बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जेनजी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न माग गर्दै रास्वपालाई ज्ञापनपत्र

बुधबार, २७ फागुन २०८२, १६ : ३०
बुधबार, २७ फागुन २०८२

सारांश

  • जेनजी आन्दोलनमा पक्राउ परेकाहरुको रिहाइ र मुद्दा फिर्ताको माग गर्दै रास्वपालाई ज्ञापन पत्र बुझाइयो।
  • युवाका अभिभावकले रास्वपा कास्कीका सभापतिलाई ज्ञापनपत्र बुझाउँदै न्यायको अपेक्षा राखेका छन्।
  • ज्ञापनपत्रमा राजनीतिक प्रकृतिका मुद्दा फिर्ता र थुनामा रहेकालाई रिहा गर्न माग गरिएको छ।

पोखरा । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा पक्राउ परेकाहरूको निशर्त रिहाइ र मुद्दा फिर्ताको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीलाई ज्ञापन पत्र बुझाइएको छ । रास्वपा कास्कीले उम्मेदवारलाई बधाई ज्ञापन गर्न राखेको कार्यक्रममा आन्दोलनमा सहभागी युवाका अभिभावकले रास्वपा कास्कीका सभापति यदु अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन् । 

रास्वपाको जितसँगै पीडितहरूले न्याय पाउने उनीहरूको विश्वास छ । तत्कालीन सरकार विस्थापन गर्न र नयाँ राजनीतिक दिशा तय गर्न युवाहरूको सक्रिय सहभागितामा भएको जेन्जी आन्दोलनले महत्त्वपूर्ण भूमिका खेलेको ज्ञापनपत्रमा स्मरण गराइएको छ । पीडित राजन श्रेष्ठ र अभिभावकका तर्फबाट विवेक नाल्मीले तीन बुँदे माग राखेर ज्ञापन पत्र दिएका हुन् । 

‘आन्दोलनका क्रममा विभिन्न आन्दोलनकारीमाथि दायर गरिएका मुद्दाहरू अझै कायम रहनु र उनीहरू पुर्पक्षका लागि थुनामा रहनुपर्ने अवस्था लोकतान्त्रिक व्यवस्थामा न्यायोचित छैन,’ भनिएको छ, ‘रास्वपाले आन्दोलनप्रति सहानुभूति र अपनत्व व्यक्त गरिसकेकाले नयाँ सरकारले यस विषयमा सकारात्मक पहल गर्ने अपेक्षा हाम्रो छ ।’

उनीहरूको मागपत्रमा जेन्जी आन्दोलनका क्रममा दर्ता भएका सम्पूर्ण राजनीतिक प्रकृतिका मुद्दाहरू तुरुन्त फिर्ता लिनुपर्ने, पुर्पक्षका लागि थुनामा रहेका आन्दोलनकारीहरूलाई बिना सर्त तत्काल रिहा गर्नुपर्ने र आन्दोलनमा संलग्न नागरिकहरूलाई कुनै पनि प्रकारको राजनीतिक प्रतिशोध वा कानुनी दबाब नपर्ने सुनिश्चित गर्नुपर्ने माग गरिएको छ ।

दिपु साई, नारायण साई, समर नाल्मी, रेजन रन्जित, केशव बम्जन, खडकबहादुर थापा, बुद्ध खवास, बिना मल्ल, रिदम कार्की, एलिशा गुरुङ, रूपक नेपाली, महेन्द्र नेपाली, सागर रावत र अनिल पौडेल लगायतले उक्त ज्ञापन पत्र बुझाउन लगाएका हुन् । कास्कीबाट निर्वाचित तीनै जना सांसदलाई मागको बोधार्थ बुझाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप