बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
प्रतिनिधिसभा निर्वाचन-२०८२

लुम्बिनीबाट आए ४० वर्षमुनिका ११ जना सांसद

बुधबार, २७ फागुन २०८२, १७ : ००
बुधबार, २७ फागुन २०८२

सारांश

  • लुम्बिनी प्रदेशमा सम्पन्न निर्वाचनमा २६ सिटमध्ये ४० वर्षमुनिका ११ जना युवा निर्वाचित भएका छन्।
  • गुल्मी, रुपन्देही, दाङ, बाँके, अर्घाखाँची र प्युठानका युवा उम्मेदवारले प्रभावशाली नेताहरूलाई पराजित गरे।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धेरै युवा सांसदहरू निर्वाचित भए, कांग्रेसबाट १ जना मात्रै निर्वाचित भए।

बुटवल । प्रतिनिधिसभामा लुम्बिनी प्रदेशबाट २६ सिटको प्रतिनिधित्व हुन्छ । फागुन २१ मा सम्पन्न निर्वाचनबाट यीमध्ये ११ सिटमा ४० वर्षमुनिका युवाहरू निर्वाचित भएका छन् । जसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीबाट १० जना र नेपाली कांग्रेसबाट १ जना छन् । 

राष्ट्रिय राजनीतिमा लामो समयदेखि प्रभुत्व जमाइरहेका नेताहरूलाई पराजित गर्दै झन्डै आधा क्षेत्रमा युवाहरूले दबदबा बनाएका छन् । 

गुल्मी क्षेत्र नम्बर १ मा रास्वपाका ३४ वर्षीय सागर ढकाल निर्वाचित भएका छन् । गुल्मीको सत्यवती गाउँपालिका पिपलनेटामा जन्मिएका ढकालले आफूभन्दा पाका नेता चन्द्र भण्डारी र प्रदीप ज्ञवालीलाई पराजित गर्दै संसदीय यात्रा सुरू गरेका छन् । ढकालले २९ हजार ६४२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी एमालेका प्रदीपकुमार ज्ञवालीले १५ हजार १८१ मत मात्रै ल्याए । 

लुम्बिनीका १२ जिल्लामध्ये सबैभन्दा धेरै युवा सांसद जित्ने जिल्ला रुपन्देही बनेको छ । यहाँका ५ निर्वाचन क्षेत्रमध्ये ४ वटामा युवा उम्मेदवार विजयी भएका छन् । ती सबै रास्वपाबाट हुन् । रुपन्देही–१ मा तिलोत्तमा नगरपालिकाका बासिन्दा ३५ वर्षीय सुनिल लम्साल ५४ हजार ८४५ मतसहित विजयी भए । उनले कांग्रेसका उम्मेदवार तथा देवदह नगरपालिकाका पूर्व नगरप्रमुख हीराबहादुर खत्रीलाई पराजित गरे । खत्रीले ११ हजार ९८२ मत प्राप्त गरे ।

रुपन्देही–२ मा २८ वर्षीय सुलभ खरेल निर्वाचित भए । बुटवल उपमहानगरपालिकाका बासिन्दा खरेलले एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेललाई पराजित गरे । खरेलले ५६ हजार ५५० मत ल्याउँदा पौडेलले १२ हजार ८६१ मत मात्रै ल्याए । 

रुपन्देही–४ मा ३६ वर्षीय कन्हैया बनिया विजयी भए । यसअघि प्रदेशसभा सदस्य रहेका बनियाले पदबाट राजीनामा दिँदै प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका थिए । उनले २८ हजार ६६ मत प्राप्त गर्दा एमालेका प्रमोद यादवले २० हजार २६२ मत ल्याए । रुपन्देही–५ मा ३८ वर्षीय तौफिक अहमद खान ३८ हजार ८०६ मतसहित निर्वाचित भए । उनले एमालेका उम्मेदवार तथा राष्ट्रियसभाका पूर्व सदस्य खिमलाल भट्टराईलाई २५ हजार ७०६ मतान्तरले पराजित गरे । 

दाङमा पनि युवा प्रभाव नै देखियो । तीनवटामध्ये दुईवटा निर्वाचन क्षेत्रमा ४० वर्षमुनिका युवा निर्वाचित भएका छन् । दाङ–२ मा ३९ वर्षीय विपिनकुमार आचार्य निर्वाचित भएका छन् । उनले एमाले महासचिव तथा लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेललाई पराजित गरे । आचार्यले ४३ हजार ५५९ मत ल्याउँदा पोखरेलले १५ हजार २८७ मत प्राप्त गरे ।

दाङ–३ मा रास्वपाका ३८ वर्षीय कमल सुवेदी विजयी भए । उनले कांग्रेसका पूर्वमन्त्री दीपक गिरी र एमालेबाट मेयर जितेका घनश्याम पाण्डेयलाई पराजित गरे । सुवेदीले ४४ हजार २४८ मत प्राप्त गरे ।

बाँके–३ मा ३५ वर्षीय खगेन्द्र सुनार २९ हजार ५५१ मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका सुमन मल्लले १९ हजार ६१५ मत प्राप्त गरे । अर्घाखाँचीमा रास्वपाका ३७ वर्षीय हरिप्रसाद भुसाल विजयी भए । लामो समय पत्रकारिता गरेका भुसालले २२ हजार ६४९ मत प्राप्त गर्दै एमालेका पीताम्बर भुसाललाई पराजित गरे । प्युठान क्षेत्र नम्बर–१ मा ३१ वर्षीय सुशान्त वैदिक निर्वाचित भए । उनले कांग्रेसका डा. गोविन्दराज पोखरेललाई पराजित गरे । वैदिकले २७ हजार ४६९ मत ल्याउँदा पोखरेलले १८ हजार ३३८ मत प्राप्त गरे ।

लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसबाट विजयी दुईमध्ये एक जना ४० वर्षमुनिका छन् । पाल्पा–१ मा कांग्रेसका ३८ वर्षीय सन्दीप राना १८ हजार ३३६ मतसहित निर्वाचित भए । उनले एमालेका नारायणप्रसाद आचार्यलाई १ हजार ५१७ मतान्तरले पराजित गरे । यहाँ कुल २६ सिटमध्ये रास्वपा २१ सिट, कांग्रेस २, नेकपा २ र एमालेले १ सिट जितेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका लुम्बिनी प्रदेश संयोजक हुन् । 

लेखकबाट थप