मिर्गौला फेलपछि उत्तम विकल्प मिर्गौला प्रत्यारोपण
सारांश
- मिर्गौला फेल हुनुका कारण, लक्षण, निदान र उपचारबारे जानकारी दिइएको छ।
- मधुमेह, उच्च रक्तचाप, संक्रमण र पत्थरी मिर्गौला फेल हुनुका मुख्य कारण हुन्।
- प्रत्यारोपण नै मिर्गौला फेल भएका बिरामीका लागि उत्तम उपचार हो, डायलाइसिस अस्थायी विकल्प हो।
मिर्गौलाले शरीरमा पानीको मात्राको सन्तुलन कायम गर्छ । यसका साथै शरीरमा उत्पन्न हुने युरिया, क्रियाटिनिनजस्ता विषाक्त पदार्थ फाल्ने, अम्लीय पदार्थको सन्तुलन गर्ने, रक्तचाप नियमन गर्ने तथा रगत उत्पादनमा सहयोग गर्ने लगायतको महत्त्वपूर्ण काम गर्छ ।
कुनै कारणवश मिर्गौलाले आफ्नो काम गर्न नसक्ने अवस्थामा पुग्नु नै मिर्गौला फेल हुनु हो । यस्तो अवस्थामा वैकल्पिक उपाय अपनाउन सकिएन भने ज्यानै जोखिममा पर्ने सम्भावना हुन्छ ।
मिर्गौला फेल हुने कारण
मधुमेह, उच्च रक्तचाप, मिर्गौलाबाट प्रोटिन चुहिने रोग, सङ्क्रमण तथा पत्थरी भइराख्यो भने मिर्गौलालाई क्षति पुग्छ । यसका साथै वंशाणुगत कारणले पनि मिर्गौला फेल हुने जोखिम रहन्छ । विशेषगरि, मधुमेह, उच्च रक्तचाप, सङ्क्रमण तथा पत्थरीप्रति समयमै सचेत रहने हो भने धेरै हदसम्म मिर्गौला रोगबाट बच्न र बचाउन सकिन्छ ।
कसरी थाहा पाउने ?
मिर्गौला ९० प्रतिशतसम्म खराब हुँदा पनि लक्षण नदेखिन सक्छ । त्योभन्दा बढी भएपछि बल्ल लक्षण देखिन थाल्छ । मानिसले थाहा पाइसक्दा मिर्गौला पूरै बिग्रिसकेको हुने भएकाले यस रोगलाई ‘साइलेन्ट किलर’ भनिन्छ ।
कमजोरी महसुस हुने, चाँडै थकान हुने, खाना नरुच्ने, वाकवाक लाग्ने, शरीरमा पानी जम्मा हुने, खुट्टा तथा अनुहार सुन्निने, बिस्तारै रगतको उत्पादन कम हुँदै गएपछि हेमोग्लोबिन पनि कम हुने, सास फेर्न गाह्रो हुँदै जाने, रक्तचाप बढ्ने, फोक्सोमा पानी जम्मा भयो भने निस्सासिएर साधारण जीवन बिताउन कठिन हुने, मुटुको चाल गडबड हुनेजस्ता लक्षण देखिन्छन् । यसैगरी, युरिया तथा क्रियाटिनिन बढेपछि बेसुर हुने र बेहोससम्म हुने सम्भावना हुन्छ । बेलैमा उपचार गरिएन भने ज्यानै जोखिममा पर्ने सम्भावना हुन्छ ।
उपचार
९० प्रतिशत फेल भइसकेपछि लक्षण थाहा हुने रोग भएकाले समय–समयमा परीक्षण गर्नुपर्छ । मिर्गौलामा समस्या छ कि छैन भन्ने कुरा रगत तथा पिसाब परीक्षण र भिडियो एक्स–रेबाट थाहा पाउन सकिन्छ । रगतमा क्रियाटिनिनको मात्रा तथा पिसाबमा प्रोटिन चुहिएको छ कि छैन हेरिन्छ । यस्तै भिडियो एक्स–रेमार्फत् मिर्गौलाको आकारमा परिवर्तन आएको छ कि छैन भन्ने थाहा हुन्छ ।
यसरी परीक्षण गर्दा मिर्गौला फेल भएको यकिन गरिसकेपछि उपचारका लागि दुई मात्र विकल्प हुन्छन्–एउटा डायलाइसिस र अर्को प्रत्यारोपण । डायलाइसिस अस्थायी विकल्प हो । डायलाइसिस गर्दा संक्रमणको जोखिम पनि हुन्छ भने आजीवन गर्नुपर्दा आर्थिक हिसाबले पनि महँगो पर्छ । डायलाइसिस नगरे ज्यानै जोखिममा पर्नसक्छ ।
त्यसैले सबैभन्दा उत्तम उपाय भनेको प्रत्यारोपण नै हो । यसबाट बिरामीले पहिलाजस्तो जीवन जिउन, खानपान गर्न, स्वस्थ व्यक्तिसरह पेशा–व्यवसाय गर्न र देश तथा परिवारका लागि योगदान गर्न सक्छन् । प्रत्यारोपणको तयारीसम्मका लागि अस्थायी रूपमा भने डायलाइसिस गर्न सकिन्छ ।
नर्भिकमा प्रत्यारोपण सेवा
नर्भिकमा नियमित रूपमा मिर्गौला प्रत्यारोपण भइरहेको छ । यहाँ उपलब्ध उच्च प्रविधि, सबै खालका दक्ष जनशक्ति एवं विशिष्ट सेवाका कारण यहाँको प्रत्यारोपणको सफलता दर उच्च छ । यसैगरी, अङ्ग लिन सकिने भनेर नेपाल सरकारले निश्चित नियम बनाएको छ । सोहीको अधीनमा रही नर्भिकबाट मिर्गौला प्रत्यारोपण सेवा दिइन्छ ।
प्रत्यारोपणपछि ध्यान दिनुपर्ने कुरा
मिर्गौला फेल भएको पहिचान भइसकेपछि प्रत्यारोपण नै गर्नुपर्छ । प्रत्यारोपण नहुन्जेलसम्म डायलाइसिस गर्नुपर्छ । तर, प्रत्यारोपणको विकल्प डायलाइसिस होइन ।
प्रत्यारोपण भनेको अरू व्यक्तिको अङ्ग राख्ने प्रक्रिया हो । शरीरले अर्काको अङ्गलाई बाहिरिया वस्तुको रूपमा अस्वीकार गर्न खोज्छ । त्यसकारण हामीले शरीरको प्रतिरक्षा शक्ति अलि कमजोर पार्ने खालको औषधी आजीवन दिन्छौँ । त्यसले गर्दा बिरामीलाई सङ्क्रमण हुने जोखिम बढी हुने भएकाले सङ्क्रमणबाट बच्न हर सम्भव उपाय अपनाउनुपर्छ । सरुवा रोग लागेको मानिसको सम्पर्कमा आउनुहुन्न । हल्का रुघाखोकी, झाडापखाला लाग्दा पनि चिकित्सकको सल्लाह लिनुपर्छ ताकि सङ्क्रमण फैलन नपाओस् । नियमित औषधी सेवन गर्नुपर्छ, नत्र प्रत्यारोपण गरिएको मिर्गौला रिजेक्सन हुने डर हुन्छ । औषधीको साइडइफेक्ट छ कि छैन, औषधीको लेभल कति छ भन्ने थाहा पाउन पनि समय–समयमा परीक्षण गराउनुपर्छ । खानपिन भने स्वस्थ व्यक्तिसरह गर्न सकिन्छ ।
अङ्ग कसरी लिन सकिन्छ ?
बिरामीमा प्रत्यारोपण गरिने मिर्गौला तीन तरिकाबाट लिन सकिन्छ । एउटा, स्वस्थ व्यक्तिले दान गर्न सक्छन् । बिरामीका नाता पर्ने जतिले अङ्ग दान गर्न सक्छन् । नेपालमा बिरामीका ५२ जना नातेदारभित्र पर्ने व्यक्तिबाट अङ्ग लिन सकिने गरी खुकुलो कानुन बनाइएको छ । यसैगरी, आपसी साटासाट (पिअर एक्सचेन्ज) गर्न सकिन्छ । जसअनुसार नातेदारभित्र अङ्ग म्याच भएन भने गैरनातेदार परिवारबिच पनि अङ्ग साटासाट गरेर पनि प्रत्यारोपण गर्न सकिछ । मस्तिष्क मृत्यु भएका व्यक्तिबाट लिएर पनि प्रत्यारोपण गर्न सकिन्छ । मस्तिष्क मृत्यु भइसकेपछि खेर जाने अङ्गलाई परिवारको सहमतिमा लिन सकिन्छ । एक जना व्यक्तिबाट मिर्गौला,मुटु, फोक्सो, कलेजो, प्यांक्रियाज र सानो आन्द्रा गरी ८ वटा अङ्ग लिन सकिन्छ ।
कुनै व्यक्तिलाई टाउकोमा गम्भीर चोट लाग्यो, उपचार पनि सम्भव भएन भने निश्चित मापदण्डअनुसार मस्तिष्क मृत्यु भएको भनेर घोषणा गर्न मिल्छ । त्यस्ता व्यक्ति कानुनी र चिकित्सकीय रूपमा पूर्ण रूपमा मृत्यु भएका हुन्छन् । त्यस्ता व्यक्तिका अन्य अङ्ग भेन्टिलेटरको सहयोगमा अरू केही घन्टा चल्न सक्छ । त्यस्तो बेला अङ्ग दान भयो भने अन्य व्यक्तिलाई जीवन दिन सकिन्छ । यसैले यसबारे जनचेतना जगाउन पनि जरुरी छ ।
डा. पुकारचन्द्र श्रेष्ठ नर्भिक अस्पतालमा मिर्गौला तथा कलेजो प्रत्यारोपण विज्ञको रूपमा कार्यरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण