शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
नयाँ संसद‍्मा विज्ञको अनुहार

९ जना पीएचडीधारीसहित संसद‍्मा कस्ता आए विज्ञ ?

बुधबार, २७ फागुन २०८२, १६ : ०६
बुधबार, २७ फागुन २०८२

सारांश

  • प्रतिनिधिसभा निर्वाचनपछि नयाँ संसद्मा विज्ञ र उच्च शिक्षित व्यक्तिहरूको उल्लेख्य प्रवेश भएको छ।
  • यसपटकको संसद्मा ९ जना विद्यावारिधि (पीएचडी) गरेका सांसद निर्वाचित भएका छन्, जसमा रास्वपाबाट ८ र एमालेबाट १ जना छन्।
  • विभिन्न क्षेत्रका विशेषज्ञहरू निर्वाचित भएका छन्, जसमा डाक्टर, इन्जिनियर, अर्थशास्त्री र विकास विज्ञहरू छन्।

काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि गठन हुने नयाँ संसद्मा उल्लेख्य संख्यामा विज्ञ तथा उच्चशिक्षित व्यक्तिहरू प्रवेश गर्ने भएका छन् । प्रत्यक्षतर्फका १६५ सिटमध्ये विभिन्न क्षेत्रका विशेषज्ञ र प्राज्ञिक पृष्ठभूमि भएका उम्मेदवारहरू विजयी भएका हुन् ।

यसपटकको संसद्मा विद्यावारिधि (पीएचडी) गरेका ९ जना सांसद निर्वाचित भएका छन् । तीमध्ये ८८८ जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)८८बाट र १ जना नेकपा एमालेबाट विजयी भएका छन् ।

रास्वपाबाट पीएचडीधारी सांसदमा डा. स्वर्णिम वाग्ले (तनहुँ–१), डा. कृष्णहरि बुढाथोकी (रामेछाप), डा. अमरेशकुमार सिंह (सर्लाही–४), डा. विक्रम तिमिल्सिना (नुवाकोट–१), डा. अच्युतम लामिछाने (नुवाकोट–२), डा. धनञ्जय रेग्मी (स्याङ्जा–१), डा. आनन्दबहादुर चन्द (कैलाली–५) र डा. ताराप्रसाद जोशी (डडेलधुरा–१) छन् । नेकपा एमालेबाट डा. अर्जुनकुमार कार्की संखुवासभाबाट निर्वाचित भएका छन् ।

स्वास्थ्य र विज्ञान क्षेत्रका प्रतिनिधि

डा. लेखजंग थापा न्युरोलोजीका चिकित्सक हुन् । उनले भैरहवामा पहिलो न्युरोलोजी केन्द्र स्थापना गर्नुका साथै ग्रामीण क्षेत्रमा नियमित ओपीडी सेवा सञ्चालन गरेका छन् । स्ट्रोक र अपस्मारसम्बन्धी जनचेतना अभियान तथा विद्यालयस्तरमा स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गर्नु उनका प्रमुख पहल हुन् । रूपन्देहीको अञ्चलपुरमा २०३४ सालमा जन्मिएका उनले एमडी (आन्तरिक चिकित्सा) र डीएम (न्युरोलोजी) अध्ययन पूरा गरेका छन् ।

इन्जिनियरिङ, पूर्वाधार र विकास विज्ञ

सुनील लम्साल संरचनात्मक इन्जिनियरका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पूर्वाधार परियोजनामा संलग्न रहँदै आएका छन् । उनी फोहोर व्यवस्थापनलाई वैज्ञानिक, वातावरणीय र मानवअधिकारको सन्तुलनमा दीर्घकालीन समाधान खोज्नुपर्ने विषयमा जोड दिन्छन् । हाल उनी फोहोर व्यवस्थापनसम्बन्धी विषयमा विद्यावारिधि अध्ययनरत छन् ।

अरविन्द साह पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट कम्प्युटर इन्जिनियरिङमा स्नातक गरेका हुन् । त्यसपछि उनले ग्रामीण विकासमा स्नातकोत्तर गरेका छन् । उनले “आईसीटी इन एग्रिकल्चर” विषयमा नेपालमै पहिलो पटक थेसिस गरेका थिए, जसका लागि विश्वविद्यालय अनुदान आयोगबाट आर्थिक सहयोग प्राप्त गरेका थिए । हाल उनी ग्रामीण विकासमै एमफिलरपीएचडी अध्ययनरत छन् ।

आशिष गजुरेल यातायात तथा पूर्वाधार क्षेत्रका विज्ञ हुन् । उम्मेदवारी दिनुअघि उनी नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशक थिए । ट्राफिक इन्जिनियरिङ र यातायात व्यवस्थापनमा आधारित पृष्ठभूमि भएका गजुरेल दिगो यातायात, सडक सुरक्षा र इन्टरमोडल पूर्वाधार विकासका विषयमा सक्रिय छन् ।

अर्थशास्त्र, नीति र प्रशासनका विज्ञ

डा. स्वर्णिम वाग्ले अर्थशास्त्री हुन् । उनले लन्डन स्कुल अफ इकोनमिक्स, हार्वर्ड विश्वविद्यालय र अष्ट्रेलियन नेसनल युनिभर्सिटीबाट उच्च शिक्षा प्राप्त गरेका छन् । २०७१ सालमा नेपाल फर्किएपछि उनी राष्ट्रिय योजना आयोगका सदस्य तथा उपाध्यक्ष बनेका थिए । साथै उनी संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) का एशिया–प्रशान्त क्षेत्रीय प्रमुख आर्थिक सल्लाहकारका रूपमा पनि कार्यरत थिए ।

सुशान्त वैदिक अर्थशास्त्र र सार्वजनिक नीतिका विशेषज्ञ हुन् । उनले लन्डन स्कुल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातकोत्तर तथा नर्वेजियन स्कुल अफ इकोनोमिक्सबाट अर्थशास्त्र र व्यवसाय प्रशासनमा स्नातकोत्तर गरेका छन् । बेलायतस्थित आरबीबी इकोनोमिक्समा काम गर्दै उनले प्रतिस्पर्धा नीति र बजार विश्लेषणमा अनुभव हासिल गरेका छन् ।

शिशिर खनाल अमेरिकाको युनिभर्सिटी अफ विस्कन्सिन–म्याडिसनबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गरेका छन् । टिच फर नेपाल कार्यक्रममार्फत सामुदायिक शिक्षामा उनले उल्लेखनीय योगदान दिएका छन् ।

वातावरण, पर्यटन र विकास क्षेत्र

डा । धनञ्जय रेग्मी स्याङ्जा–१ बाट निर्वाचित भएका हुन् । उनी नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत हुन् । जापानको होक्काइदो विश्वविद्यालयबाट उनले पर्यावरण पृथ्वी विज्ञानमा पीएचडी गरेका छन् । हिमताल, ग्लेसियर, जलवायु परिवर्तन र वातावरणीय जोखिम उनका अध्ययनका प्रमुख क्षेत्र हुन् ।

धर्मराज केसी ऊर्जा, दिगो विकास र जलवायु परिवर्तनसम्बन्धी परियोजनामा प्राविधिक तथा नीति विज्ञका रूपमा काम गरिसकेका छन् ।

बोधनारायण श्रेष्ठ ग्रामीण विकासमा स्नातकोत्तर गरेका विकास विज्ञ हुन् । उनले युनिसेफ नेपाल, नेपाल रेडक्रस सोसाइटीलगायत संस्थामा करिब १७ वर्ष खानेपानी, सरसफाइ तथा स्वच्छता परियोजनामा काम गरेका छन् ।

शिक्षा, अनुसन्धान र कूटनीति

डा. अर्जुन कार्की विकास अर्थशास्त्र र कूटनीतिका विज्ञ हुन् । उनी नेपालका लागि अमेरिकाका पूर्व राजदूतसमेत हुन् । उनले युनिभर्सिटी अफ इस्ट एन्ग्लियाबाट ‘नेपालमा गरिबी र तल्लो तहका आन्दोलन’ विषयमा पीएचडी गरेका छन् ।

डा. आनन्दबहादुर चन्द त्रिभुवन विश्वविद्यालय पाटन बहुमुखी क्याम्पसमा १७ वर्ष उपप्राध्यापकका रूपमा कार्यरत थिए । जैविक रसायनशास्त्रमा स्नातकोत्तर गरेका उनले अमेरिकाको नर्थ क्यारोलिना ए एन्ड टी स्टेट युनिभर्सिटीसँग सहकार्यमा पीएचडी गरेका छन् ।

डा. ताराप्रसाद जोशी जवाहरलाल नेहरू विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा पीएचडी गरेका छन् । सार्वजनिक नीति, सार्वजनिक वित्त, मानव अधिकार र अन्तर्राष्ट्रिय सम्बन्धका क्षेत्रमा उनको अनुभव छ ।

विज्ञान र प्रविधि क्षेत्रका अग्रणी

महावीर पुन विज्ञान र प्रविधि क्षेत्रमा योगदानका लागि अन्तर्राष्ट्रिय स्तरमा परिचित व्यक्तित्व हुन् । म्याग्दीका ग्रामीण बस्तीमा ताररहित इन्टरनेट विस्तार गरेबापत उनलाई सन् २००७ मा प्रतिष्ठित रोमन म्यागासेसे पुरस्कार प्रदान गरिएको थियो ।

बहुविषय अध्ययन गर्ने प्राज्ञ

डा । कृष्णहरि बुढाथोकी अर्थशास्त्र विभाग, त्रिभुवन विश्वविद्यालयबाट हालै विद्यावारिधि हासिल गरेका हुन् । उनले अंग्रेजी साहित्य, इतिहास, राजनीतिशास्त्र, ग्रामीण विकास, समाजशास्त्र र अर्थशास्त्र गरी ६ वटा विषयमा स्नातकोत्तर गरेका छन् । उनको शोध नेपालको राजनीतिक नेतृत्व र आर्थिक विकासबीचको सम्बन्धमा केन्द्रित छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप