उपेन्द्र यादवको प्रश्न : मधेस आन्दोलनमा बालेन कहाँ थिए ?
सारांश
- जसपा अध्यक्ष उपेन्द्र यादवले बालेन शाहको राजनीतिक धरातलमाथि प्रश्न उठाए, मधेसको मुद्दामा उनको भूमिकाको आलोचना गरे।
- यादवले सामाजिक सञ्जालमा चर्चा भए पनि नयाँ शक्तिहरूको जमिनमा प्रभाव नरहेको र मधेसका जनताले अवसरवादी राजनीति बुझेको बताए।
- उनले कांग्रेस र कम्युनिस्ट सरकारको आलोचना गर्दै संविधान संशोधनको आवश्यकता औंल्याए, जसपाले उत्पीडित समुदायको प्रतिनिधित्व गर्ने दाबी गरे।
रुपन्देही । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को राजनीतिक अस्तित्व र वैचारिक धरातलमाथि गम्भीर प्रश्न उठाएका छन्। रुपन्देहीको भैरहवामा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै यादवले मधेसी जनता आफ्नो पहिचान र अधिकारका लागि रगत बगाइरहेका बेला बालेन कता थिए भन्दै प्रश्न गरेका हुन्।
मधेसका आधारभूत र मूल मुद्दाहरूमा बालेनको कुनै स्पष्ट धारणा वा योगदान नभएको टिप्पणी गर्दै उनले केवल चर्चाका भरमा राजनीति नचल्ने बताए। अध्यक्ष यादवले पछिल्लो समय सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन शाह जस्ता पात्रहरूको चर्चा बढी देखिए पनि जमिनमा उनीहरूको कुनै प्रभाव नरहेको दाबी गरे।
मधेसका जनताले आफ्नो अधिकारका लागि कसले लड्यो र कसले अवसरवादको राजनीति गर्यो भन्ने कुरा राम्रोसँग बुझेको उल्लेख गर्दै उनले ‘घण्टी’ हल्लाउँदैमा मधेस नहल्लिने चेतावनी दिए। मधेसी, आदिवासी जनजाति, दलित, मुस्लिम र उत्पीडित समुदायको वास्तविक प्रतिनिधित्व गर्ने शक्ति जसपा मात्रै भएको जिकिर गर्दै उनले नयाँ शक्तिहरूलाई ग्राउन्ड रियालिटी बुझ्न सुझाव दिए।
मुलुकको राजनीतिक अवस्थाप्रति असन्तुष्टि पोख्दै यादवले विगत ३५ वर्षदेखि पालैपालो सत्तामा रहेका कांग्रेस र कम्युनिस्ट सरकारहरूले देशको कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई बर्बाद पारेको आरोप लगाए। प्रमुख दलहरू विकास र सुशासनभन्दा पनि एक–अर्काको पार्टी फुटाउने फोहोरी खेलमा व्यस्त रहेको उनको टिप्पणी थियो। वर्तमान संविधानका त्रुटिहरू समयक्रममा प्रमाणित भइसकेकाले अब संविधान संशोधनको विकल्प नरहेको र उत्पीडित समुदायको समस्या समाधान नगरी राष्ट्रिय एकता सम्भव नहुने उनले प्रस्ट पारे।
सोही कार्यक्रममा जसपाका वरिष्ठ नेता एवं रुपन्देही क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार सर्वेन्द्रनाथ शुक्लाले मधेस आन्दोलनका बेला राज्यले निर्दोष नागरिकमाथि निर्मम दमन गरेको स्मरण गरे। उनले मधेसको अधिकारका लागि लडेका शक्तिहरूलाई कमजोर बनाउने प्रयास भइरहेको भन्दै मतदाताहरूलाई सचेत रहन आग्रह गरे।
मधेसको माटो र यहाँको समस्यासँग नभिजेका शक्तिहरूले जतिसुकै भ्रम फैलाए पनि निर्वाचनमा त्यसको कुनै असर नपर्ने दाबी नेताहरूले गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
४ प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण