बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तपाईं आश दिनुस्, म विश्वास दिन्छु : शंकर पोखरेल

बुधबार, १३ फागुन २०८२, २१ : २५
बुधबार, १३ फागुन २०८२

सारांश

  • एमाले महासचिव शंकर पोखरेलले दाङको समृद्धि र समुन्नत भविष्यका लागि मतदातासँग मत मागे।
  • उनले दाङको सडक, सिँचाइ, शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका प्रगतिलाई आफ्नो कार्यकालको उपलब्धि भने।
  • पोखरेलले दाङलाई बलियो आर्थिक केन्द्र बनाउने र कृषि क्षेत्रको आधुनिकीकरण गर्ने लक्ष्य राखेका छन्।

दाङ । नेकपा (एमाले) का महासचिव एवं दाङ क्षेत्र नम्बर २ का उम्मेदवार शंकर पोखरेलले जनताको आशा र अपेक्षालाई अटुट विश्वासमा रूपान्तरण गर्ने प्रतिबद्धता जनाएका छन्। आफ्नो जन्मभूमि तुलसीपुर उपमहानगरपालिका–१९ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले दाङको समृद्धि र समुन्नत भविष्यका लागि आफूलाई पुनः विजयी गराउन मतदातासँग आग्रह गरेका हुन्।

वडा कमिटीद्वारा आयोजित सभालाई सम्बोधन गर्दै पोखरेलले जनताको मतलाई पद प्राप्तिको माध्यम मात्र नभई एउटा ठुलो दायित्व पूरा गर्ने अवसरका रूपमा लिएको बताए। उनले विगतमा आफूले पाएको जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गरेको दाबी गर्दै दाङको सडक, सिँचाइ, खानेपानी, शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका प्रगतिलाई आफ्नो कार्यकालको उपलब्धिका रूपमा प्रस्तुत गरे। उनले अबको आफ्नो मुख्य लक्ष्य दाङलाई केवल प्रशासनिक केन्द्रमा मात्र सीमित नराखी एउटा बलियो आर्थिक केन्द्रका रूपमा स्थापित गर्नु रहेको स्पष्ट पारे।

पोखरेलले दाङको कृषि क्षेत्रको आधुनिकीकरणका लागि ग्वार खोला बृहत् जलाशय आयोजना निर्माणलाई आफ्नो पहिलो प्राथमिकतामा राखेको जानकारी दिए। सिँचाइ सुविधा सुनिश्चित गरेर स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउने योजना सुनाउँदै उनले विकासका लागि सबै दल र विचारभन्दा माथि उठेर एकताबद्ध हुन आह्वान गरे। विकास कुनै एउटा दलको मात्र एजेन्डा नभई सम्पूर्ण दाङवासीको साझा सपना भएको उनको तर्क थियो।

यसैगरी तुलसीपुर–१६ मा आयोजित अर्को सभालाई सम्बोधन गर्दै पोखरेलले विकासका लागि मागपत्र बोकेर मन्त्रालय धाउनेभन्दा पनि मागपत्रलाई सिधै कार्यान्वयन गर्ने क्षमता राख्ने नेतृत्वलाई जिताउन आग्रह गरे।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य कोमल वली र नेता भागवत विश्वासी लगायतले पोखरेलको नेतृत्वले नै दाङको विकासलाई तीव्र गति दिने विश्वास व्यक्त गरे। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप