बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

उत्कृष्ट गोलकिपर बनेकी अञ्जना भन्छिन्, ‘यो सफलता पछाडि कडा मिहिनेत र त्याग छ’

आइतबार, १० फागुन २०८२, १० : ०७
आइतबार, १० फागुन २०८२

सारांश

  • एपीएफ एफसीले त्रिभुवन आर्मी फुटबल क्लबलाई २-१ गोलले हराएर रेडबुल एन्फा महिला च्याम्पियनसिप २०८२ को उपाधि जित्यो।
  • एपीएफकी अञ्जना रानामगर उत्कृष्ट गोलकिपर घोषित भइन् र उनले सामाजिक सञ्जालमा खुसी व्यक्त गरिन्।
  • त्रिभुवन आर्मीकी दीपा शाही सर्वोत्कृष्ट खेलाडी र एपीएफकी रश्मीकुमारी घिसिङ सर्वाधिक गोलकर्ता घोषित भए।

काठमाडौँ । शनिबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै एपीएफ एफसीले रेडबुल एन्फा महिला च्याम्पियनसिप २०८२ को उपाधि जितेको छ।

च्याम्पियन बनेको एपीएफकी अञ्जना रानामगर प्रतियोगिताकै उत्कृष्ट गोलकिपर घोषित भएकी छन्। उत्कृष्ट गोलकिपरको अवार्ड जितेपछि उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफ्नो खुसी र सङ्घर्ष साटेकी छन्। ‘यो मुस्कानको पछाडि कडा परिश्रम, त्याग र विश्वास छ। हरेक डाइभ, हरेक बचाउ र हरेक कडा प्रशिक्षणले यो गौरवपूर्ण क्षणसम्म डोर्‍याएको हो,’ उनले लेखेकी छन्।

च्याम्पियन बन्नु र उत्कृष्ट गोलकिपर घोषित हुनुले यसलाई अझ विशेष बनाएको बताउँदै उनले थपेकी छन्, ‘यो पञ्जा एउटा ट्रफी मात्र होइन, यो मेरो टिमका लागि सधैँ मेरो शतप्रतिशत दिने वाचा हो।’ 

उनले आफूलाई विश्वास गरेर सँगै लड्ने आफ्ना सहकर्मी र निरन्तर माया तथा समर्थन गर्ने परिवारप्रति आभार व्यक्त गरेकी छन्।

त्यसैगरी, उपविजेता बनेको त्रिभुवन आर्मी फुटबल क्लबकी दीपा शाही प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (मोस्ट भ्यालुएबल प्लेयर) चुनिएकी छन्। थारुहट रङ्गशालामा भएको कार्यक्रममा एन्फाका महासचिव किरण राईले उनलाई उक्त अवार्ड प्रदान गरे।

प्रतियोगितामा सर्वाधिक गोलकर्ताको अवार्ड भने च्याम्पियन टोली एपीएफकी रश्मीकुमारी घिसिङले जितेकी छन्। उनले प्रतियोगिता अवधिभर विपक्षीको पोस्टमा कुल १२ गोल गर्न सफल भएकी थिइन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप