जेनजी प्रदर्शनका बेला उपत्यकामा खटिएका ३ जना डीएसपीलाई पुरस्कृत गर्न सिफारिस
सारांश
- जेनजी प्रदर्शनबारे जाँचबुझ आयोगले डीएसपीहरूलाई पुरस्कृत गर्न सिफारिस गरेको छ किनभने उनीहरूले भिड नियन्त्रणमा उत्कृष्ट कमान्ड देखाए।
- आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली लगायतलाई फौजदारी कानुनअनुसार मुद्दा चलाउन सिफारिस गरेको छ।
- गृह मन्त्रालयको तथ्याङ्क अनुसार भदौ २३ र २४ मा गोली लागेर देशभर ३९ जना प्रदर्शनकारीको मृत्यु भएको थियो।
काठमाडौं । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले भदौ २३ र २४ मा जेनजी प्रदर्शन हुँदा काठमाडौं उपत्यकामा खटिएका तीनजना डीएसपीलाई पुरस्कृत गर्न सिफारिस गरेको छ । भिड नियन्त्रणमा उत्कृष्टता प्रदर्शन गरेको र आफ्ना कार्यालयमा उच्छृङ्खल समूहले आक्रमण गर्दा जवाफी कारवाही गर्दै ‘उत्कृष्ट कमान्ड’ गरेको विष्लेषण गर्दै आयोगले डीएसपीहरूलाई पुरस्कृत गर्न सरकारलाई सिफारिस गरेको हो ।
पुरस्कारको सिफारिस हुनेहरुमा डीएसपीहरु नवराज ढुंगाना, मधुकुमार थापा र सुनिलजंग शाह छन् । तीनजना डीएसपीलाई पुरस्कृत गर्न सिफारिस गरिएको जाँचबुझ आयोगका एक पदाधिकारीले रातोपाटीलाई बताए । उनले भने, ‘उत्कृष्ट कमान्ड गरेको निष्कर्ष सहित प्रदर्शनको समयमा सुरक्षामा खटिएका तीनजना डीएसपीलाई पुरस्कृत गर्न सरकारलाई सिफारिस गरेका छौं ।’
प्रहरी वृत्त थिमिमा कार्यरत ढुंगानाले प्रदर्शनकारीहरुले आक्रमण सुरू गरेपछि भदौ २४ मा दिनभर जवाफी कारवाही गरेका थिए । त्यस दिन साँझ मात्रै डीएसपी ढुंगाना आफ्नो कार्यालयको हतियार, गोलीगठ्ठा र सवारीसाधान लिएर प्रहरी प्रभाग बालकोटमा गएका थिए ।
डीएसपी सुनिलजंग शाहले पटक-पटक आक्रमण प्रयास हुँदा पनि प्रहरी वृत मालीगाउँको अस्थायी कार्यालय, हतियार र सवारी साधन जोगाएको जाँचबुझ आयोगको निष्कर्ष छ । शाह अहिले मालीगाउँ वृत्तबाट उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा सरुवा भएर गएका छन् ।
प्रहरी वृत्त कालीमाटीका इन्चार्ज मधुकुमार थापाले भदौ २४ मा प्रदर्शनकारीको आक्रमणबाट कालीमाटीको कार्यालय जोगाउने प्रयास गरे । कालीमाटी प्रहरी वृत्तमा चौतर्फी आक्रमण भएपछि आफ्नो टिम, हतियार र गोलीगठ्ठा जोगाएर उनी भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौंमा गएका थिए । २०८१ भदौ १० मा उद्घाटन गरिएको काठमाडौं प्रहरी परिसरको नयाँ भवनमा आन्दोलनकारीले आक्रमण गर्ने प्रयास गरेपछि थापा नेतृत्वको टोलीले जवाफी कारवाही गर्दै भवन जोगाएको आयोगको निष्कर्ष छ । काठमाडौं प्रहरीको महत्त्वपूर्ण सम्पत्ति जोगाउन उत्कृष्ट भूमिका खेलेको भन्दै प्रहरीमा थापाको प्रशंसा हुँदै आएको छ ।
भदौ २३ र २४ मा भएको प्रदर्शन र उच्छृङ्खल गतिविधिबारे छानबिन गरेर गौरीबहादुर कार्की नेतृत्वको आयोगले फागुन २४ मा प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको थियो । सरकारले उक्त प्रतिवेदन सोमबार सार्वजनिक गर्दैछ । जेनजी अगुवाहरुले प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आइतबार माइतीघर मण्डलामा प्रदर्शन गरेका थिए ।
जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङ र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई फौजदारी कानुन अनुसार मुद्दा चलाउन सिफारिस गरेको छ । प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकृतका अनुसार उनीहरुलाई फौजदारी कानुन अनुसार अनुसन्धान गरेर अभियोजन गर्नुपर्ने राय आयोगले दिएको छ ।
काठमाडौंको नयाँ बानेश्वरमा किशोरहरुको ज्यान जानेगरी प्रहरीले गोली चलाउँदा खापुङ प्रहरी महानिरीक्षक थिए । लेथल हतियार प्रयोग गरेर अधिक बल प्रयोग गर्ने आदेश आईजीपी चन्द्रकुवेर खापुङले दिएको फिल्डमा खटिएका अधिकृतहरु बताउँछन् । अघिल्लो दिन अधिक बल प्रयोग भएसँगै आक्रोशित प्रदर्शनकारीले भोलिपल्ट विध्वंस मच्चाएको विश्लेषण गरिएको छ ।
गृह मन्त्रालयको तथ्यांक अनुसार भदौ २३ र २४ मा गोली लागेर देशभर ३९ जना प्रदर्शनकारीले ज्यान गुमाएका थिए । प्रदर्शनमा कुल ७६ जनाको मृत्यु भएको छ । गोली लागेर ज्यान गुमाएका ३४ जनाको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरिएको थियो ।
जाँचबुझ आयोगले जिल्ला सुरक्षा समिति काठमाडौंका पदाधिकारीहरुलाई विभागीय कारबाही गर्न सिफारिस गरेको आयोगका एक सदस्यले रातोपाटीलाई बताए । उनले भने, ‘जिल्ला सुरक्षा समितिका अध्यक्षलाई फौजदारी मुद्दा र अरुलाई विभागीय कारवाही गर्न सिफारिस गरिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण