बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सुनभन्दा पनि महँगो गाईको पत्थरी !

बिहीबार, २८ फागुन २०८२, १६ : ४१
बिहीबार, २८ फागुन २०८२

सारांश

  • गाईको पित्तथैलीमा जमेर बन्ने ढुङ्गा (बोभाइन गलस्टोन्स) अन्तर्राष्ट्रिय बजारमा सुनभन्दा महँगोमा बिक्री भइरहेको छ।
  • चिनियाँ परम्परागत औषधिमा प्रयोग हुने यो वस्तु उच्च रक्तचाप, मुटु रोग र मस्तिष्कघातको उपचारमा प्रयोग गरिन्छ, जसका कारण माग बढेको हो।
  • अभावका कारण तस्करी बढेको छ भने चिनियाँ अनुसन्धानकर्ताहरूले कृत्रिम पित्तथैलीको पत्थरी बनाउन थालेका छन्।

बेइजिङ। मासु उद्योगको सबैभन्दा मूल्यवान् वस्तु के होला ? धेरैको अनुमान छाला वा अन्य अङ्ग हुनसक्छ। तर, वास्तविकता अलि फरक छ। गाईवस्तुको पित्त थैलीमा जमेर बन्ने स(साना ढुङ्गा अर्थात् बोभाइन गलस्टोन्स (पित्तथैलीको पत्थरी) अहिले अन्तर्राष्ट्रिय बजारमा सुनभन्दा पनि महँगो मूल्यमा बिक्री भइरहेको छ।

हजारौँ वर्षदेखि चिनियाँ परम्परागत औषधिमा प्रयोग हुँदै आएको यो वस्तुको मूल्य सन् २०२५ मा प्रति आउन्स ५,८०० डलर पुगेको थियो, जुन त्यस समयको सुनको मूल्यभन्दा झन्डै दोब्बर हो।

चिनियाँ औषधि विज्ञानमा निउ हुआङका नामले चिनिने यो पत्थरी विशेष गरी उच्च रक्तचाप, मुटुसम्बन्धी रोग र मस्तिष्क घातजस्ता गम्भीर स्वास्थ्य समस्याको उपचारमा प्रयोग गरिन्छ। चीनमा अहिले स्ट्रोकको दर अमेरिकाको तुलनामा तीन गुणा बढी भएकाले यसको माग र मूल्य आकासिएको हो। अङ्गङ निउ हुआङ वान जस्ता परम्परागत औषधि बनाउन यो अनिवार्य मानिन्छ।

यसको मुख्य चुनौती भनेको अभाव हो। गाई वस्तुको उमेर बढ्दै जाँदा मात्र पत्थरी बन्ने सम्भावना रहन्छ, तर आधुनिक वधशालाहरूले दक्षताका लागि कम उमेरमै गाईवस्तु काट्ने गर्छन्। यही अभाव र बढ्दो मूल्यका कारण ब्राजिल, अस्ट्रेलिया र अमेरिकाको टेक्सस जस्ता क्षेत्रमा यसको तस्करी र लुटपाट सुरु भएको छ।

ब्राजिलको साओ पाउलोमा त हतियारधारी अपराधीहरूले गाई चोर्न होइन, गाईको पेटभित्र हुन सक्ने पत्थरी खोज्न फार्महरूमा आक्रमण गर्न थालेका छन्। वधशालाका कर्मचारीहरूले नै पत्थरी लुकाएर कालोबजारमा बेच्ने क्रम समेत बढेको छ।

बजारको यो चापलाई कम गर्न चिनियाँ अनुसन्धानकर्ताहरूले प्रयोगशालामा कृत्रिम पत्थरी समेत बनाउन सफल भएका छन्। यद्यपि, प्राकृतिक ढुङ्गालाई नै आज पनि गोल्डेन स्ट्यान्डर्ड मानिन्छ।

अर्कोतर्फ, रुसी सञ्चारमाध्यमहरूका अनुसार चीनमा अहिले मानिसको पित्तथैलीबाट निकालिएको पत्थरीको समेत माग बढ्न थालेको छ। एउटै मानव पत्थरीको मूल्य आकार र गुणस्तरका आधारमा करिब १,२७० डलरसम्म पुग्ने गरेको पाइएको छ। अनलाइन प्लेटफर्महरूमा मानव पत्थरी बिक्रीका दर्जनौँ विज्ञापनहरू देखिनुले यसको बढ्दो र डरलाग्दो बजारलाई पुष्टि गर्दछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप