बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

मैदानमा अभद्र व्यवहार गरेपछि पाकिस्तानी ब्याट्सम्यान सिदरा अमीनलाई आईसीसीको कारबाही

बुधबार, १३ फागुन २०८२, २१ : ४६
बुधबार, १३ फागुन २०८२

काठमाडाैँ । पाकिस्तानी महिला क्रिकेट टोलीकी प्रारम्भिक ब्याट्सम्यान सिदरा अमीनलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आचार संहिता उल्लंघन गरेको भन्दै चेतावनी दिएको छ। दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय खेलका क्रममा अनुशासनहीन व्यवहार प्रदर्शन गरेपछि आइसीसीले उनलाई आधिकारिक रूपमा सचेत गराउँदै एक डिमेरिट प्वाइन्ट समेत थपिदिएको हो।

आईसीसीका अनुसार सिदराले आचार संहिताको धारा २.२ को उल्लंघन गरेकी हुन्। यो धाराले अन्तर्राष्ट्रिय खेलका क्रममा प्रयोग हुने खेल सामग्री, कपडा, मैदानका सामान वा फिटिङ्सको गलत प्रयोग गर्न नपाइने व्यवस्था गरेको छ। पाकिस्तानको ब्याटिङ इनिङ्सको २४औँ ओभरमा आउट भएपछि आक्रोशित बनेकी सिदराले क्रिज छोड्नुअघि आफ्नो ब्याट जोरले भुइँमा पछारेकी थिइन्। उनको यो व्यवहारलाई आइसीसीले लेभल–१ को उल्लंघन मान्दै कारबाही प्रक्रिया अघि बढाएको हो।

२४ महिनाभित्र सिदराले यस्तो गल्ती गरेको यो दोस्रो पटक हो। यसअघि सन् २०२५ अक्टोबर ५ मा भारतविरुद्धको महिला विश्वकप खेलका क्रममा पनि उनी यस्तै प्रकृतिको अनुशासनहीन कार्यमा संलग्न भएकी थिइन्। पछिल्लो कारबाहीसँगै उनको कुल डिमेरिट प्वाइन्ट अब दुई पुगेको छ। आईसीसीको नियम अनुसार लेभल–१ को उल्लंघनमा न्यूनतम आधिकारिक चेतावनी र अधिकतम म्याच फिको ५० प्रतिशत जरिवाना तथा एक वा दुई डिमेरिट प्वाइन्ट दिने प्रावधान रहेको छ।

सिदराले आफ्नो गल्ती स्वीकार गरिसकेकाले यस विषयमा थप औपचारिक सुनुवाइको आवश्यकता नरहेको आईसीसीले स्पष्ट पारेको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप