सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विजय र रश्मिकाको रिसेप्सन आज

बुधबार, २० फागुन २०८२, १० : २७
बुधबार, २० फागुन २०८२

सारांश

  • विजय देवरकोन्डा र रश्मिका मन्दानाको विवाहको रिसेप्सन हैदराबादको ताज कृष्णामा हुँदैछ।
  • विवाह गत फेब्रुअरीमा उदयपुरमा परिवार र साथीहरूको उपस्थितिमा भएको थियो।
  • रिसेप्सनमा विभिन्न फिल्म क्षेत्रका हस्ती र राजनीतिज्ञहरूको उपस्थिति रहनेछ।

हैदराबाद । साउथ फिल्म उद्योगका चर्चित जोडी विजय देवरकोन्डा र रश्मिका मन्दानाको विवाहको भव्य रिसेप्सन पार्टी आज हैदराबादको होटल ताज कृष्णामा आयोजना गरिँदैछ। गत फेब्रुअरी २६ मा राजस्थानको उदयपुरमा सीमित पारिवारिक सदस्य र नजिकका साथीहरूका बिच वैवाहिक बन्धनमा बाँधिएका यो जोडीले आज आफ्ना सहकर्मी र विशिष्ट पाहुनाहरूका लागि विशेष समारोह राखेका हुन्।

उदयपुरको आईटीसी ममेन्टोस रिसोर्टमा भएको विवाहमा करिब २५० जना मात्रै आमन्त्रित थिए। तर, आजको रिसेप्सनमा भने हिन्दी, तमिल, तेलुगु, मलयाली र कन्नड फिल्म क्षेत्रका ठूला हस्तीहरूका साथै प्रभावशाली राजनीतिज्ञहरूको समेत उपस्थिति रहने बताइएको छ। उच्च पदस्थ व्यक्तिहरूको आगमनलाई ध्यानमा राख्दै हैदराबादका स्थानीय अधिकारीहरूसँगको समन्वयमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ।

बिना कार्ड प्रवेश निषेध र कडा सुरक्षा

रिसेप्सन समारोहलाई निकै निजी र सुरक्षित बनाउन आयोजकले विशेष मापदण्ड अपनाएका छन्। आइतबार जारी गरिएको आधिकारिक विज्ञप्ति अनुसार वैध निमन्त्रणा कार्डबिना कसैलाई पनि भित्र जान अनुमति दिइने छैन।

गेस्ट लिस्टलाई निकै सीमित राखिएको छ र सुरक्षा जाँचपछि मात्रै पाहुनाहरूले प्रवेश पाउनेछन्। हाइ-प्रोफाइल पाहुनाहरूको सुरक्षाका लागि निजी सुरक्षाकर्मीका साथै अतिरिक्त सुरक्षा बल समेत परिचालन गरिएको छ।

विजय र रश्मिकाको विवाह दुई फरक सांस्कृतिक परम्परा अनुसार सम्पन्न भएको थियो। फेब्रुअरी २६ को बिहान तेलुगु रीतिरिवाज अनुसार विवाहका कार्यक्रम भएका थिए भने साँझ रश्मिकाको पुर्ख्यौली कोडवा परम्परा अनुसार वैवाहिक संस्कार पूरा गरिएको थियो।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेको चर्चा चले पनि यो जोडीले आफ्नो विवाहलाई अन्तिम समयसम्म निकै गोप्य राख्न सफल भएको थियो। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप