वामपन्थीको किल्ला भत्काउँदै संसद्मा विज्ञको प्रवेश
सारांश
- आशिष गजुरेल, जो सडक सुरक्षाका विज्ञ थिए, रास्वपाबाट चुनाव जितेर सांसद बनेका छन्।
- उनले सिन्धुली-२ मा वामपन्थीको किल्ला भत्काउँदै प्रभावशाली नेता लेखनाथ दाहाललाई हराए।
- गजुरेलले यसअघि नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशकको रूपमा काम गरिसकेका छन्।
काठमाडौँ । नेपालको अव्यवस्थित यातायात र बढ्दो सडक दुर्घटनाका विषयमा पत्रपत्रिकामा निरन्तर लेख्ने र समाधानका उपाय सुझाउने एउटा परिचित नाम हो– आशिष गजुरेल ।
हिजोसम्म सडक सुरक्षा, ट्राफिक व्यवस्थापन र पूर्वाधार विकासका विज्ञका रूपमा चिनिएका तिनै गजुरेलको परिचय अब फेरिएको छ । प्रतिनिधि सभा सदस्यका रूपमा गजुरेल अब माननीय बनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ को उम्मेदवार बनेका गजुरेलले दशकौँदेखि वामपन्थीको वर्चस्व रहेको लालकिल्ला भत्काउँदै संसद्मा सानदार इन्ट्री मारेका छन् ।
सिन्धुली–२ लाई कम्युनिस्ट, त्यसमा पनि विशेषगरी माओवादीको आधार इलाका मानिन्थ्यो । २०६४ यताका चारवटा ठुला निर्वाचनमध्ये तीनपटक (२०६४, २०७४ र २०७९) यहाँ माओवादीले नै एकछत्र राज गरेको थियो। तर, यसपटक देशैभर रास्वपाको लहर चल्दा सिन्धुलीका दुवै क्षेत्रमा क्लिनस्वीप गरेको छ ।
मतगणनाको सुरुवाती चरणमा केही पछि परे पनि अन्त्यमा गजुरेलले नेकपाका प्रभावशाली नेता तथा पूर्वसांसद लेखनाथ दाहाललाई ३ हजार १६० मतान्तरले पराजित गरे । कडा प्रतिस्पर्धाका बिच गजुरेलले १७ हजार ९४० मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी दाहालले १४ हजार ७८० मत पाए । त्यस्तै, एमालेका मनोजजंग थापाले ११ हजार ६०६ मत र नेपाली कांग्रेसकी सुशीला थिङले ६ हजार ७६० मत प्राप्त गरिन् ।
२०७४ सालमा यही क्षेत्रबाट माओवादीका तर्फबाट चुनाव जितेका नेता हरिबोल गजुरेल आशिषका काका हुन् । काका र वामपन्थीको लामो राजनीतिक विरासत तोड्दै युवा जोस, प्राविधिक विज्ञता र परिवर्तनको एजेन्डा बोकेर आएका आशिषले सिन्धुली–२ का मतदाताको मन जित्न सफल भए । उनी अब पूर्वधार विज्ञबाट माननीय हुँदै संसद्मा प्रवेश गरेका छन् ।
जर्मनीको शिक्षादेखि नेपालको सुक्खा बन्दरगाहसम्म
आशिष गजुरेल राजनीतिमा रातारात उदाएका पात्र होइनन् । उनी आफ्नो क्षेत्रमा प्रमाणित नेतृत्व हुन् । जर्मनीको म्युनिखस्थित टेक्निकल युनिभर्सिटीबाट मास्टर्स इन ट्रान्सपोर्टेसन सिस्टम अध्ययन गरेका उनी पेसाले इन्जिनियर हुन् । विगतमा नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को महासचिव भएर काम गरिसकेका उनी यातायात बेथितिविरुद्ध प्रखर वक्ता र लेखक हुन् ।
उनको प्रशासनिक र व्यवस्थापकीय क्षमता नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशक भएर करिब दुई कार्यकाल काम गरिसकेका छन् । चुनाव लड्नकै लागि उनले उक्त पदबाट राजीनामा दिएका थिए । उनको दुई कार्यकाल समितिका लागि स्वर्णिम युग नै साबित भयो।
गजुरेलकै पालामा काठमाडौँको चोभारस्थित सुक्खा बन्दरगाहको निर्माण सम्पन्न भई सञ्चालनमा आयो। त्यति मात्र होइन, विगत २० वर्षदेखि अलपत्र अवस्थामा रहेको दोधारा–चाँदनी सुक्खा बन्दरगाहको निर्माण कार्य उनकै पहलमा सुरु भएको थियो ।
आम्दानीका हिसाबले पनि उनले चमत्कार नै गरे । उनले कार्यभार सम्हाल्नुअघि वार्षिक ८० करोड रुपैयाँ मात्र आम्दानी गर्ने समितिलाई आफ्नो छोटो कार्यकालमै वार्षिक १८० करोड रुपैयाँ आम्दानी गर्ने मजबुत स्तरमा पुर्याएका थिए । अब उनले पूर्वाधार विकासको क्षेत्रमा नीतिगत सुधारको क्षेत्रमा काम गर्ने अपेक्षा गरिएको छ ।
संसद्मा विज्ञको प्रवेश
अहिलेसम्म सडक र मिडियाबाट सरकारलाई यातायात क्षेत्रका सुधारबारे सुझाव दिने गजुरेल अब आफैँ नीति निर्माणको थलोमा पुगेका छन्। यातायात र आपूर्ति व्यवस्थापनमा दख्खल भएको अब्बल व्यक्ति संसदमा पुग्न सकारात्मक हो । सडक सुरक्षा विज्ञ गजुरेलले अब राष्ट्रिय गौरवका आयोजनाहरू प्राविधिक नेतृत्वको रूपमा संसद्मा आवाज बन्नुपर्छ ।
भाषण र आश्वासनको राजनीतिबाट आजित सिन्धुली–२ का जनताले यसपटक काम गरेर देखाएको एउटा प्राविधिक विज्ञलाई अनुमोदन गरेका छन्। सरकारी अड्डामा बसेर सुक्खा बन्दरगाहको सफल नेतृत्व गरेका गजुरेलले संसद्को रोस्ट्रमबाट देशको समग्र यातायात तथा पूर्वाधार नीतिका लागि कस्तो ब्लुप्रिन्ट कोर्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण