सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
प्रतिनिधिसभा निर्वाचन

ठुलो उलटफेरको संकेतः कोशी प्रदेशमा कसले कति जित्लान् सिट ?

एमाले–कांग्रेसका 'किल्ला'हरू हलचलको सम्भावना !
बिहीबार, २१ फागुन २०८२, १८ : १२
बिहीबार, २१ फागुन २०८२

सारांश

  • प्रतिनिधिसभा निर्वाचनले कोशी प्रदेशमा विगतका परिणाममा ठूलो उलटफेर ल्याउने संकेत गरेको छ।
  • विभिन्न सर्वेक्षण र मतदाताको रुझानले रास्वपा र श्रम संस्कृति पार्टीले परम्परागत दललाई चुनौती दिने देखाउँछ।
  • विश्लेषकका अनुसार, यस पटकको निर्वाचनले विगतका गढ तोड्ने सम्भावना रहेको छ।

विराटनगर । निर्वाचन भएको पाँच वर्षे कार्यकाल पूरा नहुँदै आज सम्पन्न प्रतिनिधिसभा निर्वाचनले विगतका परिणाममा ठुलो उलटफेर ल्याइदिने संकेत गरेको छ ।

विभिन्न सर्भेक्षण, भेटघाट, कुराकानी र मतदाताको रुझान हेर्दा सजिलै अनुमान गर्न सकिन्छ कि विगतमा कांग्रेस, एमालेको दबदबा रहने कोशी प्रदेशको झापा, मोरङ, सुनसरी मात्रै होइन पहाडि इलाकामा पनि अप्रत्याशित नतिजा आउन सक्छ । 

अबका केही घण्टामा खोलिने मतपेटिका र त्यसमा रहेको मतको गणनाले हाम्रा अनुमान यथार्थ हुनपनि सक्छ र नहुन पनि सक्छ । तर, यथार्थको नजिक पुगेर हामीले अनुमान गर्ने कोशिष गरेका छौँ । राजनीतिक विश्लेषक प्रा. कृष्ण पोखरेलले विगतका गढ यस पटकको निर्वाचनले तोड्ने दाबी गरे । ‘यस पटकको निर्वाचनले विगतका गढ तोडिन्छन्,’ पोखरेलले भने, ‘हामीले हेर्दा नयाँ भनिएका रास्वपा र श्रम संस्कृति पार्टीले नै कोशीमा परम्परागत दललाई समस्यामा पारेका छन् ।’ 

२०७९ सालको निर्वाचनमा कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमध्ये नेकपा एमालेले १३ सिटमा विजयी हासिल गर्दै कोशीमा ठुलो दल बनेको थियो । त्यसबेला एमालेले ताप्लेजुङ, पाँचथरसहित इलामको दुईवटै निर्वाचन क्षेत्रमा क्लिन स्वीप गर्‍यो । झापामा २, ४ र ५ नम्बर क्षेत्रमा विजयी भयो । मोरङमा २ नम्बर निर्वाचन क्षेत्र, सुनसरीमा २ र ३ नम्बर निर्वाचन क्षेत्रमा विजयी भयो । यस्तै धनकुटा, सोलुखुम्बु र उदयपुरको २ नम्बर निर्वाचन क्षेत्रमा पनि एमालेका उम्मेदवार विजयी भए । एमालेले समग्र प्रदेशमा १३ वटा निर्वाचन क्षेत्रमा विजयी बनेको थियो । 

यस्तै प्रमुख प्रतिस्पर्धी पार्टी नेपाली कांग्रेसले झापाको १ नम्बर, संखुवासभा, तेह्रथुम, मोरङको १, ३ र ६ नम्बर क्षेत्र, सुनसरीको ४, उदयपुरको १ नम्बर क्षेत्र र ओखलढुंगामा विजयी हुँदै ९ वटा निर्वाचन क्षेत्र सुरक्षित गर्‍यो ।  

तेस्रो स्थानमा रहेको नेकपाले भने कोशी प्रदेशमा जम्मा ३ सिट सुरक्षित गरेको थियो । जसमा मोरङ ४, भोजपुर र खोटाङमा जित निकालेको थियो । त्यसबाहेक मोरङको ५ नम्बर निर्वाचन क्षेत्रबाट स्वतन्त्र उम्मेदवार योगी मण्डलले जिते भने सुनसरीको १ बाट जसपाबाट अशोक राई तथा झापा ३ बाट राप्रपाका राजेन्द्र लिङ्देनले निर्वाचन जितेका थिए । 

अब कहाँ के हुन सक्छ ?

संख्यात्मक रुपले एमालेले यस पटक झापाका सबैजसो सिट गुमाउन सक्छ । एमालेले इलामको १, पाँचथर, सोलुखुम्बु, सुनसरीका २ र ३ नम्बर निर्वाचन क्षेत्रै गुमाउन सक्छ । यस्तै कांग्रेसले विगतमा जितेको संखुवासभा र मोरङको तीनवटै ३ र ६ नम्बर निर्वाचन क्षेत्र, उदयपुरको १ र ओखलढुंगा गुमाउन सक्ने स्रोतहरुको अनुमान छ । 

उता, तत्कालीन नेकपा (माओवादी)सहित धेरैवटा पार्टी मिलेर बनेको हालको नेपाली कम्युनिस्ट पार्टीले संख्यामा विगतको ३ सिट जोगाउने कसरत गरे पनि त्यही ठाउँहरू नजोगिन सक्छन् । नेकपाले विगतमा नजितेका केही क्षेत्रहरू जित्न सक्छ । यस्तै राप्रपाले विगतदेखि नै आफ्नो वर्चश्व कायम गरेको झापा क्षेत्र नम्बर ३ यस पटक गुमाउन सक्ने अनुमान गरिएको छ । 

विशेषगरी पहाडी तथा तराई–मधेसको आदिवासी (राई, लिम्बू बसोबास) क्षेत्रमा मत जित्ने अवस्था नभए पनि हर्क साम्पाङको श्रम संस्कृति पार्टीले ल्याउने मतले कांग्रेस, एमाले, रास्वपा र नेकपाले जुनसुकै क्षेत्रबाट अप्रत्याशित जित निकाल्न सक्छन् । यस्तै तराई मधेशमा रास्वपाले नजित्ने क्षेत्रमा उसले ल्याउने मतले अन्य पार्टीहरूको अनुमान फेल खाँदै अप्रत्याशित नजिताहरू आउन सक्छन् । 

मतदाताको रुझान हेर्दा यस पटक रास्वपाले भने समानुपातिकतर्फ सबैभन्दा ठुलो दलको हैसियत कायम गर्ने लगभग निश्चितजस्तै छ । धेरैजसो मतदाता प्रत्यक्षमा चिनेजानेका सहयोगी उम्मेदवारलाई भोट हाले पनि समानुपातिकमा रास्वपालाई दिने बताउँछन् । त्यस्तो कुरा गर्नेहरूमा विगतमा राजनीतिक पार्टीकै माथिल्लो ओहोदामा बसेर काम गरेकाहरू पनि छन् ।

कोशीमा प्रत्यक्षमा पनि कांग्रेस–एमाले र नेकपालाई जित्दै पहिलो पार्टी रास्वपा नै बन्न सक्ने देखिन्छ । दोस्रोमा कांग्रेस र तेस्रोमा एमाले र नेकपाले प्रतिस्पर्धा गर्न सक्छन् । उता, श्रम संस्कृति पार्टीले उल्लेख्य समानुपातिक मत पाए पनि प्रत्यक्षमा एक सिट निकाल्न मुस्किल पर्नसक्छ ।

अरु राप्रपा, उज्यालो नेपाल पार्टी, राष्ट्रिय ऊर्जाशील पार्टी, मंगोल नेशनल अर्गनाइजेसन लगायतले समानुपातिकमा केही मत ल्याए पनि प्रत्यक्षमा सिट सुरक्षित गर्न मुस्किल पर्ने देखिन्छ । 

(कोशी प्रदेश संवाददाता अर्जुन आचार्यसँगै रातोपाटीले टिमले करिब एक महिना लगाएर गरेको मत सर्वेक्षण रिपोर्ट) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप