कांग्रेसको प्रतिज्ञा : ०७९ का प्राथमिकता, ०८२ का भिजन–१०
सारांश
- नेपाली कांग्रेसले निर्वाचन घोषणापत्रमा फरक योजना र रणनीति प्रस्तुत गरेको छ।
- २०७९ र २०८२ को घोषणापत्रमा विषयवस्तु समान भए पनि प्रस्तुति शैली फरक छ।
- घोषणापत्रमा सुशासन, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य, र आर्थिक समृद्धिलाई जोड दिइएको छ।
काठमाडौँ । नेपाली कांग्रेसले २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा होमिने बेलामा सभापछि शेरबहादुर देउवा थिए । २०८२ सालमा प्रतिनिधिसभा निर्वाचनमा होमिने बेलामा सभापति गगन थापा आएका छन् ।
सभापति नै परिवर्तन भएपछि योजना र रणनीति त फरक हुने नै भए । त्यसको प्रभाव तीन वर्षको अन्तरालमा भएका दुई निर्वाचनका घोषणापत्रमा देखिएका छन् । घोषणापत्रका प्राथमिकता पनि फेरिएका छन् ।
२०७९ को घोषणापत्रमा कांग्रेसले ८ क्षेत्रलाई प्राथमिकतामा राखेर घोषणापत्र ल्याएको थियो । अहिले भने कांग्रेसले ‘भिजन–१०’ अवधारणामा घोषणापत्र ल्याएको छ ।
२०७९ कांग्रेसका प्राथमिकता
१) लोकतन्त्रको शुद्धीकरण र सुशासनका लागि सक्षम, जवाफदेही र सदाचारी शासन संयन्त्र विकास गर्ने, भ्रष्टाचार नियन्त्रणका लागि कानुन र संयन्त्र सुधार गर्ने, सार्वजनिक संस्थाहरूलाई दलीय हस्तक्षेपबाट मुक्त गर्ने ।
२) उद्यम–अनुकूल वातावरण बनाई चरम गरिबीलाई एक अंकमा सीमित गर्ने, वैदेशिक रोजगारमाथिको निर्भरता घटाउँदै स्वदेशमै सम्मानजनक रोजगारी सिर्जना गर्ने, ज्ञानमा आधारित अर्थतन्त्र विकास गर्ने ।
३) जन्मदेखि मृत्युसम्मको जीवनचक्रमा नागरिकलाई राज्यको तर्फबाट एकीकृत सामाजिक सुरक्षा (स्वास्थ्य बिमा, निःशुल्क उपचार, शिक्षा, रोजगारी, वृद्धावस्था भत्ता आदि) प्रदान गर्ने, सामाजिक विभेदको अन्त्य गरी सांस्कृतिक सहिष्णुता र सद्भाव प्रवर्द्धन गर्ने ।
४) सन् २०४५ सम्ममा शून्य कार्बन उत्सर्जन गर्ने राष्ट्र बनाउने, हरित अर्थतन्त्रको विकास गर्ने, विपद् व्यवस्थापन र पूर्वसूचना प्रणालीलाई सुदृढ गर्ने ।
५) राष्ट्रिय हित र स्वार्थको संरक्षण गर्दै असंलग्न परराष्ट्र नीतिका आधारमा स्वतन्त्र र सन्तुलित विदेश नीति अख्तियार गर्ने, छिमेकी र अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ बनाउने ।
अर्थतन्त्रका मुख्य ५ एजेन्डा
१) आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने, अनुत्पादक क्षेत्रमा जाने कर्जा नियन्त्रण गरी मुद्रास्फीति घटाउने ।
२) सरकारी खर्चमा मितव्ययिता अपनाउने, राजस्व प्रशासनको पुनर्संरचना गर्ने, वित्तीय अनुशासन कायम गर्ने ।
३) स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने, प्रविधिको आन्तरिकीकरण गर्ने, नेपाली उद्योग, नेपालमै रोजगार, आफ्नो उत्पादन, आफ्नै व्यापार’ नारालाई कार्यान्वयन गर्ने ।
४) सीपमूलक क्षेत्रमा श्रम आपूर्तिको अभाव हटाउन प्राविधिक शिक्षालयहरूको स्तरोन्नति गर्ने, वैदेशिक रोजगारीको सट्टा स्वदेशमै रोजगारी सिर्जना गर्ने ।
५) आगामी ५ वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने, प्रतिव्यक्ति वार्षिक विद्युत् खपत १ हजार २०० युनिट पुर्याउने, विद्युतीय सवारीसाधन र चुलोको प्रयोग बढाउने ।
२०७९ का प्राथमिकता
१) शिक्षा: गुणस्तरीय, निःशुल्क र प्रविधियुक्त शिक्षामा सबैको पहुँच पुर्याउने, महिला साक्षरता ९५ प्रतिशत पुर्याउने, विद्यालयमा इन्टरनेट पहुँच ८० प्रतिशत पुर्याउने ।
२) स्वास्थ्य: तीन वर्षमुनिका बालबालिका र ७३ वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, ५ वर्षभित्र सबै नागरिकलाई स्वास्थ्य बिमाको दायरामा ल्याउने ।
३) उद्यम, रोजगारी र निजी क्षेत्र: ५ वर्षमा १२ लाख ५० हजार नयाँ रोजगारी सिर्जना गर्ने, वार्षिक न्यूनतम ७% आर्थिक वृद्धिदर हासिल गर्ने, निजी क्षेत्रलाई प्रोत्साहन गर्ने ।
४) विज्ञान, प्रविधि, संचार र डिजिटलाइजेसन: ‘डिजिटल नेपाल’ निर्माण गर्ने, सूचना प्रविधिलाई आर्थिक गतिविधि, सुशासन र नागरिक सेवामा उपयोग गर्ने ।
५) कृषि: आधुनिक प्रविधिमा आधारित कृषि विकास गर्ने, खाद्य सुरक्षा सुनिश्चित गर्ने, भूउपयोग नीति लागु गरी उत्पादन वृद्धि गर्ने ।
६) भौतिक पूर्वाधार: देशभर पक्की सडक, ऊर्जा, सिँचाइ, खानेपानी र सञ्चारको पहुँच विस्तार गर्ने, निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाहरू सम्पन्न गर्ने ।
७) पर्यटन: ५ वर्षमा वार्षिक २० लाख विदेशी पर्यटक भित्र्याउने, पर्यटन पूर्वाधार विकास गर्ने, साहसिक पर्यटन र ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने ।
८) कला, संस्कृति र खेलकुद: नेपाली कला, संस्कृति, भाषा र साहित्यको संरक्षण र प्रवर्द्धन गर्ने, स्रष्टा–सर्जकहरूको वृत्ति विकास गर्ने, खेलकुद क्षेत्रमा व्यावसायिक लगानी गर्ने ।
संघीयताबारे
संघ, प्रदेश र स्थानीय तहबीच सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तलाई पूर्ण पालना गर्ने तथा प्रदेश र स्थानीय सरकारलाई अधिकारसम्पन्न र प्रभावकारी बनाइ कानुन निर्माणमा सहजीकरण गर्ने ।
गर्ने र नगर्ने काम
गर्ने: संविधानको मर्मबमोजिम संघीयतालाई कार्यान्वयन गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, सार्वजनिक पदमा योग्यता र पारदर्शीताका आधारमा नियुक्ति गर्ने, स्वदेशी उत्पादन र रोजगारी बढाउने ।
नगर्ने: दलहरूको आन्तरिक विवाद वा फरक दलहरूबिचको द्वन्द्वका कारण प्रतिनिधिसभा विघटन नगर्ने, सार्वजनिक सम्पत्तिको दुरूपयोग नगर्ने, आर्थिक प्रलोभन वा व्यक्तिगत प्रभावमा परी कुनै निर्णय नगर्ने, जातीय विभेद, हिंसा वा सामाजिक विकृतिलाई प्रोत्साहन नगर्ने ।
२०८२ को प्रतिज्ञापत्रका भिजन–१०
१ सम्मानित नेपाली भएर बाँच्ने पाउने नेपाल
२ सपना देख्न सक्ने नेपाल
३ सम्पत्ति र रोजगारी सिर्जनालाई प्रोत्साहन गर्ने नेपाल
४ पेटभरि खुवाउने, देशलाई चिनाउने किसानको नेपाल
५ ओखती र ओत दिने नेपाल
६ छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल
७ बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल
८ मौलिकतामा गर्व गर्न सक्ने आधुनिक नेपाल
९ विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल
१० समुन्नतिमा लम्कने नेपाल
मुलुकमा सुशासन र समुन्नति कायम गर्ने उद्देश्यसहित सार्वजनिक १० बुँदे विस्तृत भिजन ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ भन्ने मूल नारा राखिएको छ । प्रतिज्ञापत्र नाम दिएको घोषणापत्रमा पाँच वर्षभित्र हासिल गर्ने लक्ष्यहरू र ‘बदलियो कांग्रेस, बदलिन्छ देश’ भन्ने उद्घोषका साथ नागरिकको जीवनस्तर उकास्ने उल्लेख छ ।
जात, धर्म, लिङ्ग वा क्षेत्रका आधारमा हुने विभेद अन्त्य गर्दै हरेक नागरिकले शिर ठाडो पारेर बाँच्न पाउने, विधिको शासनलाई कडाइका साथ लागु गर्दै सत्ता र शक्तिको पहुँचका भरमा पाइने विशेषाधिकार अन्त्य गर्ने, बेथिति तथा हैरानीमुक्त प्रशासनिक सेवा प्रवाह गर्ने, भ्रष्टाचार नियन्त्रण र सरकारी सेवामा ढिलासुस्ती अन्त्य गरी नागरिकले घरमै बसेर सेवा पाउने प्रबन्ध मिलाउने र आर्थिक समृद्धिका सन्दर्भमा कांग्रेसले निजी क्षेत्रको प्रवर्द्धन र सम्पत्ति सिर्जनालाई प्रोत्साहन गर्ने नीति अघि सारिएको छ ।
स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने, विदेश पलायन रोक्ने, कृषिलाई मर्यादित पेसाको रूपमा विकास गर्ने, किसानले उत्पादन गर्ने कृषि उपजका लागि आवश्यक प्रविधि र बजारको उचित व्यवस्थापन गर्ने, पर्यटन, ऊर्जा र पूर्वाधारको विकास गर्ने विष्नय पनि प्रतिज्ञापत्रमा समेटिएको छ ।
शिक्षा र स्वास्थ्यमा राज्यको दायित्व बढाउने, उपचारकै कारण कोही पनि गरिब हुनु नपर्ने र गुणस्तरीय स्वास्थ्य बिमा प्रणाली लागु गर्ने, छोराछोरी पढाउन अभिभावकमाथि आर्थिक भार नपर्ने गरी गुणस्तरीय शिक्षाको प्रत्याभूति गर्ने र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
प्रस्तुति फरक, विषयवस्तु एउटै
२०७९ र ०८२ का घोषणापत्रमा विषयवस्तु समेट्ने प्रक्रिया फरक छन् । उठाएका विषयवस्तुतमा तात्त्विक फरक भने त्यति देखिँदैन । ०८२ मा भिजन १० को नाममा विषयवस्तुलाई नौलो तरिकाले प्रस्तुत गरिएको छ । ०७९ मा परम्परागत तरिकाले राखिएको छ ।
जस्तो ०७९ मा गुणस्तरीय, निःशुल्क र प्रविधियुक्त शिक्षामा सबैको पहुँच पुर्याउने, महिला साक्षरता ९५ प्रतिशत पुर्याउने, विद्यालयमा इन्टरनेट पहुँच ८० प्रतिशत पुर्याउने लक्ष्य राखेको दखिन्छ । स्वास्थ्यमा तीन वर्षमुनिका बालबालिका र ७३ वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, ५ वर्षभित्र सबै नागरिकलाई स्वास्थ्य बिमाको दायरामा ल्याउने उल्लेख छ ।
२०८२ मा भने त्यही विषयलाई फरक शैलीमा शिक्षा र स्वास्थ्यमा राज्यको दायित्व बढाउने, उपचारकै कारण कोही पनि गरिब हुनुनपर्ने र गुणस्तरीय स्वास्थ्य बिमा प्रणाली लागु गर्ने, छोराछोरी पढाउन अभिभावकमाथि आर्थिक भार नपर्ने गरी गुणस्तरीय शिक्षाको प्रत्याभूत गर्ने र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने लक्ष्य राखिएको छ । यी दुर्व विषयवस्तुतमा तात्त्विक फरक छैन तर पस्किने शैली फरक छ ।
रोजगारीबारे हेर्दा ०७९ मा ५ वर्षमा १२ लाख ५० हजार नयाँ रोजगारी सिर्जना गर्ने लेखिएको छ । ०८२ मा स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने, विदेश पलायन रोक्ने वाक्यांश राखिएको छ । प्रायः विषयवस्तै उही खालका छन्, प्रस्तुति भने फरक छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा केप भर्डेको ऐतिहासिक पहिलो गोल
-
केप भर्डेका डिफेन्डर सिड्नी लोपेज काब्रालले अर्को खेल गुमाउने
-
स्पेनलाई रोकेर विश्वलाई चकित पारेको केप भर्डे आज उरुग्वेसँग भिड्दै
-
यान्त्रिक हलो अभावले किसानलाई धान रोप्न समस्या
-
बेल्जियम र इरानको संघर्षपूर्ण बराबरी
-
बेल्जियमलाई झड्का: नाथन एनगोयले रातो कार्ड पाउँदा टोली १० खेलाडीमा सीमित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण