सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

महोत्तरीमा ५९.८६ प्रतिशत मतदान, रातिदेखि नै मतगणना हुन सक्ने

बिहीबार, २१ फागुन २०८२, २२ : ०४
बिहीबार, २१ फागुन २०८२

सारांश

  • महोत्तरी जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनमा ५९.८६ प्रतिशत मत खसेको छ।
  • निर्वाचनमा २ लाख ५८ हजार १५७ मतदाता सहभागी भए जसमा महिला, पुरुष र अन्यको संख्या रहेको छ।
  • बर्दिवासको एक मतदान केन्द्रमा भएको विवादबाहेक जिल्लाभर मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भयो।

जनकपुरधाम । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत महोत्तरी जिल्लामा कुल मतदाता चार लाख ३१ हजार २८२ मध्ये दुई लाख ५८ हजार १५७ जनाले मतदान गरेका छन् । यो कुल मतको ५९.८६ प्रतिशत हो ।

निर्वाचनमा एक लाख ३५ हजार ८५० महिला, एक लाख २२ हजार ३०५ पुरुष तथा २ अन्य गरी कुल दुई लाख ५८ हजार १५७ मतदाता सहभागी भएका हुन् । बर्दिवासको एक मतदान केन्द्रमा भएको विवादका कारण केही घण्टा मतदान अवरुद्ध भए पनि त्यसबाहेक जिल्लाभर मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ । 

क्षेत्रगत रूपमा हेर्दा महोत्तरी क्षेत्र नम्बर १ मा ५९ मतदान स्थलमा रहेका १३० मतदान केन्द्रमार्फत एक लाख ५ हजार ६४६ मतदाता रहेकामा ६६ हजार २६६ मत खसेको छ । त्यस्तै क्षेत्र नम्बर २ मा ६२ मतदान स्थलका १३३ मतदान केन्द्रमा रहेका एक लाख ७ हजार ५९४ मतदातामध्ये ६४ हजार ८४५ जनाले मतदान गरेका छन् । 

यता क्षेत्र नम्बर ३ मा ७७ मतदान स्थलका १४२ मतदान केन्द्रमा रहेका एक लाख १० हजार ४३६ मतदातामध्ये ६१ हजार ७३७ ले मतदान गरेका छन् । त्यसैगरी क्षेत्र नम्बर ४ मा ६० मतदान स्थलका १३१ मतदान केन्द्रमा रहेका एक लाख ७ हजार ६०६ मतदातामध्ये ६५ हजार ३०९ मत खसेको छ । 

लैंगिक आधारमा क्षेत्र नम्बर १ मा ३४ हजार ५१५ महिला, ३१ हजार ७५० पुरुष तथा १ अन्यले मतदान गरेका छन् ।

क्षेत्र नम्बर २ मा ३४ हजार ५७८ महिला र ३० हजार २६७ पुरुषले मतदान गरेका छन् । क्षेत्र नम्बर ३ मा ३३ हजार ३७ महिला, २८ हजार ६९९ पुरुष तथा १ अन्यले मतदान गरेका छन् भने क्षेत्र नम्बर ४ मा ३३ हजार ७२० महिला र ३१ हजार ५८९ पुरुष मतदाताले मतदान गरेका छन् । 

यसैबिच मतदान सम्पन्न भएसँगै मतपेटिका सम्बन्धित निर्वाचन कार्यालयहरूमा बुझ्ने कार्य भइरहेको महोत्तरीका मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार आजै राति सर्वदलीय बैठक बोलाइएको छ र सहमति भएमा आज रातिदेखि नै मतगणना सुरु हुन सक्नेछ ।

मतगणनाका लागि आवश्यक सबै तयारी पूरा भइसकेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप