शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

एसियाली सेयर बजारमा पहिरो

बुधबार, २० फागुन २०८२, १६ : ५२
बुधबार, २० फागुन २०८२

सारांश

  • मध्यपूर्वबाट तेल आपूर्तिमा अवरोधको चिन्ताले एसियाली सेयर बजार घटेको छ।
  • दक्षिण कोरियाको कोस्पी सूचकाङ्क १३.७१ प्रतिशतले घट्यो भने जापान र ताइवानका बजार पनि ओरालो लागे।
  • अमेरिकी राष्ट्रपति ट्रम्पले खाडी हुँदै जाने जहाजका लागि बीमा र ग्यारेन्टी दिने आदेश दिएका छन्, तर तेलको मूल्य बढ्यो।

हङकङ । बुधबार एसियाली सेयर बजार राताम्मे बनेको छ । मध्यपूर्वबाट तेल आपूर्तिमा सम्भावित अवरोधको चिन्ताले बुधबार सेयर परिसूचक तीव्र रूपमा घटेको हाे । सबैभन्दा मारमा दक्षिण कोरियाली सेयर परिसूचक परेको छ ।

दक्षिण कोरियाको कोस्पी सूचकाङ्क १३ दशमलव ७१ प्रतिशतले घटेर बजार बन्द हुँदा ५ हजार ९३ दशमलव ५४ अङ्कमा आएको थियो । मङ्गलवार पनि कोस्पी ७ प्रतिशतले घटेको थियो । साक्सोका रणनीतिकार निल विल्सनका अनुसार यसवर्ष ठुला चिप कम्पनीहरूको उच्च वृद्धि पछि आएको बिक्री दबाबले सूचकाङ्कलाई विशेष असर पारेको हो ।

साे क्षेत्रका अन्य बजारहरू पनि बुधबार दबाबमा रहे । जापानको निक्केई बजार बन्द हुँदा ४ दशमलव शून्य ८ प्रतिशतले घटेर २  हजार २०६ दशमलव शून्य ५ अङ्कमा आयो । चिप निर्माता कम्पनीमा निर्भर ताइवानको टीएसईएक्स ५०.४ दशमलव १ प्रतिशतले झरेर १ हजार ४९४ दशमलव ७७ अङ्क कायम भएको थियो ।

हङकङमा पनि हाङसेङ २ दशमलव १९ प्रतिशतले घट्दा चीनको सांघाई कम्पोजिट झन्डै १ प्रतिशतले तल आयो । एसियाली अर्थतन्त्रहरू मध्यपूर्वबाट आउने तेलमा अत्यधिक निर्भर छन् । यी तेल मुख्यतः इरानले आंशिक नियन्त्रण गरेको हर्मुज जलडमरू हुँदै आपूर्ति हुन्छ ।

उक्त जलमार्गमार्फत हुने ढुवानी लगभग ठप्प भएको र खाडी क्षेत्रको अधिकांश ऊर्जा निर्यात विश्व बजारबाट कटिएको बताइएको छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार गत वर्ष सो जलडमरूबाट ढुवानी भएको कच्चा तेलको ८० प्रतिशतभन्दा बढी एसियातर्फ गएको थियो ।

ऊर्जा आपूर्ति अवरुद्ध हुने चिन्ताबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार खाडी हुँदै जाने जहाजका लागि अमेरिकी सरकारबाट बीमा र ग्यारेन्टी दिने आदेश दिएका छन् । आवश्यक परे अमेरिकी नौसेनाले ट्यांकरलाई हर्मुज जलडमरुबाट पार गराउने पनि उनले बताएका छन् ।

यद्यपि, यो हस्तक्षेपपछि पनि तेल र प्राकृतिक ग्यासको मूल्य बुधबार बढ्दो क्रममा रह्यो । तेलको अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुड बिहानी कारोबारमा १ प्रतिशतले बढेर प्रतिब्यारेल ८२ डलर पुगेको छ भने अमेरिकी बेन्चमार्क डब्लूटीआई पनि उस्तै दरले बढेको छ ।

युरोपमा भने बेलायत, जर्मनी, फ्रान्समा सेयर बजार मंगलबारको तीव्र गिरावटपछि बुधबार सकारात्मक क्षेत्रमा फर्किएका छन् । अमेरिकी फ्युचर्सले पनि बजार केही उक्लिएर खुल्ने सङ्केत दिएका छन् ।

जेफरिजका विश्लेषक मोहितकुमारले लेखेका छन्, ‘अमेरिकी लगानीकर्ता ट्रम्पले के गर्छन् भन्नेमा बढी केन्द्रित छन्, तर इरानको सम्भावित प्रतिक्रियालाई कम आकलन गरिरहेका छन्’ उनले थपे, ‘हामी भने अझै सतर्क धारमै छौँ र बजार किन्ने अवस्थामा छैनौ ।’

मध्यपूर्वमा द्वन्द्व लामो समय तानिएमा विश्वभर मुद्रास्फीति बढ्न र आर्थिक वृद्धि सुस्त हुनसक्ने अर्थशास्त्रीहरूले चेतावनी दिएका छन् । तेलको खुद निर्यातकर्ता भएकाले अमेरिका युरोप र एसियाभन्दा कम प्रभावित हुनसक्ने ठानिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप