बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
इरान युद्ध

इरानसँगको युद्ध अमेरिकालाई कति महँगो पर्ला ?

मङ्गलबार, १९ फागुन २०८२, १० : १२
मङ्गलबार, १९ फागुन २०८२

सारांश

  • अमेरिका र इरानबीचको द्वन्द्व नयाँ चरणमा प्रवेश गर्दै, अमेरिकाले इरानमाथि हवाई आक्रमण गर्यो।
  • अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमा ठूलो युद्ध अभियानको पुष्टि गर्दै आणविक हतियार रोक्ने बताए।
  • विज्ञहरूका अनुसार, युद्धको लागतभन्दा हतियारको भण्डारण रित्तिनु ठूलो चुनौती हुनसक्छ।

अमेरिकालाई इरान युद्धको लागत कति पर्न सक्छ? धेरैको मनमा लागेको प्रश्न हो यो । यस सैन्य अभियानको कुल लागत अनुमान गर्न कठिन छ, तर विज्ञहरूले यो भन्दा ठुलो चुनौती हतियारको भण्डारण रित्तिनु हुन सक्ने चेतावनी दिएका छन्।

शनिबार अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमाथि हवाई आक्रमण गरेपछि अमेरिका र इरानबिचको लामो द्वन्द्व नयाँ चरणमा प्रवेश गरेको छ, जसले खुला सैन्य शत्रुताको सुरुवात गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो अपरेसन चारदेखि पाँच हप्तासम्म चल्न सक्ने सङ्केत गरिरहँदा, वासिङ्टनले मध्यपूर्वमा नयाँ युद्धलाई निरन्तरता दिन सक्छ कि सक्दैन र यसको अन्तिम लागत कति हुन सक्छ भन्ने विषयमा यहाँ विश्लेषण गरिएको छ।

‘अपरेसन इपिक फ्युरी’ के हो?

फेब्रुअरी २८ मा, ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गरिएको ८ मिनेट लामो भिडियोमा अमेरिकाले इरानभित्र ठुलो युद्ध अभियानमा भाग लिएको पुष्टि गरे। पेन्टागनले पछि उक्त मिसनको नाम अपरेसन इपिक फ्युरी रहेको बताएको छ।

ट्रम्पले यसको उद्देश्य इरानले आणविक हतियार प्राप्त गर्न नसकोस् भनी सुनिश्चित गर्नु रहेको जानकारी दिए। उनले थपे, ‘हामी उनीहरूका क्षेप्यास्त्रहरू नष्ट गर्नेछौँ र उनीहरूको क्षेप्यास्त्र उद्योगलाई ध्वस्त पार्नेछौँ। यो पूर्ण रूपमा नामेट हुनेछ।’

iran-1

शनिबारदेखि अपरेसन सुरु भएयता इरानमा १,२५० भन्दा बढी स्थानमा आक्रमण गरिएको अमेरिकी सेनाले जनाएको छ। छुट्टै विज्ञप्तिमा अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम) ले ११ वटा इरानी पानीजहाजलाई आक्रमण गरी नष्ट गरेको बताएको छ।

यस अपरेसनमा हवाई आक्रमण, समुद्रबाट प्रहार गरिने क्रुज मिसाइल, आणविक केन्द्रहरूसँग सम्बन्धित स्थानहरू र इरानको रक्षा संयन्त्रसँग जोडिएका शीर्ष व्यक्तिहरूमाथिको समन्वयात्मक आक्रमण समावेश रहेको बताइएको छ। सन् १९८९ देखि देशको नेतृत्व गरिरहेका इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको तेहरानस्थित निवासमा अमेरिका र इजरायलको पहिलो चरणको आक्रमणमै मृत्यु भएको थियो।

सोमबार ट्रम्पले आवश्यक परे जतिसुकै समयसम्म युद्ध लड्ने वाचा गर्दै यो युद्ध धेरै हप्तासम्म लम्बिन सक्ने सङ्केत गरे। इरानी रेड क्रिसेन्टले सोमबारसम्म इरानका १३० स्थानमा ५५५ जनाको मृत्यु भएको जनाएको छ।

सन् २०२३ यता अमेरिकाले इजरायल र मध्यपूर्वमा कति खर्च गरिसकेको छ?

ब्राउन युनिभर्सिटीको कस्ट अफ वार २०२५ को प्रतिवेदन अनुसार, अक्टोबर ७, २०२३ देखि अमेरिकाले इजरायललाई करिब २१.७ अर्ब डलर बराबरको सैन्य सहायता प्रदान गरेको छ।

यसबाहेक, अमेरिकी करदाताहरूको रकमबाट यमन, इरान र वृहत् मध्यपूर्वमा इजरायललाई समर्थन गर्ने अमेरिकी अपरेसनहरूका लागि ९.६५ अर्बदेखि १२.०७ अर्ब डलर खर्च भइसकेको छ। यससँगै यस द्वन्द्वसँग जोडिएको अमेरिकी कुल खर्च ३१.३५ अर्ब डलरदेखि ३३.७७ अर्ब डलरसम्म पुगेको छ र यो अझै बढ्दो क्रममा छ।

इरान युद्धमा कुन-कुन हतियार प्रणाली प्रयोग भइरहेका छन्?

सेन्टकमका अनुसार, अपरेसन इपिक फ्युरीमा हावा, समुद्र, जमिन र मिसाइल रक्षा बलहरूका २० भन्दा बढी हतियार प्रणालीहरू समावेश छन्। सेन्टकमले २० भन्दा बढी विभिन्न प्रणालीको प्रयोग गर्दै इरानभित्र १,००० भन्दा बढी स्थानमा आक्रमण गरिएको जनाएको छ।

सेन्टकमका पूर्व अपरेसन डाइरेक्टर केभिन डोनेगनले अल जजीरालाई भने, ‘अहिले अमेरिका र इजरायलको मुख्य ध्यान इरानीहरूको आक्रमण गर्ने क्षमतालाई सकेसम्म छिटो नष्ट गर्नु वा कमजोर पार्नु हो। उनीहरू यी आक्रमणहरू रोक्न वा कम्तीमा सकेसम्म कम गर्न चाहन्छन्।’

प्रयोग गरिएका केही हतियार प्रणालीहरू यस प्रकार छन्:

हवाई शक्ति:

यस अभियानमा अमेरिकी हवाई सम्पत्तिको अत्यधिक प्रयोग भएको छ, जसमा समावेश छन्:

  • बी-१ बम्बरहरू
  • बी-२ स्टेल्थ बम्बरहरू: महत्त्वपूर्ण आणविक र सैन्य पूर्वाधारहरूमा आक्रमण गर्न प्रयोग गरिएको।
  • एफ-३५ लाइटनिङ २ र एफ-२२ र्‍याप्टर: उन्नत स्टेल्थ लडाकु विमानहरू।
  • एफ-१५ लडाकु विमान: व्यापक रूपमा प्रयोग भएको; मार्च १ मा कुवेतमा भएको दुर्घटनामा तीनवटा विमान गुमेका थिए।
  • एफ-१६ फाइटिङ फाल्कन, एफ/ए-१८ सुपर हर्नेट, र ए-१० अट्याकर जेटहरू: आक्रमण र समर्थन भूमिकाका लागि प्रयोग भएको पुष्टि।
  • इए-१८जी ग्रोवलर: विद्युतीय आक्रमण (इलेक्ट्रोनिक अट्याक) र दुश्मनको हवाई रक्षा प्रणाली दबाउन प्रयोग गरिएको।
  • अवाक्स : कमान्ड, कन्ट्रोल र युद्धक्षेत्र व्यवस्थापन प्रदान गर्ने विमान।

ड्रोन र लामो दूरीका हतियार प्रणाली:

मानवरहित प्रणाली र रकेट आर्टिलरी पनि यस अपरेसनको हिस्सा हुन्:

  • लुकस ड्रोन: इरानी डिजाइनलाई रिभर्स इन्जिनियरिङ गरेर बनाइएको यो कम लागतको ‘वान-वे’ (आत्मघाती) ड्रोनको यो पहिलो युद्धक प्रयोग हो।
  • एमक्यु-९ रिपर ड्रोन: निगरानी र सटीक आक्रमणको भूमिकामा सक्रिय।
  • हिमार्स: जमिनमा आधारित रकेट आर्टिलरी।
  • टोमाहक क्रुज मिसाइल: नौसैनिक जहाजहरूबाट प्रहार गरिने।

मिसाइल रक्षा प्रणाली:

  • प्याट्रियट र थाड : इरानी ब्यालेस्टिक मिसाइल र ड्रोनहरूलाई आकाशमै नष्ट गर्न प्रयोग गरिने।
  • काउन्टर-ड्रोन प्रणालीहरू।

नौसेना शक्ति:

  • दुईवटा क्यारियर स्ट्राइक ग्रुप: यूएसएस जेराल्ड आर फोर्ड र यूएसएस अब्राहम लिंकनको नेतृत्वमा, जसले समुद्रमा आधारित विशाल शक्ति प्रदान गरिरहेका छन्।
  • पी-८ पोसेडोन: समुद्री गस्ती र जासुसी सञ्चालन गर्न।
  • कार्गो र ट्यांकरहरू: सी-१७ ग्लोबमास्टर, सी-१३० हर्कुलस र विभिन्न हवाई इन्धन भर्ने ट्यांकरहरूले लजिस्टिक आपूर्ति गरिरहेका छन्।

इरान युद्धले अमेरिकालाई कति लागत पार्न सक्छ?

चलिरहेको सैन्य अभियानको कुल लागत अनुमान गर्न गाह्रो छ। विज्ञहरूका अनुसार यो नयाँ युद्धले अमेरिकालाई कति खर्च गराउँछ भनेर अहिल्यै भन्नु हतारो हुनेछ।

स्टिम्सन सेन्टरका वरिष्ठ फेलो क्रिस्टोफर प्रेबलले अल जजीरालाई भने, ‘पेन्टागनले त्यो जानकारी सार्वजनिक गरेको छैन, त्यसैले हामी केवल अनुमान गर्न सक्छौँ... व्यक्तिगत हतियार र नौसेना सञ्चालनको लागतबारे हामी अनुमान लगाउन सक्छौँ।’

अनादोलु समाचार एजेन्सीको रिपोर्टअनुसार अपरेसन इपिक फ्युरीको पहिलो २४ घण्टामा अमेरिकाले करिब ७७ करोड ९० लाख डलर खर्च गरेको अनुमान छ। आक्रमणअघिको सैन्य तयारी (जसमा विमानको स्थानान्तरण, दर्जनभन्दा बढी नौसैनिक जहाजहरूको तैनाथी र क्षेत्रीय सम्पत्तिको परिचालन समावेश छ) का लागि थप ६३ करोड डलर खर्च भएको अनुमान छ।

INTERACTIVE-FORD-1-1701179927-1772505067

सेन्टर फर न्यु अमेरिकन सेक्युरिटीका अनुसार, यूएसएस जेराल्ड आर फोर्ड जस्तो क्यारियर स्ट्राइक ग्रुप सञ्चालन गर्न दैनिक करिब ६५ लाख डलर खर्च हुन्छ।

उपकरणको नोक्सानीसँग जोडिएका लागतहरू पनि छन्। कुवेतमा कम्तीमा तीनवटा अमेरिकी लडाकु विमानहरू खसालिएका थिए, जसलाई अमेरिकी अधिकारीहरूले ‘फ्रेन्डली फायर’ अर्थात् आफ्नै पक्षको प्रहारबाट भएको दुर्घटना भनेका छन्।

तर विज्ञहरू भन्छन्- सबैभन्दा ठुलो चिन्ता आर्थिक लागत नभएर हतियारको भण्डारण हो।

प्रेबलले भने, ‘लागतको हिसाबले यो धान्न सकिने खालको छ। अमेरिकाको रक्षा बजेट एक ट्रिलियन डलरको छ र यसलाई १.५ ट्रिलियन पुर्‍याउने प्रस्ताव छ, जुन मलाई डरलाग्दो लाग्छ, तर राष्ट्रपति यसमा प्रतिबद्ध छन्। त्यसैले, एक ट्रिलियन डलरले धेरै काम गर्छ। मुख्य प्रश्न अमेरिकी भण्डारमा भएका हतियारहरूको हो, विशेषगरी ब्यालेस्टिक मिसाइलहरूलाई रोक्न प्रयोग गरिने प्याट्रियट मिसाइल वा एसएम-६ जस्ता इन्टरसेप्टरहरूको।’

प्रेबलले चेतावनी दिए कि उच्च दरमा भइरहेको मिसाइल रोक्ने कार्य अनिश्चित कालसम्म जारी रहन सक्दैन। ‘अहिलेको इन्टरसेप्सनको गति हेर्दा यो अनिश्चित कालसम्म चल्न सक्दैन, सायद केही हप्ताभन्दा बढी निरन्तर नहुन सक्छ भनेर अनुमान गर्नु मनासिब हुन्छ,’ उनले भने।

उनले जुन महिनामा इरानसँग भएको १२ दिने द्वन्द्वको क्रममा पनि यस्तै चिन्ताहरू उठेको उल्लेख गरे, जब अमेरिका र इजरायली सेना दुवैसँग इन्टरसेप्टरको भण्डार सकिँदै गएको अनुमान गरिएको थियो। यद्यपि केही आपूर्तिहरू पछि थपिएका हुन सक्छन्, तर यी इन्टरसेप्टरहरू अन्य क्षेत्रहरूका लागि पनि छुट्याइएका छन्।

‘यी मध्ये केही इन्टरसेप्टरहरू रुसी आक्रमणको सामना गर्न युक्रेन पठाउने योजना थियो। केही एसिया र इन्डो-प्यासिफिक क्षेत्रमा प्रयोग भइरहेका छन्। त्यहाँ आपतकालीन अवस्था आएमा तिनीहरू महत्त्वपूर्ण हुन्छन्,’ उनले भने, ‘त्यसैले, ती हतियारहरू अन्य क्षेत्रबाट यता ल्याउँदा अर्को चिन्ता थपिन सक्छ।’

सकिएका हतियारहरूको सट्टामा नयाँ हतियार तत्काल उत्पादन गर्न सम्भव छैन। ‘प्याट्रियट मिसाइल वा एसएम-६... धेरै जटिल उपकरण हुन्,’ प्रेबलले थपे, ‘यस्तो होइन कि उनीहरूले दैनिक सयौँ वा हजारौँको संख्यामा यी हतियार उत्पादन गरिरहेका छन्। उत्पादनको गति त्यति छिटो हुँदैन।’

अल जजिरा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप