शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

शपथअघि नै खाडीका नेपालीको उद्धार गर्न कास्कीका सांसद पौडेलको आग्रह

शनिबार, ३० फागुन २०८२, १७ : १६
शनिबार, ३० फागुन २०८२

सारांश

  • नवनिर्वाचित सांसद खडकराज पौडेलले शपथअघि नै मध्यपूर्वमा अलपत्र परेका नेपालीहरूको उद्धारको प्रस्ताव गरेका छन्।
  • उनले खाडी मुलुकमा रहेका श्रमिक नेपालीहरूको सुरक्षा र उद्धारका लागि सरकार र दलहरूलाई ध्यान दिन आग्रह गरे।
  • साउदी अरेबिया, कतार, युएई लगायतका देशमा रहेका नेपालीको अवस्थाप्रति उनले चिन्ता व्यक्त गरे।

पोखरा । कास्की क्षेत्र नम्बर १ बाट नवनिर्वाचित सांसद खडकराज पौडेल (गणेश) ले शपथअघि नै मध्यपूर्वमा अलपत्र परेका नेपालीहरूको उद्धार गर्न प्रस्ताव गरेका छन् । सांसदहरूको शपथ भैसकेको छैन । सरकार गठन प्रक्रिया अझै सुरु भएको छैन ।

शपथ ग्रहण र नयाँ सरकार गठनको दौडधुपमा राजनीति चलिरहेका बेला उनले खाडी मुलुकमा रहेका श्रमिक नेपालीहरूको सुरक्षा र सम्भावित उद्धारका लागि सरकार र दलहरूले ध्यान दिनुपर्ने बताएका हुन् ।

‘विदेशमा पसिना बगाइरहेका ती श्रमिकहरू कामदार मात्र होइनन्, उनीहरू हाम्रो अर्थतन्त्रका आधार स्तम्भ हुन् र हजारौँ परिवारका आशा हुन्,’ उनले भने– ‘त्यहाँ उत्पन्न हुनसक्ने कुनै पनि सङ्कट, असुरक्षा वा अन्योलको अवस्थामा उनीहरूको सुरक्षा, सूचना र आवश्यक सहयोग सुनिश्चित गर्न भावी सरकारको नेतृत्वकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मात्रै नभएर अन्य राजनीतिक दल समेतसँग समन्वय गरी नेपाल सरकारले तत्काल प्रभावकारी योजना बनाउन आवश्यक छ ।’

विशेष गरी साउदी अरेबिया, कतार, संयुक्त अरब इमिरेट्स (युएई), कुवेत, बहराइन र ओमानलगायतका देशमा रहेका नेपाली नागरिकको अवस्थाप्रति उनले पार्टी र सरकारको ध्यानाकर्षण गराएका हुन् । अहिले अमेरिका–इजरायल–इरान युद्धका कारण नेपालीहरू असुरक्षित बनेका छन् । 

पौडेलले सम्बन्धित मन्त्रालय, विदेशस्थित नेपाली दूतावासहरू र कूटनीतिक संयन्त्रलाई तत्काल सक्रिय भई स्थितिको निरन्तर अनुगमन गर्न आग्रह गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप