाधिक लोकप्रिय पार्टी बन्ने र बहुमतसहित सरकार गठन गर्ने दाबी गरे। उनका अनुसार देशभर एमालेका साढे १४ देखि १५ लाख नेता–कार्यकर्ता चुनावी मैदानमा सक्रिय छन्।

“ताप्लेजुङदेखि दार्चुला र झापादेखि कञ्चनपुरसम्म कार्यकर्ता जनताको घरदैलोमा पुगेका छन्। जनताको सर्वाधिक मन पराएको पार्टी आमसभा गर्न वा जनतासँग जान डराउने प्रश्नै हुँदैन,” उनले भने।

युवा लक्षित कार्यक्रम

१८ देखि २८ वर्ष उमेर समूहका युवालाई मासिक १० जिबी डाटा उपलब्ध गराउने घोषणा कार्यान्वयन गर्न ठूलो आर्थिक भार नपर्ने शाहीको दाबी छ। सामाजिक सञ्जाल प्रतिबन्ध होइन, ‘प्रजातान्त्रिक नियमन’ गर्न खोजिएको उनले स्पष्ट पारे।

केही नेताले पार्टी छोडेको चर्चा ‘एमालेप्रतिको जनलहरबाट आत्तिएर सिर्जना गरिएको भ्रम’ भएको शाहीको भनाइ छ। रसुवाका जनार्दन ढकाल र काठमाडौंका रामवीर मानन्धर पहिले नै अनुशासनको कारबाहीमा परेको वा औपचारिक संरचनामा नरहेको दाबी उनले गरे। – न्युज एजेन्सी नेपाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप