बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फागुन २१ को निर्वाचन सुरक्षा : उपत्यकाका निर्वाचन क्षेत्रमा सुरक्षा निकायको संयुक्त अनुगमन

बुधबार, १३ फागुन २०८२, २० : २३
बुधबार, १३ फागुन २०८२

काठमाडौँ । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गरी काठमाडौँका विभिन्न निर्वाचन क्षेत्रमा सुरक्षा तयारी र अनुगमन तीव्र पारिएको छ ।

निर्वाचनलाई मर्यादित, व्यवस्थित र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यका साथ सुरक्षा निकायका उच्च अधिकारी सम्मिलित टोलीले बुधबार काठमाडौँका विभिन्न निर्वाचन अधिकृतका कार्यालयहरूको स्थलगत अनुगमन गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनीका सशस्त्र प्रहरी नायब महानिरीक्षक सुरेश कुमार श्रेष्ठ र उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक प्रविण धितालसहितको टोलीले काठमाडौँ जिल्लाका निर्वाचन क्षेत्र नम्बर ६, ७ र १० को निरीक्षण गरेको छ। अनुगमनका क्रममा टोलीले ती क्षेत्रका निर्वाचन अधिकृतका कार्यालयहरूको सुरक्षा अवस्था र निर्वाचन सम्पन्न गर्न गरिएका अन्य प्राविधिक तयारीबारे विस्तृत जानकारी लिएको हो।

टोलीले सम्बन्धित क्षेत्रमा खटिएका निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृतका साथै सुरक्षा व्यवस्थाका लागि तैनाथ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकृतहरूसँग अन्तरक्रिया समेत गरेको छ ।

सो अवसरमा सुरक्षा अधिकारीहरूले सम्बन्धित क्षेत्रको शान्ति सुरक्षाको वर्तमान अवस्था, सम्भावित चुनौती र निर्वाचनका लागि आवश्यक जनशक्ति एवं भौतिक व्यवस्थापनका विषयमा ब्रिफिङ लिएका थिए ।

निर्वाचनको मिति नजिकिँदै जाँदा मतदाताले सुरक्षित महसुस गर्ने गरी सुरक्षा रणनीति तय गरिएको र सबै निकायबिच समन्वय प्रभावकारी बनाउन यस्तो अनुगमन गरिएको सुरक्षा स्रोतले जनाएको छ। अनुगमन टोलीले निर्वाचन स्थलको भौतिक सुरक्षा, मतपत्र र मतपेटिकाको सुरक्षाका साथै मतदानका दिन अपनाइने विशेष सुरक्षा सतर्कताबारे समेत आवश्यक निर्देशन दिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप