सोचौँ देशले खोजेको के हो ? प्रश्न गरौँ आफैलाई
सारांश
- लेखकले भदौ २३ र २४ गते भएका घटनाहरूलाई निन्दा गर्दै भविष्यमा यस्ता घटना नदोहोरिउन् भन्ने चाहेका छन्।
- लेखकले सुशासनको महत्त्व र नयाँ सरकारको आवश्यकतामाथि प्रश्न उठाएका छन्, र राष्ट्रिय सहमतिको आवश्यकता औंल्याएका छन्।
- लेखकले निर्वाचनको सन्दर्भमा सबैलाई एकअर्काको आस्थाको सम्मान गर्न र सद्भाव कायम राख्न आग्रह गरेका छन्।
प्रिय मित्रहरू, भाद्र २३ र २४ का घटनाहरू मेरो मानसपटलमा ताजै छन्। ती दिन भएका क्रूरता र त्यसबाट सिर्जित वातावरण जति निन्दा गरे पनि कम हुन्छ । भविष्यमा पनि त्यस्ता कुनै पनि घटनालाई म क्षुद्र नै मान्नेछु । अझै पनि ‘गोली पहिला चल्यो कि संसद जल्यो ?’, ‘पहिला २३ कि २४ ?’ भन्ने बहसमा अधिकांश रुमल्लिरहेका होलान्, यी प्रश्नले धेरैलाई सताइरहेको होला तर म भन्छु, गोली चल्नु र देश जल्नु दुवै गलत थियो । सधैँ भनिरहन्छु– यो सर्वदा गलत थियो ।
तर यति भन्दैगर्दा त्यो विद्रोह र आक्रोश सायद जायज पनि थियो । देशले परिवर्तन खोजिरहेको थियो, नेपालको इतिहास हेर्दा पनि हरेक पटक केही न केही क्षति भोगेर मात्र अगाडि बढेको देखिन्छ ।
तर, हामीले याद राख्नुपर्ने कुरा के हो भने भदौ २३ र २४ को विद्रोहले खोजेको नयाँ सरकार मात्र थियो कि सुशासन ? यो प्रश्न आफैलाई गर्नुहोस् । मतदान गर्ने समय नजिकिँदै गर्दा मैले कसलाई मत गर्ने वा नगर्ने भन्ने विषयमा बोल्न जरुरी ठान्दिनँ । मताधिकार स्वःस्फूर्त हुनुपर्छ, तर यो विषम परिस्थितिमा हुन लागेको निर्वाचनका बेला एउटा कुरा सबैले मनन गर्नुपर्ने देखिन्छ ।
यदि त्यो विद्रोहले सुशासन खोजेको हो भने सुशासनको धरातल के हो ? पुराना दलले गरेनन् भन्दै गर्दा नयाँले गर्ने आधार के हो ? अहिलेको आवश्यकता परिवर्तन हो कि स्थिरता ? स्थिरता मात्र आवश्यक हो कि, स्थिरतासँगै सही नेतृत्व पनि ?
देशलाई सही ढंगले चलाउनु कुनै अभियान चलाएजति सजिलो पक्कै पनि छैन । जटिल मोडमा उभिएको अहिलेको परिस्थितिमा सबैको सहकार्यबिना केही पनि हुने सम्भावना देखिँदैन । संविधानमा धेरै कुरा पुनरवलोकन गर्नुपर्ने छ, धेरै कुरा बदल्नुपर्ने छ । र यो सबै राष्ट्रिय सहमतिबिना सम्भव नै छैन ।
एक पटक विचार गरौँ त, मानौँ कि कुनै एक दलको बहुमत आयो, त्यसपछि के ? संविधानलाई सुधार्न सबै दल चाहिन्छ । त्यतिबेला राष्ट्रिय सहमति कसले जुटाउने ?
फेरि अर्को कुरा पनि सोचौँ न । कार्की आयोगको निष्कर्षले केही उम्मेदवारलाई दोषी देखायो अनि संसदको निर्वाचन फेरि गर्ने ? हरेक महिना चुनाव गराउने ? यो शृङ्खला कहिलेसम्म चल्छ ? अनि कहिले टुंगिन्छ होला ?
भर्खरै मात्र इरान, आबुधाबी, कतारमा भएका हमलाहरूबारे सोचौँ । वैदेशिक नीति पनि हेर्नुपर्ने छ, कूटनीति पनि हेर्नुपर्ने छ । दुई ठुला शक्ति राष्ट्रहरूलाई सन्तुलित बनाएर राख्नुपर्ने पनि छ । एकलाई रिझाउँदा अर्को चिढिने भौगोलिक अवस्थिति छ । २०७२ को भारतको नाकाबन्दी पनि सम्झिनुहोस्, अनि सम्झिनुहोस् कूटनीतिक जटिलताका कारण देशले भोगेका समस्याहरू ।
अन्तिममाः सबै जनाको आ–आफ्नो सोच हुन्छ । कोही घन्टीका समर्थक हुनुहोला, कोही सूर्यका, कोही हलोका, कोही रूखका अनि अन्य अन्य । भोलि सबैलाई सबै चाहिन्छ । एकअर्कालाई जिस्काउने र होच्याउने काम बन्द गर्नुपर्छ । नेपालीको असल पहिचान हो सद्भाव । सबैलाई सद्भाव अपनाउन अनुरोध गर्दछु । घन्टी चिह्न राखेर कमेन्ट गर्नेलाई पनि सम्मान, अनि सूर्य मन पराएर संवाद गर्न आउने साथीहरूलाई पनि सम्मान । हामी लोकतन्त्रमा उभिएका छौँ, त्यसैले एकअर्काको आस्थालाई सम्मान गर्न सक्नुपर्छ ।
सोचौँ देशले खोजेको के हो ? प्रश्न गरौँ आफैलाई । परिवर्तन कि स्थिरता ? या सही नेतृत्वसहितको सकारात्मक परिवर्तन ?
नयाँ होस् वा पुरानो । अब आउने नेतृत्व देशका लागि सही होस्, सम्पूर्ण उम्मेदवारहरूलाई सद्भाव अनि शुभकामना ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको समाप्तिमा बोस्निया–हर्जगोभिना १–० ले अगाडि
-
जोभो लुकिचको गोलमा बोस्निया–हर्जगोभिनालाई सुरुवाती अग्रता
-
इप्पान कोषाध्यक्षमा शंकर बस्याल विजयी
-
विगतको हारको सिलसिला तोड्दै पहिलो अंक जोड्ने दाउमा दुवै टोली
-
जोभो लुकिचको गोलमा बोस्निया–हर्जगोभिनालाई सुरुवाती अग्रता
-
काठमाडौँका फोहोर पानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण